कला


स्वस्तिमाको ‘लालीबजार’ हेरेपछि के भने नीर शाहदेखि वर्षा र प्रियंकाले?

स्वस्तिमाको ‘लालीबजार’ हेरेपछि के भने नीर शाहदेखि वर्षा र प्रियंकाले?

नेपालखबर
जेठ ५, २०८३ मंगलबार १४:२, काठमाडौँ

दोस्रो सातामा प्रदर्शनरत फिल्म ‘लालीबजार’ सोमबार विशेष शो आयोजना गरिएको थियो।  जय नेपाल हलमा गरिएको विशेष प्रदर्शनीमा चलचित्रकर्मीहरुले खुलेर तारिफ गरेका छन्। 

फिल्मको विषयवस्तु, निर्देशकीय पक्ष, कलाकारको जीवन्त अभिनयलाई उपस्थित कलाकर्मीले सकरात्मक प्रतिक्रिया दिए। फिल्म हेरेपछि अभिनेता तथा निर्देशक नीर शाहले वर्षौंसम्म सझिने कोसेली उपहार पाइएको बताए।

‘निर्माताले हामीलाई आगामी धेरै वर्षसम्म सम्झिने फिल्म उपहार दिनुभएको छ, यो कोसेलीका लागि धन्यवाद। एउटा नेपालकै कथामा आधारित राम्रो फिल्म हेर्न पाएँ, जुन विश्वासका साथ हल छिरेको थिएँ, निस्किँदा त्यो भन्दा बढी पाएँ। यसमा स्वस्तिमाजीले गर्नुभएको काम अघिल्ला काम भन्दा ज्यादै माथी छ, अब उहाँको प्रतिष्पर्धा स्वयम् आफैँसँग हुनेछ। आगामी दिनमा उहाँले मधुवाला नामक पात्रलाई जित्ने अभिनय गर्नुपर्छ, साथै नव अभिनेता विशाल र प्रशंसाले पनि राम्रो काम गरेका छन्। सबै पात्र जीवन्त छन्, हामी त्यहि संसारमा पुगेको आभाष हुन्छ,’उनले भने। 

अभिनेता शाहले फिल्म ‘लालीबजार’ हेरेर मात्र यसबारे आफ्नो धारणा बनाउन आग्रह गरे।

अभिनेत्री प्रियंका कार्कीले फिल्मको विषयवस्तु र कलाकारको अभिनयले बाँधेर राख्ने बताइन। ‘फिल्म हेरिरहदा समय बितेसँगै पटकथा सलल बगेको छ, कलाकारले उस्तै सशक्त अभिनय गरेका छन् । फिल्म हेर्दा कतै निस्किने वा मोबाइल चलाउन मन लाग्दैन, बाँधेर राख्छ। फिल्मको क्लाइमेक्स झनै सशक्त छ, यो फिल्म हेर्नै पर्ने बनेको छ’, कार्कीले भनिन् ।

अभिनेत्री वर्षा राउतले षट्कोण आर्ट्सले दर्शकको रोजाई बुझेर नै फिल्म तयार गर्ने गरेको बताइन्। ‘मैले षट्कोण आर्ट्ससँग धेरै काम गरेकी छु, उहाँहरू दर्शकको रोजाई र बुझाइसँग नजिक रहेर काम गर्नुहुन्छ। यो फिल्म हामी दर्शक भएर हेर्दा र क्रिटिक्स भएर हेर्दा पनि मन पर्ने गरी तयार गर्नुभएको छ। सामाजिक विषयलाई यस्तो मज्जाले फिल्ममा प्रस्तुत गर्नुभएको छ की यो गज्जब बनेको छ, यो फिल्म नछुटाउनु होला,’उनले भने। 

अभिनेता आयुष्मान डिएस जोशीले फिल्ममा स्वस्तिमा खड्का अघिल्ला फिल्मको तुलनामा निकै सशक्त रुपमा प्रस्तुत भएको सुनाए। फिल्ममा समावेश लोकप्रिय गीत ‘मायालाई के दिउँ म बैना’ का गायक तथा सङ्गीतकार खेम सेन्चुरीले फिल्म हेर्दा आफ्नो आँखा रसाएको प्रतिक्रिया दिए।

‘फिल्मको बारेमा जति चर्चा छ, त्यो भन्दा फिल्म निकै राम्रो बनेको छ । यो फिल्मले कुनै समुदायलाई कहिँ कतै बुझाएको छैन, यसले एउटी आमाले सन्तान रक्षाको लागि के सम्म गर्छिन् भन्ने देखाएको छ । फिल्म हेर्दा नरसाउने आँखा सायद निकै कम हुन्छन् । अभिनेत्री स्वस्तिमासहित म सबैको फ्यान भएँ, निकै उत्कृष्ट बनेको छ फिल्म, यसको पार्ट हुन् पाउँदा गौरव लागेको छ’, गायक सेन्चुरीले भने ।

अभिनेत्री स्वस्तिमा खड्काले दर्शक र कलाकर्मीबाट पाइरहेको प्रतिक्रियाले आफूसहित सम्पूर्ण टिम उत्साहित रहेको बताइन । ‘हामीले प्रिमियर र अहिले स्पेसल स्क्रीनिङ गर्यौं, मोफसलसँगै काठमाडौँका दर्शकलाई हलमा पुगेर भेटघाट गरिरहेका छौँ । सबैले दिनुभएको प्रतिक्रिया उस्तै छ । फिल्म बुझ्नु भएका कलाकर्मीदेखी मनोरन्जनका लागि फिल्म हेर्न हल आउने दर्शकसम्म सन्तुष्ट हुनहुन्छ, यो नै हाम्रो सफलता हो’, उनले भनिन् ।

आज मंगलवारदेखि ‘लालीबजार’ टिम पूर्वका दर्शकसँग भेटघाट गर्न र प्रतिक्रिया लिन विर्तामोडबाट पुनः मोफसल यात्रा सुरू भइसकेको छ। स्वस्तिमाका अनुसार काठमाडौँ र मोफसलका हलमा टिम बाँडिएर दर्शकसँग भेटघाट गरिनेछ । यसअघि नेपालगंज, सुर्खेत, बुटवल, चितवन र पोखराका दर्शकसँग ‘लालीबजार’ टिमले भेटघाट गरिसकेको छ ।      

यस फिल्ममा स्वस्तिमासहित रवीन्द्रसिंह बानियाँ, समाइरा थापा, मुकुन्दकुमार श्रेष्ठ, अभय बराल, प्रेम पाण्डे, आशा पौडेल, गोविन्द सुनार, आभा अर्याल, तारा शर्मा, रमेश वादी, सरस्वती अधिकारी, जानकी कठायत, निश्चल पन्थी, विरवल चौधरी, कुन्टल लगायतको अभिनय रहेको छ।

निर्देशक यम थापाको कथा तथा निर्देशनमा तयार भएको फिल्म ‘लालीबजार’ को पटकथा र संवाद निर्देशक थापा र निर्देशक प्रदीप भट्टराईले संयुक्त रुपमा तयार गरेका हुन्। फिल्ममा कार्यकारी निर्माता प्रदीप भट्टराई रहेका छन् भने म्याक्स दीपेश खत्री र रविन्द्रसिंह बानियाँ निर्माता रहेका छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad