फिल्म ‘पार्वती’ को आजलाई तय गरिएको टिजर रिलिज कार्यक्रम स्थगित गरिएको छ। नीता फिल्मस् प्रालिले प्रेस विज्ञप्ति निकाल्दै कार्यक्रम नगर्नुको कारणबारे खुलाएको छ।
फिल्मका मुख्य बालकलाकार अशोक दर्जीसँग सम्बन्धित केही व्यक्तिगत कारणवश उत्पन्न परिस्थितिलाई मध्यनजर गर्दै यस संवेदनशील समयमा चलचित्रको प्रचार-प्रसारसम्बन्धी कुनै पनि सामग्री सार्वजनिक नगर्ने निर्णय गरिएको जनाइएको छ।
साथै यस कठिन समयमा अशोकलाई साथ दिन समेत निर्माण टिमले आग्रह गरेको छ। ‘यस कठिन समयमा अशोक दर्जीलाई तपाईंहरू सबैको माया, साथ, सद्भाव र शुभेच्छाको आवश्यकता रहेको हामी विश्वास गर्दछौं। उहाँले छिट्टै नै यस परिस्थितिबाट बाहिर निस्केर नयाँ ऊर्जा र उत्साहका साथ अघि बढ्नुहुनेछ भन्ने हाम्रो पूर्ण आशा छ,’ विज्ञप्तिमा भनिएको छ।
केही दिनअघि अशोकलाई कुटपिट गरिएको भिडिओ सामाजिक सञ्जालमा भाइरल छ। भिडिओ भाइरल भएपछि अशोकले आफूलाई कुट्नेहरूविरुद्ध उजुरी समेत दिइसकेका छन्।
टिजर सार्वजनिक गर्ने नयाँ मिति छिट्टै नै घोषणा गरिने निर्माण टिमले जनाएको छ। नीता ढुंगानाको लेखन, निर्देशन र लगानीमा बनेको यो फिल्म आगामी भदौ १२ गते रिलिज हुँदै छ।
Shares

प्रतिक्रिया