झापाको मेचीनगर नगरपालिका– ६ काँकरभिट्टामा रहेको अरुणोदय इङ्लिस बोर्डिङ स्कुलको होस्टेलमा एक महिला शिक्षकको शव फेला परेको छ।
घटनापछि उनका पति फरार रहेका जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।
सर्लाही लालबन्दी– २ माइती घर भएकी २९ वर्षीया कविताकुमारी ढुंगाना विद्यालयको होस्टेलमा मृत फेला परेकी हुन्।
अन्तरजातीय विवाह गरेकी कविता आफ्ना पति ३० वर्षीय रतन गुप्तासँग विद्यालयकै होस्टेलमा बस्दै आएकी थिइन्। कविताका पति गुप्ता पर्साको वीरगञ्ज– १६ निवासी हुन्।
जिल्ला प्रहरी कार्यालय झापाका सूचना अधिकारी तथा प्रहरी नायब उपरीक्षक रञ्जन अवाले नेपालखबरलाई दिएको जानकारी अनुसार सोमबार विद्यालयका प्रधानाध्यापक दुर्गाबहादुर लुइँटेलले घटनाबारे प्रहरीलाई जानकारी गराएका थिए।
गुप्ता र कविता गएको वैशाखदेखि विद्यालयमा बस्दै आएका प्रअ लुइँटेलको भनाई छ।
यही ५ साउनदेखि बन्द रहेको विद्यालय सोमबारदेखि सञ्चालनमा आएको थियो। तर, सोमबार विद्यालय खुले पनि उनीहरू विद्यालयमा थिएनन्।
‘उनीहरू बस्ने कोठामा बाहिरबाट ताला लागेको थियो। फोन सम्पर्क पनि हुन सकेको थिएन,’ प्रअ लुईँटेलको भनाई उद्धृत गर्दै अवाले भने, ‘दिनभरि सम्पर्क भएन। तर, साँझ करिब साढे ४ बजे रतन गुप्ता आफैँले मेरो (प्रअ लुइँटेल) वाट्सएपमा सन्देश पठाएर श्रीमती किचन कोठाभित्र झुन्डिएको अवस्थामा फेला परेकोले आफूले कोठा छाडेको बताए।’
उनले आफूले मृतकलाई अर्को कोठामा सारेको र डरका कारण त्यहाँबाट हिँडेको जानकारी प्रअले गराएका प्रहरीको भनाई छ।
स्थानीयले भने गुप्तालाई आइतबार साँझ दुईवटा झोला बोकेर विद्यालयबाट बाहिरिँदै गरेको देखिएको बताएका छन्।
‘स्थानीय जनप्रतिनिधीहरु समेतको रोहबरमा ताला फोडी हेर्दा मृतक महिलाको लास खाटमा उत्तानो परी दुर्गन्धित अवस्थामा रहेको थियो,’ उनले भने, ‘हामीले मृतकको आफन्तहरूलाई घटनाको जानकारी गराएका छौँ, फरार श्रीमानको खोजी भइरहेको छ।’
डीएसपी अवाले घटनाको सम्बन्धमा इप्रका काँकरभिट्टाबाट प्रहरी निरीक्षक जस बहादुर लिम्बुको कमाण्डमा अनुसन्धान अघि बढाइएको बताए।
मृतक महिलाको शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल भद्रपुर पठाइएको छ। घटनापछि मृतक महिलाका दाई झापा आउँदै गरेका र घटनाका सम्बन्धमा थप अनुसन्धान जारी रहेको डीएसपी अबाले जानकारी दिए।
Shares

प्रतिक्रिया