कला


सुहानालाई गौँथली बन्न वर्ष दिन लाग्यो, निस्किन ६ महिना

‘परालको आगो’पछि सुहाना : अब चाहिँ इन्डस्ट्रीमा टिक्छु जस्तो लाग्छ
सुहानालाई गौँथली बन्न वर्ष दिन लाग्यो, निस्किन ६ महिना

लक्ष्मी बलायर
बैशाख ११, २०८३ शुक्रबार ७:४३, काठमाडौँ

बोर्डिङ स्कुलको आरामदायी कक्षाकोठामा बसेर सुहाना थापाले चार्ल्स बुकोव्स्कीका कविता र अरु विदेशी साहित्यका पुस्तक पढिन्। तर, उनलाई गुरुप्रसाद मैनालीद्वारा लिखित आफ्नै देशको चर्चित कृति ‘नासो’ बारे थाहा थिएन। 

जब सुहानाले फिल्म ‘परालको आगो’ मा गौँथलीको भूमिकामा देखिने निर्णय लिइन्, तब मात्र उनले नासोबारे थाहा पाइन्। 

‘मलाई चाहिँ सुरुमा कथा सुन्दा बुढाबुढीको झगडा जस्तो मात्र लागेको थियो। तर जब मैले नासो संग्रह पढेँ, तब मलाई के महसुस भयो भने गुरुप्रसाद मैनाली कस्तो जिनियस हुनुहुँदो रहेछ। यो एउटा सामाजिक व्यङ्ग्य रहेछ। घरेलु हिंसाविरुद्धमा एउटा ठूलो आवाज रहेछ,’ उनले भनिन्।

नृत्य निर्देशक रामजी लामिछानेमार्फत सुहानालाई यस फिल्मको अफर आएको थियो। उनकी आमा झरना थापालाई फोन गरेर ‘परालको आगो’ बन्दै गरेको खबर सुनाएपछि प्रक्रिया अघि बढ्यो।

‘ममीले यो फिल्मको कुरा आउनेबित्तिकै मलाई सुनाउनुभयो। यो कृतिमा आधारित फिल्म हो, यसमा जसरी काम गर्नुपर्छ है भन्नुभएको थियो,’ सुहाना सम्झिन्छिन्, ‘त्यसपछि निर्देशक र निर्मातासँग भेट भयो। उहाँहरू स्क्रिप्ट नलिईकन आउनुभएको थियो। परालको आगो जे हो, त्यही नै स्टोरी हो भन्नुभयो। मलाई चाहिँ जे जस्तो भए पनि कृतिमा बनेपछि राम्रै बन्छ भन्ने विश्वास थियो। अनि साइन गरेर आज यहाँसम्म आइपुगियो।’

सुहाना मनोविज्ञानकी विद्यार्थी भएकाले उनलाई गौँथलीको चरित्र बुझ्न सहज भयो। उनले गौँथलीलाई पात्रको रूपमा मात्र होइन, ‘हिंसा भोगेकी महिला’ को रुपमा लिएर उसको मनोविज्ञान खोतल्ने प्रयास गरिन्।

‘एउटा ट्रमा सर्भाइभरको इमोसनल ग्राफ कस्तो हुन्छ, त्यो कुरालाई मैले आफ्नो अभिनयमा उतार्न खोजेकी छु,’ उनले भनिन्, ‘हामी वेस्टर्न लिटरेचरका ठूला लेखकहरूको कुरा गर्छौं। तर हाम्रै गुरुप्रसाद मैनालीले ह्युमन साइकोलोजीबारे त्यतिबेलै कति गहन कुरा लेखिसक्नुभएको रहेछ भन्ने कुराले मलाई अचम्मित बनायो।’

एक वर्ष तयारी
यस फिल्मका लागि सुहानाले करिब एक वर्ष तयारी गरिन्। निर्देशक लक्ष्मण सुनारले उनलाई गौँथली चरालाई ‘अब्जर्भ’ गर्न सल्लाह दिएका थिए।
‘लक्ष्मण दाइले मलाई वर्कसपमा धेरै कुरा भन्नुभन्दा पनि गौँथली चरालाई अब्जर्भ गर्न भन्नुभयो। त्यसको हाउभाउ र चञ्चलेपनलाई समात्न भन्नुभयो। फिल्ममा अभिनय गर्दा मैले एउटा नम्बनेस देखाउन खोजेको छु, जुन अक्सर ट्रमा भोगेका मानिसमा देखिने गर्छ,’ उनले भनिन्।

फिल्ममा ९० को दशकको कथा भनिएको छ। त्यस समयको पात्रमा ढाल्न उनले गौँथलीको मनोविज्ञानसहित त्यही समयको पोसाक लगाइन्।

फिल्मको सुटिङ म्यादीको धारापानीमा गरिएको थियो। जहाँ उनले धेरै गौँथली चराहरू देखिन्। त्यसले उनलाई अझै गौँथलीबारे बुझ्ने मौका दियो।

सहरमा हुर्किएकी सुहानाका लागि ग्रामीण परिवेश नौलो थियो। घाँस काट्ने, गोबर सोहोर्ने, डोको बोक्ने जस्ता काम सिक्न उनले २०–२५ दिन खर्चिन्।

पहिलो सेड्युलमा अभिनेता सौगात मल्ललगायतको सुटिङ थियो। तर सुहाना १० दिनअगावै सुटिङ स्थल पुगिन्। गौँथलीकै पोसाक लगाएर गाउँ डुलिन्। त्यहाँका महिलासँग भेटेर गाउँले परिवेश बुझ्न उनले समय दिइन्।

दोस्रो सेड्युल सुरू भएसँगै सुहाना पूर्णतया गौँथलीको क्यारेक्टरमा बसिन्। कतै गौँथली बिर्सिएर सुहाना पो आउने हो कि भन्ने डर उनलाई थियो। त्यसैले आफूलाई सम्हालेर बसिन्।

‘परालको आगो’ को ट्रेलरमा एक दृश्य छ, जहाँ सुहाना र उनकी भदैबीच संवाद हुन्छ।

‘मैले पनि सर्भाइभरको स्टोरी सुनेकी छु। मरूँ कि बाँचूँ जस्तो प्वइन्टमा पुगेको थिएँ भनेर। त्यो किसिमको कुरा मनमा राख्दा मन एकदम भारी भएको थियो। त्यो चाहिँ मेरो लागि भावनात्मक रुपमा बोझिलो थियो,’ उनले भनिन्।

एउटै सिनको लागि १५ टेक
यस फिल्ममा सुहाना प्रकाश सपुतको अपोजिटमा छिन्। सेटमा प्रकाशले भात फाल्नुपर्ने दृश्य खिच्नुपर्ने थियो। जहाँ चामेले भात फाल्छन्। गौँथलीले चित्त दुखाउँदै भन्नुपर्ने थियो, ‘आफूले कमाएर ल्याएको भए पो थाहा हुन्थ्यो।’

तर, त्यस दृश्यमा गौँथलीभन्दा सुहाना हाबी भइन्। उनलाई चित्त दुख्नु साटो रिस उठ्न थाल्यो। जुन दृश्यमा १५ टेक लिनुपरेको थियो।

‘त्यो भात फाल्ने सिनमा गौँथलीलाई मन दुख्छ, रुन्छे। तर सुहानालाई चाहिँ रिस उठिरहेको थियो। धेरैपटक त्यो डाइलग एकदम रिसमा बोलेँ। १५ टेकपछि बल्ल चाहिँ मन दुखाइ र पीडा महसुस गरेँ,’ उनले भनिन्।

त्यस्तै, ‘परालको आगो’ मा पुरानै फिल्मको गीत ‘उडी जाऊँ भने म पंक्षी होइन’ समावेश गरिएको छ। 

‘उडी जाऊँ भने म पंक्षी होइनले एउटा भित्री मनोविज्ञान खोल्छ। त्यसलाई बुझ्न एकदमै गाह्रो भएको थियो। त्यो सिन गरिसकेपछि अर्को दिन छुट्टी थियो। त्यो दिनभरि नै म सुतेकी थिएँ। किनभने मलाई उठेर त्यो सोच्न मन नै थिएन,’ सुहाना भन्छिन्।

हिंसा गर्ने पुरुषको क्यारेक्टरमा देखिएका प्रकाशलाई उनले प्रश्न सोधेकी थिइन्, ‘तपाईं चामेभन्दा ठ्याक्कै अपोजिट हुनुहुन्छ। सामाजिक चेतना फैलाउनुहुन्छ, महिलाको आवाज उठाउनुहुन्छ। तपाईं किन चामे बन्नुभयो?’

जसमा प्रकाशको जवाफ थियो, ‘मैले चामे गर्दिएँ भने चाहिँ हजारौँ गौँथलीहरूले न्याय पाउँछन्।’ 

जवाफ सुनेपछि आफू निकै प्रभावित भएको सुहानाले सुनाइन्।

फिल्मभित्र सपुतले सुहानालाई गाली गर्नुपर्ने र कुट्नुपर्ने दृश्य छन्। जुन दृश्यको सुटिङ गर्नुअघि प्रकाशलाई निकै गाह्रो हुने गरेको सुहानाले खुलाइन्।

‘सुटिङ गर्नुअघि उहाँले धेरैचोटि सरी भन्नुभयो। कसरी हुन्छ चोट नपरोस् भन्ने चाहिँ उहाँले एकदमै ध्यान दिएर गर्नुभयो,’ उनले भनिन्, ‘तर मैले उहाँलाई एक्सन भनेपछि चामे नै हुनुस् भन्थेँ। तपाईंले जानीजानी गरेको होइन भनेर सहज बनाउँथे। तैपनि टाइम–टाइममा उहाँलाई अप्ठ्यारो हुन्थ्यो।’

पात्रबाट निस्किन ६ महिना
गौँथली अन्ततः घर फर्किन्छे। त्यो सिनमा सुहानाले गौँथली र आफूलाई सँगसँगै राखेर हेरिन्। र, उनको मनमा त्यतिबेला सबै नारीलाई एउटा प्रश्न थियो, ‘यत्रो सबै भए पनि सहेर तिमी गइरहन्छौ? विद्रोह किन छैन?’

‘ल ठिकै छ, तिमीलाई समाजले जान नदिएको हो। तिमी त जान चाहन्छौ। तर तिमीले सम्झौता गरेको हो है। जुन त्याग थियो,’ सुहानाले भनिन्, ‘मलाई लाग्छ त्यतिबेलाको समय नै त्यस्तै थियो। उहाँहरू शिक्षित र आत्मनिर्भर हुनुहुन्थेन। अहिले हामीसँग च्वइस छ। त्याग पनि कत्तिको हदसम्म गर्न सक्छौँ भन्ने छ। त्यतिबेला चाहिँ विकल्प नभएर धेरै सम्झौता गर्नुपर्थ्यो।’

सुहानालाई गौँथलीको पात्रमा ढल्न जति समय लाग्यो, निस्किन झन् गाह्रो भयो। यति ट्रमा भयो कि बीचमा उनले घरेलु हिंसाबारेको फिल्मको अफर आउँदा स्वीकार गरिनन्। गौँथली पात्रबाट निस्किन ६ महिना लागेको सुहानाको भनाइ छ।

सुहानाका अनुसार अहिले पनि समाजमा महिला हिंसा व्यापक छ। डिजिटल युगमा झन् धेरै हिंसा र दुव्र्यवहार भइरहेको छ।

‘फिल्ममा देखाइयो, कृतिमा लेखियो, त्यो हिंसा अहिले पनि छ। हिंसाहरू नदेखिएका र लुकाइएका धेरै छन्। र, डिजिटल युगमा पनि अझै गौँथलीहरू छन्। जहाँ फेक आईडीको पछाडि रहेर चामेहरूले एउटा नारीले केही बोलिहाली भने उसलाई जथाभावी कमेन्ट गर्छन्। यो कथा अहिले पनि रिलेट हुन्छ,’ उनले भनिन्।

अभिनयको दोस्रो अध्याय 
सुहानाले कहिल्यै पनि हिरोइन बन्छु भनेर सोचेकी थिइनन्। बरु निर्माता बन्नेरुचि थियो। तर, उनले ‘ए मेरो हजुर ३’ बाट अभिनेत्रीको रूपमा डेब्यु गरिन्। जुन फिल्मबाट सुहानाले राम्रै चर्चा पाइन् र फिल्म बक्सअफिसमा पनि सफल भयो। त्यसपछि अरु फिल्म खेले पनि सुहाना फिल्मक्षेत्रमै करिअर बनाउनेबारे विश्वस्त थिइनन्।

‘ए मेरो हजुर ३ मा सबै जनाले एक्टर बन्नुपर्छ भन्नुभयो। त्यतिबेला चाहिँ के होला यो एक्टिङ, के गर्ने होला भन्ने भयो। इमोसन हुन्छ, यसरी गर्ने भन्दा हुन्छ भनेर नबुझीकन प्रोसेस गरियो। तर, परालको आगोले चाहिँ धेरै कुरा सिकायो। त्यो प्रोसेसबाटै मलाई लाग्यो, यस्तै क्यारेक्टर, यस्तै पात्रहरू आइराखे भने त म यो इन्डस्ट्रीमा टिक्छु जस्तो लाग्छ,’ सुहानाले सुनाइन्।

लभरगर्ल बन्दै आएकी सुहाना यस फिल्ममा भने पहिलोपटक गाउँले भूमिकामा छिन्। यस फिल्मबाट लभरगर्लको ट्याग हट्नेमा उनी ढुक्क छिन्। यति मात्र होइन, सुहाना आफ्नो फिल्मी करिअरको दोस्रो अध्याय सुरु भएको मान्छिन्। फिल्म वैशाख ११ गते रिलिज हुँदैछ।

‘पक्कै पनि च्याप्टर २ सुरु भयो। पहिले बाबा–ममीले पढाइ पूरा गर भन्नुहुन्थ्यो। उहाँहरूको एउटा इच्छा चाहिँ मेरो छोरीले मास्टर्स गरोस्, त्यो पनि ठूलो विश्वविद्यालयमा। त्यो पूरा गरिदिएपछि अहिले उहाँलाई चाहिँ आनन्द छ। ल, अब तिमीलाई जे गर्न मन लाग्छ गर भन्नुहुन्छ।’

‘परालको आगो’ को टिजर सार्वजनिक भएदेखि नै सुहानामा आमा झरनाको झल्को आएको भन्दै दर्शकले कमेन्ट गरिरहेका छन्। आमाले छोडेको त्यो गहिरो छापलाई ताजा बनाउनुलाई सुहाना ठूलो सफलता मान्छिन्।

‘ए मेरो हजुर ३ सुरु गर्दा दर्शकले मन पराउनुहुन्छ कि हुँदैन, टिक्छु कि टिक्दिनँ भन्ने डर थियो। यहाँसम्म आउँदा मेरो अभिनयमा ममीलाई देख्नुभयो। उहाँले पहिल्यैदेखि गाउँले भूमिकाहरू धेरै गर्नुभयो। रोनाधोना खत्रै गर्नुहुन्थ्यो। त्यसमा पनि उहाँहरूले देख्दा अब चाहिँ हल्का महसुस भइरहेको छ। ममीले जुन छाप छोड्नुभएको थियो, त्यो मैले फेरि फिर्ता ल्याएँ। जुन नोस्टाल्जिया थियो उहाँको, त्यो चाहिँ आएछ। त्यो एक किसिमको सक्सेस प्वइन्ट पनि हो,’ उनले खुसी हुँदै भनिन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad