आगामी वैशाख २५ गतेदेखि रिलिज हुने फिल्म ‘मालती मंगले’को टिजर सार्वजनिक भएको छ। गायक रामकृष्ण ढकालको निर्माण रहेको फिल्मको टिजरले गाउँले परिवेशमा आधारित रोचक र मार्मिक प्रेमकथालाई समेटेको छ।
केही वर्ष पुरानो ग्रामीण समाजको पृष्ठभूमिमा खिचिएको यस टिजरमा प्रेम, विश्वास र शङ्काका विभिन्न पाटाहरूलाई कलात्मक रूपमा प्रस्तुत गरिएको छ। टिजरमा विजय बराल र वर्षा राउतको भेटदेखि विवाहसम्मको यात्रा प्रस्तुत गरिएको छ।
एउटा संवादमा विजयले वर्षासँग ‘मेरो कारणले जुन दिन तिम्रो आँखामा आँसु आउँछ, त्यो दिन मंगले मरेसरह हुन्छ’ भन्दै गरेको प्रेममय वाचा सुनिन्छ। तर, विवाहपछिको जीवन भने त्यति सहज देखिँदैन। टिजरको उत्तरार्धमा गाउँलेहरूको अगाडि विजयले वर्षालाई कुटपिट गर्दै ‘तैँले मलाई धोका दिइस्’ भन्दै आक्रोश पोखेका छन्। जसमा मालती (वर्षा) अचम्मित र भावुक देखिएकी छिन्।
अर्का मुख्य कलाकार मेक्सम गौडेलले विजयलाई गाली गर्दै गरेको दृश्यले कथामा द्वन्द्वको सङ्केत गर्छ।
रानी फिल्म्सको ब्यानरमा युनि इन्टरटेन्मेन्टको सहकार्य रहेको फिल्म प्रकु पाण्डेयको निर्देशनमा बनेको हो। फिल्मको कथा स्वयं निर्देशक पाण्डेयले लेखेका हुन् भने पटकथा तथा संवाद संयोग गुरागाईँको रहेको छ।
निर्माता ढकालका अनुसार यो चलचित्र राष्ट्रकवि माधवप्रसाद घिमिरेको गीतिनाटक नभई हाम्रै समाजको परिवेशमा आधारित एक फरक साङ्गीतिक प्रेमकथा हो। फिल्ममा विजय, वर्षा र मेक्समसहित नरिन थापा, मान्सु सापकोटा, प्रकाश घिमिरे, सरिता गिरी, सुस्मा निरौला लगायतको अभिनय छ। चलचित्रका कार्यकारी निर्माता सागर ज्ञवाली हुन्।
Shares

प्रतिक्रिया