कला


यी हुन् वर्षभरि युट्युबमा सर्वाधिक हेरिएका १० गीत

यी हुन् वर्षभरि युट्युबमा सर्वाधिक हेरिएका १० गीत

लक्ष्मी बलायर
चैत २८, २०८२ शनिबार ९:३६, काठमाडौँ

गत वर्षझैँ उत्साहजनक नभए पनि २०८२ नेपाली गीतसंगीतका लागि राम्रै रह्यो। यो वर्ष सार्वजनिक भएका केही गीत दर्शकहरूले निकै रुचाए। टिकटकदेखि रिल्समा छाएका गीतले युट्युबमा करोडौँ भ्युज पाउन सफल भए।

प्रधानमन्त्री बन्नुअघि सार्वजनिक गरिएको बालेन्द्र शाहको गीत ‘जय महाकाली’ चर्चामा छायो। यो छिटो १० लाख भ्युज पाउनेदेखि २४ घण्टामा धेरै हेरिने गीतको रेकर्ड बनाउन सफल भयो।

गएको वर्ष नेपाली गीतसंगीतलाई निकै फापेको थियो। त्यसवर्ष आएका गीतहरूले ग्लोबल ट्रेन्डिङसम्मको यात्रा गर्दै युट्युबमा १० करोडबढी भ्युज पाएका थिए। तर, यसवर्ष सार्वजनिक गीतहरूले भने ५ करोड पनि कटाउन सकेनन्। जसले गतवर्षको तुलनामा यो वर्ष गीतसंगीतका लागि औसतनै देखिन्छ।

यद्यपि, यसपटक दुई दर्जन बढी गीत करोड क्लबमा प्रवेश गरेका छन्। जसमा चलचित्रका देखि लोक, आधुनिक, लोकदोहोरी र र्‍यापसम्म छन्। प्रशान्त शिवाकोटी, सुजन चापागाईं, झुमा लिम्बू, प्रकाश दुतराज, भिटेन र सज्जनराज वैद्यसम्मका संगीतकर्मीहरूका गीत बढी चले।

रोचक के छ भने धेरै हेरिएका १० गीतको सूचीमा चार वटा फिल्मकै गीत अटाएका छन्। यी हुन् युट्युबमा धेरै हेरिएका १० गीत:

१. न्याउली वनैमा
फिल्म ‘वरिष्ठ बलराम’ मा समावेश ‘न्याउली वनैमा’ यसवर्ष सर्वाधिक चलेको गीत हो। गत असोज ८ गते सार्वजनिक यस गीतलाई युट्युबमा ४ करोड ४४ लाख बढी पटक हेरिएको छ। जुन यसवर्षकै सबैभन्दा बढी भ्युज पाउने गीत हो।

यो गीत फिल्म रिलिजको एक महिनाअघि सार्वजनिक गरिएको थियो। गीतमा प्रशान्त शिवाकोटी र शान्तिश्रीको स्वर छ। प्रशान्तकै शब्द र संगीत रहेको गीतमा छोटो समयमै लोभलाग्दो भ्युज पाउन सफल भयो।

गीतको भिडिओमा विजय बराल र समृद्धि अर्याल फिचर्ड छन्। प्रेमिल शब्दमा तयार पारिएको गीतले मायालाई मनमा राखेको भाव व्यक्त गर्छ। गीतका हरफदेखि डान्सका स्टेपहरू टिकटकमा निकै भाइरल भएको थियो। गीत चले पनि फिल्मले भने बक्सअफिसमा खासै कमाल गर्न सकेन।

२. काफ्ले
सुपरहिट फिल्म ‘ऊनको स्वीटर’ को ‘काफ्ले’ गीत यसवर्ष युट्युबमा धेरै रुचाइएको दोस्रो हो। यस गीतलाई युट्युबमा ४ करोड ३६ लाखभन्दा बढी पटक हेरिएको छ। टिकटकदेखि रिल्समा चर्चित गीतमा युवराज काफ्लेको शब्द र झुमा लिम्बूको संगीत रहेको छ।

गीतमा झुमासहित चर्चित गायक सुजन चापागाईंले गीतमा स्वर भरेका छन्। फिल्मको कथासँगै जोडिएको गीतको भिडिओमा विपिन कार्की र मिरुना मगर फिचर्ड छन्। मिरुना अर्थात फूललाई प्रेमी विपिन (धरणीधर काफ्ले) ले फकाइरहेको प्रसंग गीतमा व्यक्त गरिएको छ। नवीन चौहानको डेब्यु निर्देशनमा बनेको फिल्म म्युजिकल लबस्टोरी जनरामा बनेको हो।

३. चाइनेजो जिन्दगानीमा
यसवर्ष धेरै हेरिएको गीतको तेस्रो नम्बरमा पनि फिल्म ‘ऊनको स्वीटर’कै गीत समावेश छ। लोकशैलीमा तयार पारिएको यस गीतमा सुजन चापागाईं र सलिना विकको स्वर रहेको छ।

गीतको भिडिओमा अभिनेता एलेक्स पारस र अभिनेत्री परीक्षा लिम्बूले नृत्य गरेका छन्। ‘दर्पण छाँया’ जोडी दिलिप रायमाझी र निरुता सिंहलाई समर्पित गर्दै निर्माणटिमले गीतको भिडिओ ल्याएको थियो। रोशन विकको कोरियाग्राफीमा एलेक्स र परीक्षाको नृत्य, भावभंगी र पहिरनले दिलिप र निरुताको जोडीको याद आउँछ।

हर्क साउदका शब्द रहेको यस गीतमा सुजन स्वयमले संगीत भरेका हुन्। गीतको एरेन्ज भने कुशल सिंह र विकेश बज्रले मिलेर गरेका हुन्। दर्शकलाई सरप्राइज दिन यो गीत रिलिजअघि सार्वजनिक गरिएको थिएन। तर, फिल्म रिलिज भएसँगै दर्शकहरूले यस गीतलाई मन पराउँदै क्लिपहरू राख्न थाले। जुन क्लिपहरू टिकटकदेखि सामाजिक सञ्जालमा भाइरल भएका थिए। यस गीतले हालसम्म ३ करोड ५९ लाख भ्युज पाएको छ।

४. पुतली, मया लाम्न हो
‘पुतली मया लाम्न हो’ यसवर्ष धेरै हेरिएको गीतको चौथो स्थानमा छ। भिष्मराज फुलाराको शब्द रहेको गीतमा आशिष अविरल र एलिना चौहानको स्वर सुन्न सकिन्छ।

रमाइलो शैलीको गीतमा राजेन्द्र बजगाईंको संगीत रहेको छ। सुनिल विकको निर्देशनमा बनेको गीतको भिडिओमा प्रदीप लामा र जुना सुन्दासको अभिनय छ। सियोन श्रेष्ठ गीतको कोरियोग्राफर हुन्। हालसम्म यस गीतले ३ करोड ५७ लाख भ्युज पाइसकेको छ।

५. आन्टी लभर
कला लम्सालको गीत ‘आन्टी लभर’ यसवर्ष धेरै हेरिने गीतको पाँचौँ नम्बरमा छ। रमेश परिवारको शब्द र संगीत रहेको गीतमा कलासहित आशिष अविरलको स्वर रहेको छ। गीतमा आशिषकै म्युजिक एरेन्ज छ।

मौसम हिमालीको निर्देशन रहेको गीतको भिडिओमा कला लम्साल र बद्रीप्रसाद तिवारीको अभिनय छ। टिकटक र रिल्समा निकै भाइरल यस गीतलाई हालसम्म ३ करोड ४१ लाख बढी भ्युज पाइसकेको छ।

६. छैन र माया
चर्चित लोकगायक प्रकाश दुतराजले ल्याएको ‘छैन र माया’ यसवर्ष धेरै रुचाइएको गीत हो। रिलिजसँगै यो गीत टिकटकदेखि सामाजिक सञ्जालमा भाइरल भएको थियो।

दसैँको अवसरमा सार्वजनिक यस गीतलाई ३ करोड ८ लाख पटक हेरिएको छ। दुतराजकै शब्द र संगीतमा बनेको गीत प्रेमिल खालको छ। गीतमा प्रकाशसहित मेलिना राईको स्वर सुन्न सकिन्छ। यस गीतमा कृष्ण केसीले संगीत संयोजन गरेका छन्। गीतको भिडिओमा प्रकाशसहित अञ्जली जिसी फिचर्ड छिन्।

यो सहित दुतराजकै अर्को गीत ‘राम साइँली’ लाई पनि दर्शकहरूले निकै मन पराएका छन्। यस गीतमा पनि प्रकाशकै शब्द, संगीत र स्वर रहेको छ। गायनमा प्रकाशलाई मेलिना राईले साथ दिएकी छिन्। यस गीतले पनि युट्युबमा १ करोड बढी भ्युज पाइसकेको छ।

७. झलिको
लोकगायक अर्जुन सापकोटाको ‘झलिको’ बोलको गीत पनि यसवर्ष निकै चर्चामा रह्यो। कात्तिक अन्तिम साता सार्वजनिक यो गीत टिकटक र रिल्समा लामै समयसम्म छायो।

कृष्ण रेउलेको थेगो रहेको गीतको शब्द सन्तोष सापकोटाले लेखेका हुन्। अर्जुनको संगीत भरेको गीतमा प्रदीप रोदनको कविता वाचन छ। अर्जुनसँगै गीतमा मेलिना राई र समीक्षा अधिकारीको स्वर छ। गीतमा प्रेमी जोडीको भावनाहरूलाई व्यक्त गरिएको छ।

भिडिओमा अर्जुन सापकोटा र कुसुम भण्डारीको अभिनय तथा नृत्य छ। साथमा शिवु पाण्डे, राजेन्द्र अर्याल, सन्तोष सापकोटा लगायत पनि देखिएका छन्।

गीतको चर्चासँगै गायक अर्जुनले करिअरमै ठूलो सफलता हात पारे। गीत सार्वजनिक भएसँगै उनी देशविदेशका मेलामहोत्सवमा निकै व्यस्त भए। र, अहिले पनि उनी सांगीतिक टुरमा विदेशमा छन्। निकै चर्चा बटुलेको यस गीतलाई युट्युबमा २ करोड ८६ लाख २१ हजार पटक हेरिएको छ।

८. जाने भए जाम माया
भ्लगर सिसन बानियाँ र गुराँस नानीसँगको सहकार्यमा दुर्गेश थापाले ल्याएको ‘जाने भए जाम माया’ यसवर्ष राम्रै चल्यो। यस गीतमा शब्द, संगीत र संगीत संयोजन दुर्गेशकै रहेको छ।

गीतमा दुर्गेशसहित सिसन र अल्हाजी गेरोको स्वर रहेको छ। गीतको भिडिओमा दुर्गेश, सिसन र गुँरास नानीसँगै अन्य कलाकारहरू छन्।

सामाजिक सञ्जालमा ट्रोल हुँदै आएकी गुराँशलाई दुर्गेशले गीतको भिडिओ खेल्न प्रस्ताव गरेका थिए। टिकटकदेखि रिल्समा निकै चलेको गीत युट्युबमा धेरै हेरिने गीतको आठौँ स्थानमा छ। यस गीतलाई २ करोड ७८ लाख बढी पटक हेरिएको छ।

९. डोको बुन्ने नियालो चोयाले
दिनेश राउत निर्देशित फिल्म ‘कुमारी’ मा समावेश गीत ‘डोको बुन्ने निगालो चोयाले’ यसवर्ष चर्चित बन्यो। सार्वजनिक भएसँगै टिकटकदेखि सामाजिक सञ्जालमा छाएको गीतमा केहरसिंह लिम्बूको स्वर रहेको छ।

सागर लामिछाने मगर र सुमन तामाङका शब्द रहेको गीतमा सुमन तामाङ र केहरले नै सङ्गीत भरेका छन्। शिशिर खातीको कोरियोग्राफी रहेको यस गीतको भिडिओमा फिल्मका मुख्य कलाकारहरू अबिषेक खड्का र आकृति राजभण्डारीलाई देख्न सकिन्छ। हालसम्म गीतलाई २ करोड ५८ लाख पटक हेरिएको छ।  

१०. शीरमा शिरबन्दी
समीक्षा अधिकारीको गीत ‘शीरमा शिरबन्दी’ यसवर्ष धेरै हेरिने गीतको सूचीमा परेको छ। सुजित खत्रीको शब्द रहेको गीतमा समीक्षासहित सुवास खत्रीको स्वर सुन्न सकिन्छ।

सुवासकै संगीत रहेको गीतलाई आकाश नेपालीले एरेन्ज गरेका हुन्। गीतको भिडिओमा प्रभात पाल ठकुरीसहित समीक्षा स्वयमको अभिनय छ। हालसम्म गीतलाई २ करोड ५५ लाख ५६ हजार पटक हेरिएको छ।

यसबाहेक बद्री पंगेनीको ‘झ्याप्पै’ २ करोड ४८ लाख, ‘स्याउली बजारमा’ २ करोड ४३ लाख, ‘अच्छा लेकिन’ २ करोड, ‘जुनेली’ १ करोड ९२ हजार भ्युज पाउन सफल भएका छन्। त्यस्तै, ‘नत्र भने जिन्दगी व्यर्थ छ’, ‘मायालाई के दिऊँ म बैना’ लगायतका गीत पनि करोड क्लबमा प्रवेश गरेका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad