चलचित्र ‘बा: एक योद्धा’मा अभिनेता अनिल बुढाथोकी पनि रहेको सार्वजनिक भएको छ।
निर्माण टिम विस्तारै कलाकार सार्वजनिक गरिरहेको छ। निर्माण टिमका अनुसार बुढाथोकी पनि मुख्य कलाकारमध्यकै एक भएको बताएको छ।
अनिलले चलचित्र ‘कर्मा’बाट डेब्यू गरेका हुन्। ‘कर्मा’मा उनी विपिन कार्कीपछि सेकेन्ड लिड रोलमा थिए। उनको यो दोस्रो सिनेमा हो।
‘मलाई पहिलो सिनेमाबाट जसरी माया पाएँ, यो चलचित्रमा पनि त्यही अपेक्षा गरेको छु,’ उनी भन्छन्, ‘पहिलो सिनेमाका कमजोरी सुधार गरेर यसमा थप सुधार्ने प्रयास गरेको छु।’
चलचित्र ‘बाः एक योद्धा’ भदौ १९ गते रिलिज हुँदैछ। नेपाली समाजमा परिवारमा सन्तानको भविष्यका लागि बुबाले गर्ने त्याग, संघर्ष र जीवनभर झेल्ने चुनौतीहरू ‘बा: एक योद्धा’को मुख्य कथा हो।
यो चलचित्रमा अनिलसँगै अभिनेता दिव्यदेव पन्त, झरना थापा, सुहाना थापा, सागर खनाल, शिशिर सिवाकोटी, सुप्रज्ञा शर्मा, शवि थापा मुख्य भूमिकामा छन्।
हरि लम्सालको लेखन तथा निर्देशन रहेको चलचित्र ‘बाः एक योद्धा’ कुशे औँसी अर्थात् बुबाको मुख हेर्ने दिनको पूर्वसन्ध्यामा प्रदर्शनमा आउन लागेको हो। लम्साल संगीतकार एवं गायक पनि हुन्।
फिचर फिल्ममा भने ‘बाः एक योद्धा’ उनको पहिलो निर्देशन हो। आर्टिस्टिक इन्टरटेनमेन्टको ब्यानरमा निर्माण भएको यो चलचित्रको कथासँगै पटकथा पनि लम्साल आफैँले लेखेका छन्।
चलचित्रका निर्माता वसन्त लम्साल हुन्। गायक तथा सर्जकसमेत रहेकाउनले यसअघि अभिनेता विपीन कार्कीलाई लिएर चलचित्र ‘कर्मा’ निर्माण गरेका थिए।
शिवराम श्रेष्ठको छायाकंन रहेको चलचित्रको मुख्य सहायक निर्देशकमा तारानाथ न्यौपाने छन्। ‘बा: एक योद्धा’ आशिष एच तामाङ र प्रदीप धामीको कुवेर सिने डिस्ट्रिब्युसनले वितरण गर्नेछ।
Shares

प्रतिक्रिया