अभिनेत्री वर्षा शिवाकोटी फिल्म ‘गंगा रानी’मा अनुबन्धित भएकी छन्। वर्षालाई औपचारिक रूपमा स्वागत गर्दै निर्माण टिमले एक पोस्टर सार्वजनिक गरेको छ।
रातो पहिरनमा देखिएकी वर्षा पोस्टरमा आत्मविश्वासी र आकर्षक अवतारमा प्रस्तुत भएकी छन्। उनको हेराइ र अभिव्यक्तिले सिनेमाभित्र प्रेम, रहस्य र संघर्षको संकेत दिन्छ।
त्यसैगरी पोस्टरको अगाडि एक युवकको कालो छायाँ देखाइएको छ, जसले सिनेमाको कथामा कुनै गहिरो रहस्य वा भावनात्मक सम्बन्ध रहेको अनुमान लगाउन सकिन्छ। ती व्यक्ति को हुन त्यो खुलाइएको छैन।
आहा फिल्मस्को प्रस्तुतिमा बन्ने सिनेमाका निर्माता कमलप्रसाद शर्मा हुन्। फिल्मको लेखन तथा निर्देशन राजबहादुर सानेको रहनेछ। यस फिल्मको छायांकन भदौ दोस्रो साताबाट सुरु गरिने निर्देशन सानेले बताए।
यो सँगै निर्माण टिमले कास्टिङ कलको आह्वान पनि गरेको छ। एक पोस्टरमार्फत टिमले मुख्य पात्रमा चार महिला र चार पुरूष आह्वान गरेको हो। पुरूष २० वर्षदेखि ४० वर्ष उमेर समूहका र महिलाका १८ वर्षदेखि ३५ वर्ष उमेर समूहका कलाकारलाई आवेदन दिन सकिने जनाइएको छ।
निर्माण टिमका अनुसार इच्छुक कलाकारले आफ्नो परिचय भिडिओ वा पोर्टफोलियोसहित दिइएको इमेलमा आवेदन पठाउन सक्नेछन्। यसबाहेक सम्पर्कका लागि फोन र ह्वाट्सएप नम्बर पनि उपलब्ध गराइएको छ। आवेदन अवधि जेठ २० गतेसम्म रहेको छ।
निर्देशक सानेले यसअघि ‘पाठशाला’, ‘द रिटर्न हिरो’, ‘लाटी’, ‘वृन्दावन’, ‘वीरंगना’, ‘डोली’, ‘गुड फ्रेन्ड’, ‘सिल्ली फो’, ‘बुलाकी’, ‘जुना’ र ‘सिटामोल’ लगायतका सिनेमा लेखन तथा निर्देशन गरिसकेका छन्। ‘बुलाकी’ बाट उनले उत्कृष्ट पटकथातर्फ राष्ट्रिय पुरस्कार समेत जितेका थिए।
आहा फिल्मस्को प्रस्तुतिमा निर्माण भएको तथा निर्देशक सानेले नै निर्देशन गरेको सिनेमा ‘लज्जावती’ प्रदर्शनको तयारीमा छ।
Shares

प्रतिक्रिया