कला


१८ वर्षपछि पलेँटीमा गुञ्जिदै मदनकृष्ण श्रेष्ठ, साथमा छोरा यमन पनि

१८ वर्षपछि पलेँटीमा गुञ्जिदै मदनकृष्ण श्रेष्ठ, साथमा छोरा यमन पनि

नेपालखबर
साउन १२, २०८३ मंगलबार १३:२१, काठमाडौँ

अंग्रेजी महिनाको अन्तिमा हप्ता नेपालयको ‘आर’ शालामा आयोजना हुँदै आएको पलेँटीमा यसपटक कलाकार मदनकृष्ण श्रेष्ठको गायन सुन्न पाइने भएको छ। आफ्ना छोरा यमन श्रेष्ठका साथ गाउने तयारीमा रहेका मदनकृष्ण १८ वर्षपटि पलेँटीको मञ्चमा गुञ्जिन लागेका हुन्। 

मदनकृष्णले कार्यक्रममा आफ्ना पुराना चर्चित गीतका साथै नयाँ गीतहरू पनि प्रस्तुत गर्नेछन्। उनले गाएकाअरबौं मान्छेहरूमा, खोलावारी खोलापारी,  फुलबुट्टे सारी, सयथरी बाजा लगायत गीतहरूले लोकप्रिय छन्। 

विशेषगरी हास्यव्यङ्ग्य कलाकारिताबाट आफ्ना सहयात्री हरिवंश आचार्यकासाथ स्थापित बनेका मदन कृष्णको प्रारम्भिक कलाकारिता गायनबाटै सुरु भएको हो। प्रारम्भिक चरणमा उनले रेडियो नेपालका साथै भारतको अल इन्डिया रेडियो र दूरदर्शनमा समेत आफ्ना गीति सिर्जनाहरू प्रस्तुत गरेका थिए ।

पछिल्लो चरणमा स्वास्थ्यमा प्रतिकूलता रहँदारहँदै पनि उनी फिल्मी जगतका साथै सांगीतिक जगतमा समेत उत्तिकै सक्रिय रहेका छन् । मदन कृष्णले केही समय अघि रेकर्ड गरेको गीत  बिर्सिँदे भन्छौ मायालु, पहाड भो मलाई शीर्षकका गीतहरू पनि श्रोता, दर्शकले उत्तिकै रुचाएका छन्। 

यसपालिको थप आकर्षण गायक यमन श्रेष्ठको रहनेछ। उनी आफ्ना अभिभावक मदन कृष्णकै पथप्रदर्शनमा अघि बढिरहेका कलाकार हुन्। यमन हास्यव्यङ्ग्यात्मक अभिनयका साथै गायन र संगीतमा पनि लागिपरेका कलाकार हुन्। उनी व्यङ्ग्यात्मक शैलीका गीतका साथै गम्भीर प्रकृतिका गीत पनि गाउन रुचाउँछन् ।

यमनले गाएका गीतहरूमा यो मन बदल्न चाहन्न, जिन्दगीमा सायद मैले, नौलो बस्ती देखे जहाँ, मान्छेले किन मान्छेलाई मार्छ लगायत  गीतहरू रहेका छन् । यमन आफूले गाउने गीतहरूका अधिकांश शब्दहरूमा आफै धुन भर्ने गर्दछन् ।

पलेँटी टिमसँग अभ्यासरत मदनकृष्ण विगतको सम्झना गर्दै भन्छन्, ‘१८ वर्ष पहिले पनि पलेँटीमा गीत गाएको थिएँ। खुब रमाइलो लागेको थियो। यसपालि त छोरालाई पनि साथमा लिएर आएको छु। झन् रमाइलो हुनेछ भन्ने आशा छ। श्रोता, दर्शकले त सधैँ नै मन पराइरहनु भएकै छ। यसपाली झन् मन पराउनु हुनेछ भन्नेमा ढुक्क छु।’ 

आफ्ना बुवाको प्रतिक्रिया सुनेर मुस्काइरहेका छोरा यमनले भने, ‘पलेँटीको रिहर्सल त यति रमाइलो छ। कार्यक्रम त झन रमाइलो हुन्छ नै हुन्छ।’

पलेँटी कार्यक्रम यही जुलाई ३१ तारिख शुक्रबार र अगस्टको १ तारिख शनिबारका दिन आयोजना हुनेछकालिकास्थानस्थित नेपालयको आरशालामा हुने यस कार्यक्रमलाई घरमै बसेर हेर्न सकिन्छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad