बेलायतको स्कटल्यान्डका ट्रमाटिक ब्रेन इन्जुरी (मस्तिष्कमा गम्भीर चोट) भोगेका व्यक्तिहरूको प्रेरणादायी सगरमाथा यात्रामा आधारित डकुमेन्ट्री फिल्म ‘द एभरेस्ट ड्रिम’ नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव (निफ) मा प्रिमियर हुने भएको छ।
फिल्मले गम्भीर दुर्घटनापछि जीवनसँग संघर्ष गरिरहेका केही व्यक्तिहरूले देखेको असाधारण सपनाको कथा प्रस्तुत गर्छ। चिकित्सकले फेरि राम्रोसँग हिँड्न, बोल्न वा सामान्य जीवन जिउन कठिन हुने बताइएका उनीहरूले हार नमानी नेपाल आएर सथरमाथा आधारशिविरसम्म पुग्ने लक्ष्य राखेका थिए।
फिल्ममा स्कटल्यान्डबाट सुरु भएको यात्रा, काठमाडौँ आगमन र त्यसपछि खुम्बु क्षेत्र हुँदै सगरमाथा आधारशिविरतर्फको कठिन तर भावनात्मक यात्रालाई देखाइएको छ। फिल्म गणेश पाण्डेले निर्देशन गरेका हुन्।

फिल्मले ब्रेन इन्जुरीपछि पनि जीवनमा नयाँ सपना देख्न सकिन्छ भन्ने सन्देश दिने निर्देशक पाण्डे बताउँछन्। चैत २२ गते काठमाडौँमा हुने निफमा प्रिमियरपछि संसारका विभिन्न अन्तर्राष्ट्रिय चलचित्र महोत्सवमा प्रदर्शन हुने निर्देशक पाण्डेले बताए।
यसमा एशोसियट निर्मात्री शारदा गैरे, क्यामेरापर्सन सुरेश श्रेष्ठ र निरज पन्थी, सम्पादक ईश्वर कोइराला, संगीतकार जुगल डंगोल र सन्दीप सरदार तथा न्यारेटर कौशल घिमिरेको रहेको छ।
Shares

प्रतिक्रिया