कला


‘लुसिफर राइजिङ’ आजदेखि पुनः मञ्चन हुने

‘लुसिफर राइजिङ’ आजदेखि पुनः मञ्चन हुने

नेपालखबर
जेठ १९, २०८३ मंगलबार १२:५९, काठमाडौँ

विवादका कारण रोकिएको नाटक ‘लुसिफर राइजिङ’ आजदेखि पुनः मञ्चन हुने भएको छ। थापागाउँस्थित एक थिएटर नेपालमा यो नाटक मंगलबारदेखि पुनः मञ्चन हुन लागेको हो। 

एक थिएटर नेपाल र निर्माता संस्था मझुवा बगर जनकला मञ्चबीच नयाँ सहमति भएपछि मञ्चनको बाटो खुलेको हो। एक थिएटर नेपालले प्रेस विज्ञप्ति जारी गर्दै नाटक मञ्चनबारे जानकारी दिएको छ। 

जेठ १ गतेदेखि मञ्चन सुरु भएको नाटक राजनीतिक दबाबको कारण देखाउँदै जेठ ११ गतेदेखि रोकिएको थियो। एक थिएटर नेपालले जारी गरेको प्रेस विज्ञप्तिमा नाटकका लेखक तथा निर्देशक सहलेशले मञ्चन रोक्न दबाब र धम्की आएको दाबी गरे पनि त्यसको प्रमाण पेश गर्न नसकेको उल्लेख गरेको छ। संस्थाले उक्त घटनाले रंगमञ्च क्षेत्रको छवि प्रभावित भएको आरोप लगाएको छ।

‘अचानक मञ्चन रोकिएको नाटकका लेखक एवं निर्देशकसँग यथार्थ बुझ्नका लागि सम्पर्क गर्न खोज्दा लामो समय सम्पर्क हुन सकेन भने आममा अन्यौलता छाएको थियो। यद्यपि, अन्तिम समयसम्म प्रयत्न गरी नाटकका लेखक-निर्देशकसँग छलफल हुँदा नाटकको मञ्चन रोक्नका लागि आएको दबाब वा धम्कीका प्रमाणहरु उहाँले पेश गर्न सक्नुभएन,’ विज्ञप्तिमा उल्लेख गरिएको छ, ‘उक्त अन्यौलताले सबैमा मानसिक पीडा थोपर्न पुगेको थियो। लुसिफर राइजिङः ए जेनजेड प्लेका लेखक तथा निर्देशकले कुनै दबाब वा धम्कीका कारण नभई आन्तरिक वा अन्य उद्देश्यले नाटकको मञ्चन एकलौटी रूपमा रोक्नुभएको हो भन्ने हाम्रो निष्कर्ष रहेको छ। यस घटनाले सिंगो कला जगत वा नाट्य क्षेत्रको बदनाम हुन पुगेको छ, जुन कुराले दुखी मात्रै नभइ हामीले लज्जाबोध गरेका छौँ।’ 

नाटकको निर्माता मझुवा बगर जनकला मञ्चले लेखक तथा निर्देशक सहलेशलाई सरकारविरूद्ध अफवाह फैलाएको र सम्पूर्ण नाट्य समुदायको अपमान गरेको लगायत कारण देखाउँदै हालको लागि नाटकबाट बर्खास्त गरिएको लिखित पत्र आफूसमक्ष पेश गरेको समेत उल्लेख छ। 

एक थिएटर नेपालका अध्यक्ष अनिल सुब्बाका अनुसार निर्माता पक्ष, कलाकार र सम्बन्धित पक्षबीचको छलफलपछि नाटकलाई निर्माण संस्थाले स्वीकृत गरेको स्क्रिप्टअनुसार पुनः प्रदर्शन गर्ने सहमति भएको हो। यससँगै नाटक मञ्चनका लागि नाटकघर उपलब्ध गराउने विषयमा पनि नयाँ समझदारी भएको जनाइएको छ।

मंगलबारदेखि मञ्चन हुने नाटक जेठ ३० गतेसम्म मञ्चन हुने जनाइएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad