‘बिन्ध्यवासिनी म्युजिक अवार्ड’ को सोह्रौं संस्करण आगामी चैत २७ गते आयोजना गरिने भएको छ। काठमाडौँमा हुने १६औँ बिन्ध्यवासिनी म्युजिक अवार्डमा प्रदान गरिने विभिन्न सम्मान तथा पुरस्कारको घोषणा गरिएको छ।
बिन्ध्यवासिनी फाउण्डेसनको हालै सल्लाहकार समिति तथा कार्य समितिको संयुक्त बैठकले मुक्तिनाथ विकास बैंकको प्रस्तुति रहने रमपम बिन्ध्यबासिनी म्युजिक अवार्ड २०८२ मा सम्मानित र पुरष्कृत हुनेको नाम सार्वजनिक गरेको हो।
समारोहमा संगीतकार शम्भुजीत बास्कोटालाई एक लाख रुपियाँ नगद र सम्मानपत्रसहित बिन्ध्यावसिनी म्युजिक लाइफटाइम अचिभमेन्ट अवार्ड २०८२ बाट सम्मानित गरिनेछ। त्यस्तै, ५० हजार रुपियाँ नगद र सम्मानपत्रसहित यसपटकको बिन्ध्यवासिनी संगीत साधना सम्मान २०८२ बाट गीतकार बिजय शिवाकोटी र २५ हजार रुपियाँ नगद र सम्मानपत्रसहित पत्रकार पवन आचार्यलाई बिन्ध्यावसिनी कला पत्रकारिता सम्मान २०८२ बाट सम्मानित गरिनेछ।
बिन्ध्यवासिनी फाउण्डेसनका सल्लाहकार तथा गायक स्व. प्रेमध्वज प्रधानप्रति श्रद्धासुमनसहित उनको नाममा रहेको प्रेमध्वज संगीत रत्न सम्मानबाट यो बर्ष २५ हजार रुपियाँ नगद र सम्मानपत्रसहित गायिका रचना रिमाललाई सम्मानित गरिनेछ। लोक गायक झलकमान गन्धर्वको नाममा स्थापित झलकमान लोक–संगीत सम्मान २०८२ बाट,२५ हजार रुपियाँ नगद र सम्मानपत्रसहित लोक दोहोरी गायक पशुपती शर्मालाई सम्मान गरिने छ।
यस बर्षबाट अवार्डको बिधा घटाइएको विन्ध्यवासिनी फाउण्डेसनकी अध्यक्ष लीना रेग्मीले जानकारी दिइन्। उनका अनुसार यस वर्षबाट पब्लिक च्वाईस अवार्डसमेत गरी कुल ११ बिधामा अवार्ड प्रदान गरिनेछ। यसै वर्षबाट हरेक बिजेतालाई ट्रफीसहित ५ हजार रुपियाँ नगदसमेत प्रदान गरिनेछ।
बिन्ध्यवासिनी म्युजिक अवार्डको १६औं संस्करण आगामी चैत्र २७ गते राष्ट्रिय नाचघर जमलमा आयोजना गरिने अवार्डका सञ्चालक सुवास रेग्मीले जानकारी गराए।
Shares

प्रतिक्रिया