कला


तुलसी घिमिरे निर्देशित ‘पहाड’ को पहिलो गीत सार्वजनिक

तुलसी घिमिरे निर्देशित ‘पहाड’ को पहिलो गीत सार्वजनिक

नेपालखबर
चैत ९, २०८२ सोमबार १७:५६, काठमाडौँ

तुलसी घिमिरेको निर्देशनमा तयार भएको फिल्म ‘पहाड’ को पहिलो गीत ‘मोहनी लगाउने' सार्वजनिक भएको छ। सोमबार सार्वजनिक गरिएको गीतमा नव अभिनेत्री पञ्चमी घिमिरे र अरुण क्षेत्री फिचर्ड छन्।

 निर्देशक तुलसी घिमिरेको शब्द रहेको गीतमा  रञ्जित सिंह गजमेरले संगीत भरेका छन्। गीतमा भारती घिमिरे, साकार आप्टे, मदनकृष्ण श्रेष्ठ, अश्मिता अधिकारीको स्वर रहेको छ। उक्त गीतमा अभिनेता विपिन कार्कीको र्‍याप सुन्न सकिन्छ।

उक्त गीतलाई कविराज गहतराजले नृत्य निर्देशन गरेका हुन् ।

निर्देशक घिमिरेले केही वर्षको अन्तरालमा कथावस्तु छनोट गरेर फिल्म तयार गरेको बताए। ‘यो विषयलाई फिल्मको माध्यमबाट आम दर्शकसम्म पुर्याउनु पर्छ भन्ने लागेर मैले फिल्म बनाएको हुँ । यसमा मनोरन्जनसँगै एउटा महत्वपूर्ण संदेश पनि छ । यो गीतले पनि त्यसमा केही सङ्केत गरेको छ’, निर्देशक घिमिरेले भने ।  

ग्रामीण परिवेशमा छायांकन गरिएको यो गीत नृत्यप्रधान र मिठासपूर्ण लाग्छ। ग्रामीण सौन्दर्य, धन कमाउन युवाले गाउँ छाड्नुपर्ने बाध्यता, सहरभन्दा गाउँ उपयुक्त रहेको लगायतका सन्देश गीतमा छ ।

गीत सार्वजनिक कार्यक्रममा चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डिसीले निर्देशक घिमिरेको निर्देशकीय यात्रा र उहाँको परिवाले नेपाली फिल्ममा दिनुभएको योगदानको चर्चा गरे ।

‘तुलसी दाइको परिवारनै यही फिल्ममा लागेर आफ्नो जीवन समर्पण गर्नुभएको छ । यो फिल्मबाट उहाँकी कान्छी छोरी पन्चमी पनि फिल्ममा आएकी छिन्, यो परिवारको समर्पणलाई हामीले सम्मानसहित कदर गर्नु पर्छ । तुलसी दाइको फिल्मको कथ्यशैलीको म सधैँ प्रसंशक हुँ, यसबाट पनि निकै आशावादी छु', अध्यक्ष डिसीले भने ।

वैशाख १ गते अर्थात् नयाँ वर्षको दिन प्रदर्शन हुने उक्त फिल्ममा युवा जनशक्ति विदेश पलायन हुँदा खाली भएका पहाड र यसले ल्याउने सामाजिक र आर्थिक समस्यालाई चित्रण गरिएको लेखकसमेत रहेका निर्देशक घिमिरेले बताए ।

भारतमा फिल्म, वेबसिरिज र टेलीफिल्मसमेत छायाङ्कन गरिसकेका छायाँकार प्रधानले निर्देशक घिमिरेसँग ‘अन्याय’, ‘कोसेली’, ‘चिनो’ र ‘दक्षिणा’ लगायतका फिल्ममा सहकार्य गरेका छन् ।

फिल्ममा विपीन कार्की, सुनिल थापा, मदनकृष्ण श्रेष्ठ, रेनुनाथ योगी, अरुण क्षेत्री, रवीन्द्रसिंह बानियाँ, उमा गिरीलगायतका कलाकारको अभिनय रहेको छ । निर्देशक घिमिरेले कान्छी छोरी पञ्चमी घिमिरेलाई यसै फिल्ममार्फत अभिनेत्रीको रुपमा दर्शकसामु ल्याएकाछन् । यस्तै, फिल्मको प्राविधिक टिममा निर्देशक घिमिरेकी जेठी छोरी भावना घिमिरेले प्रोडक्सन डिजाइनरको जिम्मेवारी सम्हालेकी छिन् ।

उत्तम रसाइली प्रस्तुतकर्ता रहेको फिल्ममा सुरेन्द्र लामा थिङ, ओजस्वी केसी, रिम्पोछे लामा थिङ, दमन्ती रसाइली र उमा गिरी निर्माता रहेका छन् । उक्त फिल्ममा भारती घिमिरे क्रिएटिभ निर्माता रहेकी छिन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad