कला


दर्जनौँ हिट नेपाली गीत दिएकी आशा भोसले, जो नारायणगोपालकी फ्यान थिइन्

दर्जनौँ हिट नेपाली गीत दिएकी आशा भोसले, जो नारायणगोपालकी फ्यान थिइन्

लक्ष्मी बलायर
चैत २९, २०८२ आइतबार १६:०, काठमाडौँ

चर्चित भारतीय गायिका आशा भोसलेको निधन भएको छ। उनको निधनसँगै सांगीतिक क्षेत्र शोकमा डुबेको छ। १२ हजारभन्दा बढी गीतहरूमा स्वर दिइसकेकी आशाको नेपालसँग पनि गहिरो साइनो छ। किनकि उनले पुराना हिट फिल्मका थुप्रै गीतमा स्वर भरेकी छिन्। पार्श्व गायनमार्फत उनी सारा नेपालीको मुटुमा बस्न सफल छिन्।

चाहे कालजयी फिल्म ‘माइतीघर’मा समावेश ‘यो हो मेरो प्राण भन्दा प्यारो माइतीघर’ होस् वा ‘प्रेमपिण्ड’ को ‘गैरी खेतको शिरै हान्यो’। ‘चिनो’ को ‘मोहनी लाग्ला है’, ‘तिम्रो मनमा लुकेको कुरा’देखि लाहुरेको ‘पहाडको माथिमाथि’। आफ्नो सुरिलो स्वरमार्फत उनी नेपालीको मनमुटुमा बसेकी छन्।

त्यस्तै, आशाले स्वर भरेका एउटा मान्छे मन पर्छ, म प्यार बेचिदिन्छु, चन्चले मन भुल्यो, नयाँनयाँ सजाऊँ है संसार, को होला मेरो मायालु लगायत गीतहरू निकै चर्चित छन्। रोचक के छ भने आशाले धेरैजसो निर्देशक तुलसी घिमिरेका फिल्ममा गीतमा स्वर भरेकी छिन्।

निर्देशक घिमिरे यतिखेर नेपालमा छन्। आठ वर्षपछि उनी फिल्म ‘पहाड’ लिएर आउँदैछन्। वैशाख १ गतेबाट रिलिज हुने फिल्मको आज साँझ प्रिमियर शो राखिएको छ। प्रिमियरको मुखैमा यस्तो अप्रिय खबर सुन्दा निकै दु:खी भएको सुनाउँछन् उनी।

‘उहाँले मेरा थुप्रै फिल्मको गीत गाउनुभएको थियो। भर्खर उहाँको निधन भएको खबर सुनेर कस्तो-कस्तो भइरहेको छ। हाम्रो धेरै राम्रो पारिवारिक सम्बन्ध थियो। तर, अहिले हामी अहिले सबै नेपालमा छौँ,’ उनले सुनाए।

तुलसीका अनुसार चर्चित संगीतकार रञ्जित गजमेरसँग गायिका आशाको पारिवारिक सम्बन्ध थियो। रञ्जित तुलसीका ससुरा समेत हुन्। पारिवारजस्तै मान्ने आशाले रञ्जितलाई साह्रै माया गर्थिन्। यतिसम्म कि उनले रञ्जितलाई मायाले ‘कान्छा’ भनेर बोलाउँथिन्। जसकारण आशा गजमेरले भनेका कुरा मान्थिन्। आशालाई नेपाली गीतसंगीतमा ल्याउन उनै गजमेरकै हात छ।

सन् १९८१ ताका पहिलोपल्ट आशाले निर्देशक घिमिरेको फिल्म ‘बाँसुरी’ मा स्वर दिएकी थिइन्। ‘मिर्मिरे साँझ’ बोलको गीतमा आशासहित उदित नारायणको स्वर सुन्न सकिन्छ। यस फिल्मका म्युजिक डारेक्टर रञ्जित गजमेर हुन्। जुन गीत निकै लोकप्रिय छ।

त्यसपछि आशाले तुलसीको अर्को हिट फिल्म ‘लाहुरे’का गीतहरू ‘साउने झरीमा’ र ‘पहाडको माथिमाथि’ समेत गाइन्। रञ्जित गजमेरको संगीत रहेको यी दुवै गीतका शब्द तुलसीसहित भारती घिमिरेका हुन्। भारती तुलसीकी श्रीमती हुन्। अझ ‘पहाडको माथिमाथि’मा त आशाले नेपालका स्वर सम्राट नारायण गोपालसँग सहकार्य गरेकी थिइन्।

घिमिरेका अनुसार विदेशी भाषा भए पनि नेपाली गीतप्रति आशाको छुट्टै लगाव थियो। विभिन्न भाषामा गाउने सोख भएकी उनले नेपालीलाई सधैँ आफ्नै भाषाजस्तै माया गरिन्। उनले देवनागरीमा लेखिएका नेपाली शब्दहरूको उच्चारणमा विशेष ध्यान दिन्थिन्। गीत रेकर्ड गरिसकेपछि उनी विनम्र भएर सोध्ने गर्थिन्: भयो? मेरो राम्रो भयो कि भएन भन्नु है, भएन भने पनि भनिहाल्नु है।

त्यस्तै, स्वरसम्राट नारायणगोपाल आशाका मनपर्ने गायक थिए। उनी नारायणगोपाललाई निकै सम्मान गर्थिन्। आशाले नारायणगोपालसँगै पहाडको माथिमाथि, मोहनी लाग्ला है, माया त माया हो गीत गाएकी थिइन्। रेकर्ड गर्दा उनी नारायण गोपालको स्वरको प्रशंसा गर्थिन्। उनलाई ‘भेरी गुड भ्वइस’ भन्थिन्। जुन कुरा निर्देशक घिमिरे स्मरण गर्छन्।

आशा नेपाललाई निकै माया गर्थिन्। बेलाबखत उनी नेपाली आइरहन्थिन्। अन्तिम पटक उनी २०७६ साल पुस १२ गते ‘म्युजिक जर्नी अफ रञ्जित गजमेर विथ आशा भोसले’ कार्यक्रमका आएकी थिइन्। जहाँ उनले रञ्जित गजमेरसँग सहकार्यसहित दर्जेनौँ गीतहरू गाइन्। त्यतिबेला नेपाली भाषामा पनि कुराकानी गरेको घिमिरेले सुनाए। तुलसी घिमिरेका अनुसार उनी सेटमा सबैलाई उत्तिकै माया गर्थिन्। र, सबैले उनलाई आदरपूर्वक दिदी भनेर सम्बोधन गर्थे।

तर, केही वर्षयता उनी श्वासप्रश्वासको समस्या झेलिरहेकी थिइन्। जसका कारण उनको आज ९२ वर्षको उमेरमा निधन भयो। गत वर्षमात्रै आफू श्रीमतीसहित भोसलेको घरमा पुगेको घिमिरेले उनले सुनाए।

भोसलेको भौतिक शरीर नभए पनि उनी आफ्ना कालजयी गीतमार्फत नेपाली श्रोताको मनमा गुञ्जिरहनेछिन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad