कला


सुदूरपश्चिम र लुम्बिनीमा थिएटर क्लब गठन गर्न मण्डला थिएटरद्वारा आव्हान

सुदूरपश्चिम र लुम्बिनीमा थिएटर क्लब गठन गर्न मण्डला थिएटरद्वारा आव्हान

नेपालखबर
जेठ ११, २०८३ सोमबार १३:२३, काठमाडौँ

मण्डला नाटक समूह नेपालले सुदूरपश्चिम र लुम्बिनी प्रदेशका ६ वटा स्थानीय तहहरूसँगको सहकार्यमा ‘लैङ्गिक समानता, सामाजिक समावेशीकरण तथा स्वास्थ्य सचेतनाका लागि सहभागी नाटकको संस्थागत विकास’ कार्यक्रमअन्तर्गत स्थानीय थिएटर क्लब गठन गर्न आव्हान गरेको छ।

थिएटर क्लब गठनसहित फोरम थिएटर (कचहरी नाटक) कार्यशाला समेत सञ्चालन सुरु गर्ने मण्डला थिएटर नेपालका अध्यक्ष बुद्धिराम तामाङद्वारा निकालिएको विज्ञप्तिमा उल्लेख छ।  

कार्यक्रमका लागि सुदूरपश्चिम प्रदेशअन्तर्गत आलिताल गाउँपालिका डडेलधुरा, त्रिवेणी नगरपालिका बाजुरा र पञ्चदेवल विनायक नगरपालिका अछामलाई तोकिएको छ। त्यसैगरी, लुम्बिनी प्रदेशअन्तर्गत नेपालगञ्ज उपमहानगरपालिका बाँके, झिमरुक गाउँपालिका प्युठान, र बिजयनगर गाउँपालिका कपिलबस्तुमा स्थानीय युवा, विद्यार्थी, महिला, दलित तथा सीमान्तकृत समुदायका इच्छुक सहभागीहरूलाई समेटेर १५ दिने फोरम थिएटर कार्यशाला सञ्चालन गरिनेछ।

कार्यशालामा सहभागीहरूले समुदायका वास्तविक अनुभव, सामाजिक मुद्दा तथा स्थानीय सवालहरूलाई नाटकमार्फत अभिव्यक्त गर्ने प्रक्रिया सिक्नेछन्। कार्यशालापश्चात सहभागीहरूले आफ्नै पालिकाका विभिन्न स्थानहरूमा सामुदायिक नाटक प्रदर्शन समेत गर्नेछन्।

कार्यशाला जेठ १४ गतेदेखि २८ गतेसम्म सञ्चालन हुनेछ भने जेठ २९ देखि असार ५ गतेसम्म सामुदायिक नाटक प्रदर्शन गरिनेछ। इच्छुक सहभागीहरूलाई गुगल फर्ममार्फत आवेदन दिन अनुरोध गरिएको छ।

यस कार्यक्रमको मुख्य उद्देश्य स्थानीय स्तरमै सहभागी नाटकको अभ्यासलाई दिगो बनाउनु, स्थानीय थिएटर क्लब गठन वा सुदृढीकरण गर्नु तथा युवाहरूलाई सामाजिक संवाद र समुदाय रुपान्तरणको सिर्जनात्मक प्रक्रियामा जोड्नु रहेको कार्यक्रम संयोजक सोमनाथ खनालले जानकारी दिए। कार्यक्रमअन्तर्गत गठित थिएटर क्लबहरूलाई आगामी ९ महिनासम्म मण्डला थिएटर नेपालले थप तालिम, सहजीकरण तथा अवसरमार्फत निरन्तर सहयोग गर्नेछ।

 यस महत्वपूर्ण पहललाई लक्षित युवाहरुसम्म पुर्‍याउन तथा नेपाली कला र रंगमञ्च क्षेत्रको दीर्घकालीन विकासका लागि मिडिया हाउसहरू, पत्रकार तथा सञ्चारमाध्यमहरूलाई यस खुला आवेदन प्रचार/प्रसारमा सहयोग गरिदिन मण्डला थिएटर-नेपाल हार्दिक अनुरोध गर्दछ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad