स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले एघारौँ तहका वरिष्ठ अधिकृतहरूको सरुवा र काज फिर्ता गरेको छ।
स्वास्थ्यमन्त्री निशा मेहताले मन्त्रीस्तरीय निर्णय गर्दै मन्त्रालयका तीन महाशाखाका प्रमुखको हेरफेर र काज फिर्ता गरेकी हुन्। मन्त्रालयको नीति योजना महाशाखामा कार्यरत डा. चुमनलाल दासलाई पर्सास्थित नारायणी अस्पतालमा काज फिर्ता गरिएको छ।
स्वास्थ्य समन्वय महाशाखामा रहेका डा. भीम सापकोटालाई हेटौँडास्थित किटजन्य प्रयोगशालामा पठाइएको छ भने गुणस्तर मापन तथा निरीक्षण महाशाखाका प्रमुख डा. सरोज शर्मालाई वीर अस्पतालमै काज फिर्ता पठाइएको छ।
स्वास्थ्य बीमा बोर्डका कार्यकारी निर्देशक डा. कृष्णप्रसाद पौडेलको पनि काज फिर्ता गरी गजेन्द्र नारायण सिंह अस्पतालमा सरुवा गरिएको छ। डा. पौडेल बोर्डको कार्यकारी प्रमुख रहेकाले तत्कालका लागि भने बीमा बोर्डमै रहेर कार्यसम्पादन गर्न भनिएको मन्त्रालयले जनाएको छ।
यस्तै स्वास्थ्यमन्त्री मेहताले ११औँ तहका तीन जना कर्मचारीलाई मन्त्रालय तानेकी छन्। राष्ट्रिय स्वास्थ्य तालिम केन्द्रकी निर्देशक यशोदा अर्याल, ईपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. रोशन न्यौपाने र डा. गुणनिधि शर्मालाई मन्त्रालय तानिएको छ।
त्यस्तै, भरतपुर अस्पतालमा दरबन्दी रहेका हाडजोनी रोग विशेषज्ञ डा. रोशन न्यौपानेलाई भने स्वास्थ्यमन्त्रीले मन्त्रालय तानेकी हुन्।
११औँ तहका केही कर्मचारीको भने काज फिर्ता भएको छैन। डा. मदनकुमार उपाध्याय राष्ट्रिय ट्रमा सेन्टरमा दरबन्दी भए पनि उनी हाल परिवार कल्याण महाशाखाको निर्देशकका रूपमा काजमा कार्यरत छन्।
त्यस्तै, केन्द्रीय कारागार अस्पतालमा दरबन्दी रहेका डा. सर्वेश शर्मा हाल राष्ट्रिय एड्स तथा यौन रोग नियन्त्रण केन्द्रको निर्देशकका रूपमा काजमा छन्। उनीहरूको काज फिर्ता भएको छैन।
स्वास्थ्यमन्त्री मेहताले यस अघि नवौँ र दशौँ तहका कर्मचारीको काज फिर्ता गरेकी थिइन्।
Shares

प्रतिक्रिया