कला


रेखाको ‘माया भनेकै यस्तो होला’ भदौ २६ बाट प्रदर्शन हुने

रेखाको ‘माया भनेकै यस्तो होला’ भदौ २६ बाट प्रदर्शन हुने

नेपालखबर
बैशाख ११, २०८३ शुक्रबार १२:४६, काठमाडौँ

अभिनेत्री रेखा थापाको निर्देशन रहेको फिल्म ‘माया भनेकै यस्तो होला’ को प्रदर्शन मिति तोकिएको छ। निर्माण पक्ष र वितरकहरूबीच भएको आपसी सहमति र सम्झौता अनुसार यो फिल्म आगामी भदौ २६ गतेबाट रिलिज हुँदैछ। 

यसअघि निर्माण पक्षले चलचित्र तीजको अवसर पारेर प्रदर्शनमा आउने भने पनि मिति तय गरिएको थिएन। वितरकहरूसँगको पछिल्लो चरणको छलफलपछि तीजको विशेष अवसर र कुशे औंसी (बुबाको मुख हेर्ने दिन)का दिन चलचित्र रिलिज गर्न लागिएको जानकारी दिएको छ।

फिल्मलाई देशभरका प्रमुख वितरक कम्पनीहरू रीच इन्टरटेन्मेन्ट, एप्पल इन्टरटेन्मेन्ट र एफडी कम्पनीले वितरणको जिम्मा लिएका छन्। नेपाली चलचित्र क्षेत्रकी चर्चित अभिनेत्री थापाले यसै चलचित्रमार्फत ८ वर्षपछि निर्देशनमा पुनरागमन गरेकी हुन्। यसअघि ‘हिम्मतवाली’ र ‘मालिका’ जस्ता सफल चलचित्रको निर्देशन गरिसकेकी रेखाको यो तेस्रो निर्देशकीय फिचर सिनेमा हो।

चलचित्रमा अभिनयमा नभएर निर्देशनमा मात्र पूर्ण रूपमा केन्द्रित भएकी रेखाले यसपटक आफ्नै ब्यानर ‘रेखा फिल्मस्’ भन्दा बाहिर आएर काम गरिरहेकी हुन्। ‘दिया एन्ड अमु फिल्मस्’ को ब्यानरमा निर्माण भएको यस चलचित्रमा नेपाली कला क्षेत्रका दिग्गजदेखि वर्तमानका चर्चित अनुहार छन्।

फिल्ममा मदनकृष्ण श्रेष्ठ, दिल श्रेष्ठसँगै पूर्वमिस नेपालहरू सृष्टि श्रेष्ठ र नम्रता श्रेष्ठ तथा पूर्वमिस नेपाल इन्टरनेसनल नीति शाहको मुख्य भूमिका छ। विशेष भूमिकामा पूर्वमिस नेपाल उषा खड्गीको पनि अभिनय छ। यस हिसाबले चलचित्रमा एक साथ चार मिस नेपाल समेटिएका छन्।

त्यस्तै लक्ष्मी गिरी, विशाल पहाडी, संगम भण्डारी, रवि डंगोल, सुनिता श्रेष्ठ र विनोद पौडेल लगायतको अभिनय छ। यस फिल्मको हाल पोस्टप्रडक्सनको काम चलिरहेको छ।

फिल्मका निर्माता हरि नारायण श्रेष्ठ र माया देवी श्रेष्ठ हुन्। ध्रुव लम्सालको पटकथा लेखन रहेको यस चलचित्रले सुमधुर प्रेम कथाका माध्यमबाट सामाजिक भावना र परिवेशलाई चित्रण गर्ने दाबी गरिएको छ। लेखक लम्साल १० वर्षको अन्तरालपछि यसै सिनेमामार्फत लेखनमा फर्किएका हुन्।

सुदीप बरालको छायांकन रहेको चलचित्रमा अनिरुद्ध आत्रेय प्रमुख सहायक निर्देशक, राजन घिमिरे फिल्म संयोजक, संगीत प्रशान्त सिवाकोटी, ड्रेस डिजाइनर सुजेनी मल्ल, मेकअप प्रिया कार्की, प्रोडक्सन चुडामणी (सीएम) छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad