समाज


थानकोट-चन्द्रागिरि-चित्लाङ सडक दुई साता बन्द हुने

थानकोट-चन्द्रागिरि-चित्लाङ सडक दुई साता बन्द हुने

सुनिता विष्ट
जेठ १२, २०८३ मंगलबार १२:२८, हेटौंडा

थानकोट-चन्द्रागिरि-चित्लाङ सडक खण्ड दुई साता बन्द हुने भएको छ। 

सडक डिभिजन कार्यालय, काठमाडौँले सूचना जारी गर्दै निर्माण तथा स्तरोन्नति कार्यलाई प्रभावकारी रूपमा सम्पन्न गर्न १४ दिनका लागि सडक बन्द गरिने जनाएको छ। सडक डिभिजन कार्यालयले चन्द्रागिरि नगरपालिका र थाहा नगरपालिकालाई पत्राचार गर्दै जेठ १७ देखि ३० गतेसम्म पानीघट्टदेखि चित्लाङ बजारसम्मको सडक खण्ड पूर्ण रूपमा बन्द रहने जानकारी गराएको हो।

सडक डिभिजन कार्यालय, काठमाडौँका अनुसार यस सडकखण्डमा अहिले निर्माण सुधार कार्य सञ्चालन भइरहेको छ। तर सडकको भौगोलिक बनावट जटिल हुनु, साँघुरा मोड तथा जोखिमयुक्त क्षेत्र धेरै हुनुका साथै निर्माणस्थल हुँदै सवारीसाधन सञ्चालन भइरहँदा काममा अवरोध सिर्जना भएको जनाइएको छ। 

निर्माण सामग्री ओसारपसार, सडक कटिङ, ढलान तथा अन्य प्राविधिक काम भइरहेका कारण सवारी आवागमन जारी राख्दा दुर्घटनाको जोखिम बढ्ने भएकोले सडक पूर्णरुपमा बन्द गर्ने निर्णय गरेको उल्लेख गरेको छ। सडक डिभिजन कार्यालयले निर्माण कार्यलाई निर्धारित समयमै सम्पन्न गर्न र यात्रु तथा कामदारको सुरक्षालाई ध्यानमा राख्दै केही समयका लागि सडक पूर्ण रूपमा बन्द गर्ने निर्णय गरिएको जनाएको छ। 

यस अवधिमा सडक प्रयोग गर्ने सवारीसाधन तथा यात्रुले वैकल्पिक मार्ग प्रयोग गराउन दुई वटा स्थानीय तहलाई भनिएको छ। स्थानीय तह, प्रहरी प्रशासन तथा सम्बन्धित निकायसँग समन्वय गरी यात्रुलाई सहजता प्रदान गर्ने तयारीसमेत गरिएको बताइएको छ।

यससँगै चन्द्रागिरि नगरपालिका र थाहा नगरपालिकालाई आवश्यक सहजीकरण गरिदिन अनुरोध गरिएको छ। सडक बन्द अवधिभर स्थानीय बासिन्दा, यातायात व्यवसायी तथा सर्वसाधारणलाई सहयोग गर्न, वैकल्पिक मार्गबारे जानकारी प्रवाह गर्न तथा निर्माण कार्यमा सहयोग पुर्‍याउन आग्रह गरिएको छ।

थानकोट-चित्लाङ सडक संघीय राजधानी काठमाडौँलाई मकवानपुरको चित्लाङ हुँदै हेटौँडासँग जोड्ने महत्त्वपूर्ण मार्गका रूपमा परिचित छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad