कला


सुरु भयो तीजको चटारो, आफ्नै लगानीमा दुइटा गीत ल्याउँदै एलिना

कलाकार र स्टुडियोलाई भ्याइनभ्याइ
सुरु भयो तीजको चटारो, आफ्नै लगानीमा दुइटा गीत ल्याउँदै एलिना

लक्ष्मी बलायर
असार ११, २०८३ बिहिबार १७:३५, काठमाडौँ

जब तीजको सिजन सुरू हुन्छ, गायिका एलिना चौहानलाई भ्याइनभ्याइ हुन्छ। कहिले रेकर्डिङ त कहिले सुटिङ। यसवर्ष पनि उनलाई तीजको व्यस्तताले छोइसकेको छ।

भदौको २९ गते यसपालिको हरितालिका तीज परेको छ। तर, तीन महिनाअगावै अर्थात जेठदेखि एलिना तीज गीत रेकर्डिङमा धाइरहेकी छिन्। यो वर्ष अहिलेसम्म ९/१० वटा तीजका गीतमा स्वर दिइसकेको एलिनाले बताइन्।

‘जेठदेखि नै तीजका गीत रेकर्डिङमा व्यस्त छु। अहिलेसम्म ९/१० वटा गाइसकेकी छु। हिजो मात्रै आफ्नो एउटा अफिसियल गीतको सुटिङ सकेँ,’ उनले भनिन्। 

हरेक वर्ष ५० वटा तीजका गीतमा स्वर दिने गरेको एलिनाले खुलाइन्। साथै तीजविशेष कार्यक्रमका कारण यो सिजनमा निकै चटारो हुने गरेको छ। जसकारण अरु बेलाभन्दा यो बेला कमाइ राम्रो हुने उनको भनाइ छ।

एलिनाका अनुसार यो पटक पनि उनले आफ्नै लगानीमा दुई वटा तीज गीत ल्याउँदैछिन्। जसमध्ये एउटा गीतको छायांकन सकिएको छ। सो गीतमा एलिनसहित रचना रिमाल, मेलिना मैनाली र दीपिका बयाम्बु मगरको स्वर रहेको छ। गीतको भिडिओमा भने स्मारिका ढकाल लगायतको अभिनय छ।

‘यो वर्षको तीजमा मैले आफ्नो लगानीमा दुई वटा तीजका गीत ल्याउँदैछु। दुवै गीतहरू टिपिकल छन्। जसमा एउटा रमाइलो र अर्को स्याड गीत छ,’ उनले नेपालखबरसँग भनिन्, ‘मैले प्रायजसो तीज गीतमा महिलाले भोगेको पीडा र उठाउने आवाज समेट्छु। यस वर्षका गीतमा पनि महिलाको आवाजलाई जोड दिएकी छु।’

गायिका एलिनासहित शान्तिश्री परियार, खुमन अधिकारी, पशुपति शर्मा, खेम सेञ्चुरी, देवी घर्ती, सुनिता बुढाक्षेत्री, रचना रिमाल, समीक्षा अधिकारी, सम्झना भण्डारी, सुनिता दुलाल, राधिका हमाल पनि तीजमा निकै व्यस्त हुने गायक/गायिका हुन्।

गायकगायिकालाई मात्रै होइन, कलाकार, निर्देशक, कोरियोग्राफर र रेकर्डिङ स्टुडिओलाई पनि तीजको रन्को लागिसकेको छ। चर्चित भिडिओ निर्देशक तथा कोरियोग्राफर मौसम हिमालीले पनि तीजका गीतमा व्यस्त हुन थालिसकेको सुनाए।

‘मलाई पनि तीजको सिजन लागिसकेको छ। हिजो मात्रै एउटा गीतको सुटिङ सकाएँ। अरु ४/५ वटा गीतहरूको छायांकनको तयारीमा छु,’ हिमालीले भने, ‘तीजको बेला प्राय १५ वटा जति गीतमा निर्देशन र कोरियोग्राफी गरिरहेको हुन्छु। यो पटक भदौको अन्त्यमा तीज भएकाले अरु काम आउन बाँकी  छन्।’

उनले पनि यो बेला संगीत क्षेत्रकालाई आर्थिक रुपमा सहज हुने बताए। हिमालीले कोरियोग्राफी र निर्देशन गरेका रिमै, डाँडाघरे साइँली, ए हो र माया, ए आमा जाम भन्यो मलाई, कस्मिरे पछ्यौरी लगायतका गीतहरू निकै चर्चित छन्।

त्यस्तै, वान डिबी स्टुडिओमा पनि तीजको सिजन सुरु भइसकेको छ। भर्खरै तीज गीत रेकर्डिङ सुरु भएको स्टुडिओका सञ्चालक तथा साउन्ड प्रोड्युसर एचबीएन किस्मतले जानकारी दिए।

‘तीजका गीतहरूको रेकर्डिङ सुरू भइसकेको छ। एरेन्जमेन्ट, साउन्ड डिजाइनजस्ता प्रडक्सनको काम भइरहेको छ, यो सिजनमा २०/२२ वटा गीतहरू रेकर्डिङ हुने गरेका छन्,’ उनले भने।

त्यस्तै, अस्मिता अधिकारीले पनि यो पटक एउटा तीजको गीतमा स्वर दिइसकेकी छिन्। यतिखेर अस्मिता र महेश काफ्लेको स्वर रहेको ‘कटर कटरमा’ गीत चर्चामा छ। यो गीत स्वर्गीय राम थापा र तारा थापाको चर्चित गीत ‘कटर कटरमा’ को नयाँ भर्सन हो।

प्रिज्मा रेकडिङ स्टुडिओ निकै व्यस्तमध्येमा पर्छ। तीजका गीतको कामहरू सुरु भइसकेको स्टुडियोका रेकर्डिस्ट गोविन्द अनेकले बताए।

‘भर्खर तीजका गीतहरू रेकर्डिङ हुन सुरु भएको छ। अहिलेसम्म चाहिँ एक दर्जन गीतहरू रेकर्डिङ भइसकेका छन्। यो पटक तीज भदौको अन्तिममा छ। जसले संख्यात्मक हिसाबले साउनदेखि बढी चहलपहल हुन्छ। त्यसबेला हामी अरु काम छोडेर तीजका गीतलाई नै प्राथमिकता दिन्छौँ,’ उनले भने।

उनले आफूले संख्यात्मकभन्दा पनि गुणात्मक गीतहरूलाई प्राथमिकतामा राख्ने सुनाए। पहिलेको तुलनामा तीजका गीतको संख्यामा कमी हुँदै आएको उनको भनाइ छ।

यस स्टुडिओमा रेकर्डिङ भएका तीजका अवसरमा रिलिज भएका अरेली काँडैले, म त ढलेँ ढलेँ, तीजका गीत कस्ता हुन्छन् सुन लगायत चर्चित छन्। साथै विष्णु माझीले तीजको बेला ल्याउने गरेको एल्बम ‘पुतलीको भट्टी’ को भाग १० सम्म पनि प्रिज्मामै रेकर्डिङ गरिएको हो। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad