वेब सिरिज ‘साहु बा’को ट्रेलर सार्वजनिक भएको छ। एक मिनेट ४४ सेकेन्ड लामो ट्रेलरले सिरिजको कथावस्तु ‘क्राइम, एक्सन र रिभेन्ज’ (बदला) मा केन्द्रित रहेको देखाउँछ।
सिरिजको मुख्य पात्रको रुपमा विजु पार्की रहेका छन्। ट्रेलरको सुरुवात र बीचमा देखाइएको सेतो कागजको जहाजले दर्शकमा कौतुहलता जगाउँछ। यो कुनै पात्रको बाल्यकालको स्मृति वा कसैलाई दिइने बदलाको संकेत हुन सक्छ। रगतले लतपतिएका हातमा त्यो जहाज हुनुले यो सिरिजमा भावनात्मक बदलाको पाटो बलियो छ भन्ने बुझिन्छ ।
एक्सनप्रधान ट्रेलरले बदलाको आगोमा जलिरहेको एक युवकको संघर्ष र उसले सामना गर्नुपर्ने आपराधिक सञ्जाललाई मुख्य स्थान दिइएको छ। आगो, हतियार र अस्पतालको दृश्यले सिरिजमा सस्पेन्सको मात्रा भरपूर रहेको संकेत गर्छ।
ट्रेलरको अन्त्यमा देखाइएको भव्य रातो कुर्सीले ‘साहु बा’ को सत्ता वा शक्तिको संघर्षलाई समेटिएको छ। यो कुर्सीको मालिक को हो? त्यहाँ पुग्न कति रगत बग्छ भन्ने कुरा नै सिरिजको मुख्य क्लाइमेक्स हुन सक्छ।
निर्देशक एवं लेखक सुजोय योङका अनुसार यो सिरिज कुनै सामान्य प्रोजेक्ट मात्र नभई नेपाली डिजिटल जगतकै एक महत्वाकांक्षी काम हो। यसमा ३८० भन्दा बढी कलाकारले अभिनय गरेका छन्, जुन नेपाली वेब सिरिजको इतिहासमा निकै ठूलो संख्या हो। २४ एपिसोडको यो सिरिजलाई पूर्ण रूप दिन निर्माण टोलीले करिब तीन वर्ष खर्चिएको छ।
सिरिजमा प्रियंका कार्की, कविता नेपाली, विजु पार्की, सरिता गिरी, नम्रता श्रेष्ठ, अमित शाह, अमित गिरी, प्रियंका चौधरी, हिना नगरकोटी, बिमल पुरी, रमेश अधिकारी, प्रदीप बाँस्तोला, कृष्ण भक्त महाजन लगायतका नेपाली चलचित्र र रंगमञ्चका स्थापित कलाकारहरूको अभिनय छ।
आयुषमान डी जोशी, संगम राई र अनिश तामाङ छायाकार रहेको यस सिरिजको रामप्रसाद चौधरी सम्पादक हुन्। सागर आले, मिस्टर डी र उजन शाक्यको गीत रहेको सिरिजमा पेमा लामा र राजु तामाङको द्वन्द्व निर्देशन रहेको छ।
यो सिरिज आगामी १७ अप्रिल २०२६ (२०८३ वैशाख ४ गते) देखि प्रसारण हुनेछ। दर्शकले साँझ ६ बजेदेखि मोमो एपमा सम्पूर्ण एपिसोडहरू हेर्न पाउनेछन् भने हप्तामा भने म्युजिक नेपाल इन्टरटेनमेन्टको युट्युब च्यानलबाट सार्वजनिक गरिनेछ।
Shares

प्रतिक्रिया