अमेरिकामा रहेकी एक युवतीले जबर्जस्ती करणीको आरोप लगाएपछि कलाकार सागर लम्साल बले पक्राउ परिसकेका छन्।
ती युवतीले आफू बलात्कृत भएको खुलासा गरेपछि यतिबेला सामाजिक सञ्जालमा उनीविरुद्ध आक्रमण भइरहेको छ।
यसैबिच गायिका समीक्षा अधिकारीले पीडित युवतीका पक्षमा बोल्दै आफ्नो बह पोखेकी छन्।
मर्मस्पर्शी स्टाटस लेख्दै उनले पीडितको घाउलाई अरूसँग तुलना नगर्न र समाजलाई संवेदनशील बन्न आग्रह गरेकी छन्।
समीक्षाले आफू १८ वर्ष पनि नपुग्दै समाजको क्रूर व्यवहारसँग एक्लै लडेको स्मरण गरेकी छन्।
उनले लेखेकी छन्, ‘हुन त म त्यो घटनाबाट धेरै टाढा र अगाडि बढिसकेकी छु, तर ती दिनहरू सम्झिँदा आज पनि मन भित्रैदेखि चिरिन्छ। यो समाजले मलाई बाँच्न कहाँ दिएको थियो र? म दिनदिनै मरीमरी बाँच्थेँ।’
त्यतिबेला परिवारबाहेक कसैको साथ नपाएको र कसैले साथ दिन खोज्दा उनीहरूकै चरित्रमाथि औँला उठाइएको उनले उल्लेख गरेकी छन्।
पीडित युवतीलाई किन ढिला बोलिस्, त्यतिबेलै किन उजुरी गरिनस् जस्ता प्रश्नप्रति टिप्पणी गर्दै समीक्षाले लेखेकी छन्, ‘तपाईंहरूलाई के थाहा, त्यतिबेला कस्तो अवस्था थियो? छोरी मान्छे भएपछि डरले र समाजको दबाबले कति कुरा मनमै दबाउनुपर्छ। मन मिल्दा चमत्कारु र नमिल्दा बलात्कार भन्ने सोचले झन् पीडा दिन्छ। मलाई नै गलत भन्ला कि भन्ने डरले आत्मा नै थिचिन्छ।’
उनले पीडितलाई सजिलै नराम्रो भन्नुअघि आफ्नै घरका दिदीबहिनी र छोरीहरूलाई सम्झन आग्रह पनि गरेकी छन्।
आफू सधैँ पीडितहरूको साथमा रहेको बताउँदै उनले दोषीलाई कडाभन्दा कडा कारबाही माग गरेकी छन्।
Shares

प्रतिक्रिया