कला


महानगरले अन्तर्राष्ट्रियस्तरको काठमाडौँ फिल्म फेस्टिभल आयोजना गर्ने

महानगरले अन्तर्राष्ट्रियस्तरको काठमाडौँ फिल्म फेस्टिभल आयोजना गर्ने

नेपालखबर
जेठ ३१, २०८३ आइतबार १५:४३, काठमाडौँ

काठमाडौँ महानगरपालिकाले अन्तर्राष्ट्रियस्तरको काठमाडौँ फिल्म फेस्टिभल गर्ने गर्ने भएको छ। आइतबार आर्थिक वर्ष २०८३/०८४ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै कार्यवाहक नगरप्रमुख सुनिता डंगोलले उक्त कुराबारे जानकारी दिएकी हुन्। 

विदेशी पाहुना समेतलाई आमन्त्रण गरी अन्तर्राष्ट्रियस्तरको काठमाडौँ फिल्म फेस्टिभलको आयोजना गरिने बताइएको छ। ‘मौलिक र परम्परागत लोककला, पाककला, भेषभूष, शिल्प, गरगहना, जात्रा पर्व, साहित्य संगीत तथा प्राकृतिक सम्पदालाई चलचित्रको माध्यमद्वारा उजागर गरी रचनात्मक उद्योगका रूपमा विकास र प्रवर्धन गर्न चलचित्र महोत्सव, परम्परागत खाना महोत्सव, एक्स्पो, प्रदर्शनी जस्ता कार्यक्रम सञ्चालन गरिनेछ,’ नीति तथा कार्यक्रममा उल्लेख छ। 

काठमाडौँ महानगर राष्ट्रसंघीय नियोग युनेस्कोको चलचित्र विधाको सहर समेत हो। हालै डंगोल फ्रान्समा आयोजित कान्स फिल्म फेस्टिभलमा पनि सहभागी थिइन्। महानगरले टोल टोलमा फिल्म कार्यक्रम गर्ने घोषणा पनि गरिसकेको छ ।

महानगरपालिकाले निर्माण गरेको येँ देय् सांस्कृतिक छेँ लाई सञ्चालनमा ल्याइने उल्लेख छ। महानगरपालिकाले सांस्कृतिक सहर: समृद्ध महानगरको परिकल्पनालाई मूर्त रूप दिन महानगर क्षेत्रभित्रका मौलिक र विशिष्ट ऐतिहासिक एवम् सांस्कृतिक सम्पदाको संरक्षण, प्रवर्धन तथा विकास गर्ने भएको छ।

महानगरलाई खुला तथा जीवन्त सङ्ग्रहालय र रचनात्मक सहरको रूपमा विकास गरिने उल्लेख छ। ऐतिहासिक, धार्मिक, पुरातात्विक, सांस्कृतिक, सामाजिक महत्वका मठ, मन्दिर, चैत्य द्योस्छें, वहा–वहि, हिती, पोखरी, गुम्बा, स्तुपा, चोक, ननि, डबली, फल्चा लगायतका संरचना तथा सम्पदा स्थलहरूको अध्ययन, डिजिटल अभिलेखीकरण, मौलिक नामकरण, नक्सांकन, मर्मत, जीर्णोद्धार, पुनर्निर्माण गरी संरक्षण, सम्वर्द्धन र प्रवर्द्धन गरिने पनि उल्लेख छ ।

‘मौलिक तथा परम्परागत सिप, कला र ज्ञानको जगेर्ना, पुस्तान्तरण एवम् पुनरोत्थानको लागि ऐतिहासिक, पुरातात्विक, सांस्कृतिक, तथा वास्तुकलात्मक महत्वका निजी तथा संस्थागत भवन पुनर्निर्माण गर्न र सम्पदा बस्ती संरक्षण गर्न प्रोत्साहित गरिनेछ’ कार्यक्रममा भनिएको छ।

महानगरपालिकाले इन्द्रजात्रा तथा सेतो मछिन्द्रनाथ (आर्य अवलोकितेश्वर) जात्रा लगायतका अन्य ऐतिहासिक तथा सांस्कृतिक जात्रा मार्गमा सम्पदामैत्री भवनको फसाड निर्माण गर्न प्रोत्साहन पनि गर्ने उल्लेख छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad