बालमनोविज्ञानमा आधारित फिल्म ‘रोल नं १’ जेठ १५ गतेबाट प्रदर्शनमा आउँदैछ। यस फिल्मको स्लोगन ‘प्रत्येक विद्यार्थीको कथा’ रहेको छ।
यस फिल्मले बालबालिकालाई कक्षामा प्रथम हुन अभिभावकले दिने दबाब र त्यसको प्रभावको कथा भन्ने कलाकारहरुको भनाइ छ। प्रथम हुने व्यक्ति मात्रै विद्वान अरु सबै मुर्ख हुन् भन्ने नेपाली समाजको बुझाईको विरुद्ध सिनेमाले आवाज उठाउने अभिनेता मुकुन भुसालले सुनाए।
‘हाम्रो प्रचारको कन्टेन्टमा पनि कक्षामा पहिलो हुने मात्रै विद्वान अरु सबै मुर्ख भनेर उल्लेख गरेका छौँ, चलचित्रको कथा त्यही नै हो।आफूले पूरा गर्न नसकेको सपना आफ्ना सन्तानमार्फत पूरा गर्न चाहने हाम्रो समाजको सोच हो । यसका लागि हामी जबरजस्ती सन्तानलाई आफ्नो सपना पूरा गराउन बाध्य बनाउने प्रयास गर्छौं,’उनले भने।
आफूले जिन्दगीभर भोगेको गरिबीबाट कसरी बाहिर आउने र सन्तानलाई यसबाट मुक्ति दिने भन्ने सोच अभिभावकमा हुने गरेको बताउँछन् उनी। बच्चाको भविष्य राम्रो होस् भनेर सकारात्मक सोचले बुवाऔआमाले पढाइका लागि दबाब दिए पनि त्यसले पार्ने नकारात्मक सोचको कथा सिनेमाले भन्ने मुकुन बताउँछन्। तर, पढ्नु पर्दैन अथवा पढाईमा मेहनत नगरे पनि हुन्छ भन्ने गलत सन्देश भने सिनेमाले प्रभाह नगर्नेमा ढुक्क हुन उनको आग्रह छ ।
‘यो सिनेमा बाबु र छोराबीचको अन्तरद्वन्द्व पनि हो। हरेक अभिभावकमा मेरो छोरा म जस्तै अथवा म बन्न नसेके पनि यो बनोस् भन्ने हुन्छ।आफ्नो इच्छा छोरामार्फत पूरा गर्न दिने दबाब र त्यसका लागि हुने संघर्षको कथा यो सिनेमामा छ।’
उनले बच्चाको इच्छा जे हो, त्यसको पहिचान गरेर सुरुमै त्यसतर्फ अगाडि बढाउन सके हरेक व्यक्ति आफ्नो जीवनमा सफल हुने सुनाए। प्लस टु वा व्याचलर्स सकेर फेरि अर्को विधा वा सेक्टरमा जाने अवस्था रहेको र त्यसले बच्चा र अभिभावकको नै धेरै समय र पैसा खर्च भइसकेको हुने उनी बताउँछन् ।
अहिलेको सरकारले कक्षा पाँचसम्म परीक्षा लिनु हुन्न भनिरहेका बेला ‘रोल नं १’ले पनि यही विषय उठान गरिरहेको तर यो संयोग मात्रै भइरहेको अभिनेता सुशांकको भनाइ छ।
यद्यपि, सरकारको एजेन्डा सिनेमाले नबोकेको उनले प्रस्ट पारे। तर, सरकारले उठान गरेको विषय सही भएकाले नै धेरैको जनसमर्थन पाइरहेको सत्यलाई भने स्वीकार्नुपर्नेमा उनको जोड छ।
अभिनेत्री रेणु योगीले गरिबीमा आफ्नो सन्तान बाँच्न नपरोस् भनेर बाबुले सन्तानलाई दिने सपनाको कथा चलचित्रमा रहेको उनको भनाइ छ।
बाबुआमाले बच्चालाई दबाब दिँदा उसको बालमनोविज्ञानमा पर्ने प्रभाव र त्यसले उसको जीवनमा पार्ने प्रभाव चलचित्र ‘रोल नं १’मा हेर्न सकिने रेणुको भनाइ छ ।
बच्चा कति संवेदनशील हुन्छन् भन्ने यथार्थलाई सिनेमाले प्रष्ट पार्नेमा उनी ढुक्क छिन्। उनले भनिन्, ‘एक हिसाबले हेर्दा बुवाआमाले भनेको पनि ठिकै हो त भन्ने लाग्छ, अर्को हिसाबले म भए अलि प्रोटेक्ट पो गर्थें कि भन्ने पनि लाग्दोरहेछ। तर, अन्ततः बच्चको इच्छा जे छ, त्यसमै उसलाई गाइड गर्नु राम्रो हो भन्ने लाग्छ। म भए बच्चाको पक्षमा लाग्थेँ।’
विनोद पौडेल निर्माता रहेको यो फिल्म जोन योञ्जनको निर्देशनमा तयार भएको हो। फिल्ममा मुकुन, सुशांक र रेणुसहित सिर्जना अधिकारी मुख्य भूमिकामा छन्। चलचित्रको बाल–कलाकारमा निर्भिक रेग्मी, रिन्चेन लामा, संयम कटुवाल, सिजल श्रेष्ठ रहेका छन्। फिल्मको कथा महेश दवाडीले लेखेका हुन्।
Shares

प्रतिक्रिया