आगामी बैशाख ११ गतेबाट रिलिज हुने फिल्म ‘परालको आगो’को अर्को गीत ‘निम्तो सुपारी’ सार्वजनिक भएको छ। ओएसआरको युटुब च्यानलमार्फत सार्वजनिक गीतमा सत्यराज आचार्य र मेलिना राईले स्वर दिएका छन्।
सुरेन्द्र रानाको शब्द रचना रहेको गीतमा सत्यसहित स्वरुप आचार्यले संगीत भरेका छन्। यस गीतलाई म्युजिक प्रोडक्सनको काम रिकेश गुरुङको छ।
फिल्मको गीतको भिडियोमा फिल्मका मुख्य कलाकार सुहाना थापा,प्रकाश सपुतको जोडी देखिएका छन् भने अर्का जोडी सौगात मल्ल र सिर्जना अधिकारी देखिएका छन्। उनीहरुको केमेष्ट्री मिलेको देखिन्छ। ग्रामिण परिवेशको यस गीतको भिडियोलाई कोरियोग्राफी रामजी लामिछानेले गरेका हुन्।
यसअघि यो फिल्मको ‘उडि जाउँ भने,म पंक्षी होइन’बोलको गीतले दर्शकमाझ लोकप्रियता कमाई रहेको छ। अब अर्को गीतले पनि दर्शकमाझ लोकप्रियता कमाउने देखिन्छ।
गुरु प्रसाद मैनालीको अमर कृति ‘परालको आगो’बाट प्रेरित यस फिल्ममा सुहाना थापा,सौगात मल्ल,प्रकाश सपुत,सिर्जना अधिकारी, किशोर भण्डारी, ज्याक श्रेष्ठ, सरिता भण्डारी, रेणु न्यौपाने र बाल कलाकार मन्जिला बानियाँ लगायतले अभिनय गरेका छन्। लक्ष्मण सुनारले निर्देशन गरेको यस फिल्ममा संकल्प भुजेलको छायांकन रहेको छ।
हरि ॐ सिने मेकर्स प्रा.लि.को ब्यानरमा निर्माण भएको यस फिल्ममा सुशील पोखरेलको लगानी रहेको छ। फिल्मको पटकथा तथा संवाद सुशील देवकोटाले लेखेका छन्।
Shares

प्रतिक्रिया