फागुन १ गतेबाट ‘बिगुल’, ‘श्री बुकुरो’ र ‘शिवांश’ एकसाथ रिलिज भए। हलमा ‘आ बाट आमा’ को दबदबा हुँदा यी फिल्मले खासै दर्शक तान्न सकेनन्।
दर्शक नआएपछि निर्मातालाई तनाव भयो। जसकारण उनीहरूले चुनावको बहाना देखाउँदै हलबाट आफ्नो फिल्म उतार्नेतर्फ लागे।
सुरुमा प्रदर्शनको पाँचौँ दिनमा ‘बिगुल’ लाई निर्माण टिमले चुनावलाई कारण देखाउँदै हलबाट उत्रार्ने निर्णय गरेको थियो। त्यसपछि ‘श्री बुकुरो’ र ‘शिवांश’ को निर्माण टिमले पनि विज्ञप्ति निकाल्दै आफ्नो प्रदर्शन रोक्ने निर्णय गर्यो। यी दुवै फिल्मले पनि प्रदर्शन स्थगित गर्नुको कारण भने चुनावको संवेदनशिलतालाई देखाएको थियो।
यी तीनै फिल्म फागुन ६ बाट हलमा छैनन्। ‘बिगुल’ र ‘शिवांश’ को रिलिज मिति तोकिएको छैन भने ‘श्री बुकुरो’ भने आगामी वैशाख १८ देखि रिलिज हुने भएको छ।
सोमबार चलचित्र विकास बोर्डले पछिल्ला प्रदर्शनमा आएका फिल्मको कमाइ सार्वजनिक गरेको छ। जुन रिपोर्टअनुसार हलबाट उत्रारिएका यी तीनै फिल्मको व्यापार न्युन छ। पाँच दिनमा तीनै फिल्मको कमाइ १५ लाख रुपैयाँ पनि पुग्न सकेको छैन।
‘बिगुल’ ले पाँच दिनमा ८ लाख ९७ हजार ४१० कलेक्सन गरेको छ। जसको २ हजार ६०१ टिकट बिक्री भएका छन्।
त्यसैगरि, ‘श्री बुकुरो’ ले २ लाख ७२ हजार ९३० कमाउँदा ‘शिवांश’ २ लाख ६१ हजार ७५० पुगेको छ। यी दुवै फिल्मलाई एक हजार जनाले समेत हेरेका छैनन्। फरक फरक कथावस्तुमा बनेका नेपाली फिल्मले मल्टिप्लेक्स हलबाट न्युन शो पाएका थिए।
सुदीप भुपाल सिंहको लेखन तथा निर्देशन रहेको ‘श्री बुकुरो’ पारिवारिक कथावस्तुमा बनेको फिल्म हो। यस फिल्ममा लक्ष्मी गिरी, आशीर्वाद क्षेत्री, निकिता आचार्य, रोशनी कार्की, मोहन निरौला, उत्तम न्यौपाने, रामबाबु रेग्मी, राजन इशान, लय संग्रौला लगायतको अभिनय छ।
अर्को फिल्म ‘बिगुल’ राजनीतिक विषयवस्तुमा आधारित छ। रमेश कोइराला निर्देशित यस फिल्ममा नीर शाह, रमेश बुढाथोकी, बेनिशा हमाल, नरेन खड्का, सरोज खनाल, हेमन्त बुढाथोकी, शिशिर वाङ्देल, मीरा पण्डित लगायतको अभिनय छ। दिनेश कोइराला निर्माता रहेको फिल्मको कल्पना पौडेल प्रस्तुतकर्ता हुन्।
त्यस्तै, ‘शिवांश: च्याप्टर १’ मा प्रवीण खतिवडा, तेज गिरी, रुषा न्यौपाने, विमला लिम्बू, विकाश जोशी, प्रदीपकुमार चौधरी, टीका निरौला लगायतको अभिनय छ। सन्तोषकुमार आत्रेयको निर्देशनमा बनेको ‘शिवांश’को कथा हिन्दू पौराणिक कथा र समुद्र मन्थनको प्रसंगमा आधारित छ।
Shares

प्रतिक्रिया