नेपाल फिल्म क्याम्पसको प्रस्तुतिमा नाटक ‘संशय’ मञ्चन हुने भएको छ।
अमेरिकी नाटककार जोन प्याट्रिक शेन्लीको सन् २००४ को प्रसिद्ध नाटक ‘डाउट: अ प्यारावल’ मा आधारित यस नाटकलाई दिपल बरालले अनुवाद तथा निर्देशन गरेका हुन् ।
नाटकमा नेपाल फिल्म क्याम्पसका विद्यार्थीहरू सलोनी कार्की, निर्जना महरा, आकाश चौधरी र काफ्नि थापाको अभिनय रहनेछ।
शेन्लीको यस नाटकले पुलिट्जर प्राइज, टोनी अवार्ड जस्ता प्रतिष्ठित पुरस्कार पाएको थियो भने नाटकमै आधारित भएर शेन्ली आफैँले निर्देशन गरेको सन् २००८ को चलचित्र ‘डाउट’ अस्करको विभिन्न पाँच विधामा मनोनीतसमेत भएको थियो।
निर्देशक बरालका अनुसार नाटकले क्याथोलिक विद्यालयभित्रको शक्ति सम्बन्ध, नैतिक दुविधा साथै परम्परावाद र सुधारवादबीचको द्वन्द्वलाई गहनरूपमा प्रस्तुत गर्दै शंका, विश्वास र सत्यको विविध आयामहरू खोतल्ने प्रयास गर्दछ।
नाटक यही असार १९ गतेदेखि २८ गतेसम्म (बुधबारबाहेक) हरेक दिन साँझ ५ः१५ बजेबाट पिंगलास्थानस्थित स्टुडियो थिएटरमा मञ्चन हुनेछ।
चलचित्रका विभिन्न विधाहरूको अध्यापन गराउँदै आएको नेपाल फिल्म क्याम्पसले विद्यार्थीहरूको संलग्नतामा नियमितरूपमा नाटक मञ्चन गर्ने योजना बनाएको क्याम्पस प्रमुख शिशिर उप्रेतीले जानकारी दिए।
Shares

प्रतिक्रिया