कला


‘अफिसियल सेलेक्सन’ मा परेको नेपाली फिल्मको पोस्टर नराख्दा कान्स स्टल विवादमा, बोर्डले दियो स्पष्टीकरण

‘अफिसियल सेलेक्सन’ मा परेको नेपाली फिल्मको पोस्टर नराख्दा कान्स स्टल विवादमा, बोर्डले दियो स्पष्टीकरण

नेपालखबर
जेठ ६, २०८३ बुधबार १२:४६, काठमाडौँ

कान्स फिल्म फेस्टिभलमा चलचित्र विकास बोर्ड र पर्यटन बोर्डले राखेको आधिकारिक स्टललाई लिएर विवाद उत्पन्न भएको छ। कान्सको ‘अफिसियल सेलेक्सन’ मा परेको नेपाली फिल्म ‘एलिफेन्ट इन द फग’को पोस्टर स्टलमा नराखिएको विषयमा चलचित्रकर्मीले आपत्ति जनाएका हुन्।

केही फिल्मकर्मीले स्टल सीमित फिल्मको प्रचारमा मात्र केन्द्रित भएको आरोप लगाएका छन्। निर्देशक दीपक रौनियारले फेसबुकमार्फत असन्तुष्टि व्यक्त गर्दै बोर्डको आलोचना गरेका छन्।

‘यो विकास बोर्डले खर्च गरेर कान्समा राखेको आधिकारिक स्टल हो। तर, बोर्डलाई थाहै छैन कस्तो फिल्ममाथि उनीहरूले गर्व गर्नुपर्छ भन्ने। अफिसियल सेलेक्सनमा परेको फिल्मकै पोस्टर यहाँ छैन। नेपाललाई यस्तो प्लाटफर्ममा यसअघि पुर्‍याएको फिल्म यहाँ देखिन्नँ,’ उनले फेसबुकमा लेखेका छन्।

बोर्डले यस्तो प्लेटफर्ममा प्रस्तुत गर्नुपर्ने फिल्मको औचित्य नबुझेको र यसअघि यस्तै महोत्सव पुगेको फिल्मले पुर्‍याएको योगदान नदेखेको भन्दै रौनियार आक्रोशित बनेका छन्। 

बोर्डले विज्ञप्तिमार्फत जारी गरेको स्पष्टीकरणप्रति पनि उनले असन्तुष्टि जनाएका छन्। सार्वजनिक सूचना निकालेर फिल्मकर्मीलाई आफैं सामग्री पठाउन आग्रह गर्नु व्यावहारिक र सम्मानजनक नभएको उनको भनाइ छ। रौनियारको अभिव्यक्तिपछि धेरै चलचित्रकर्मीले समर्थन जनाएका छन्।

बोर्डले भने प्रेस विज्ञप्ति जारी गर्दै आरोपको खण्डन गरेको छ। बोर्डले पर्यटन बोर्डसँगको सहकार्यमा पहिलोपटक आधिकारिक स्टल राखिएको जनाएको छ।

स्टलको स्थानीय व्यवस्थापन बेलायतमा रहेको नेपाली कम्पनी ‘शाही प्रोडक्सन’ले गरिरहेको उल्लेख गरेको छ। स्टलको उद्देश्य नेपाली चलचित्र, छायांकन सम्भावना, सांस्कृतिक पहिचान र अन्तर्राष्ट्रिय सहकार्यलाई विश्व बजारमा प्रवर्द्धन गर्नु रहेको बोर्डको भनाइ छ।

यसका लागि गत फागुनमै सार्वजनिक सूचना जारी गर्दै इच्छुक फिल्मकर्मीलाई पोस्टर, ट्रेलर र प्रचार सामग्री पठाउन आग्रह गरिएको पनि विज्ञप्तिमा उल्लेख छ। बोर्डले ‘एलिफेन्ट इन द फग’लाई विशेष प्राथमिकतामा राखेर समेट्ने तयारी गरिएको दाबी गरेको छ। तर, आवश्यक प्रचार सामग्री समयमै उपलब्ध नभएका कारण स्टल पूर्ण रुपमा व्यवस्थापन गर्न कठिन भएको बोर्डको भनाइ छ।

अहिले बोर्डको कान्स स्टलमा निर्देशक प्रदीप शाही र अभिनेता प्रदीप खड्काले आफू संलग्न फिल्मको पोस्टर राख्दै फोटो फेसबुकमा राखिरहेका छन्। शाहीले निर्देशन गरेको ‘एक्लो’ लगायतका फिल्मको पोस्टर त्यहाँ देख्न सकिन्छ। साथै ‘लास्ट रिच्युअलु’, ‘गुन्युचोलो: द ड्रेस’, ‘गौंथली’लगायत फिल्मका पोस्टर समावेश छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad