गृहमन्त्री ओमप्रकाश अर्याल र नेपालका लागि संयुक्त राष्ट्रसंघका नवनियुक्त आवासीय संयोजक लिला पिटर्स याहियाबीच शिष्टाचार भेटवार्ता भएको छ।
सोमबार गृह मन्त्रालयमा भएको भेटवार्तामा मन्त्री अर्यालले संयुक्त राष्ट्रसंघले शासकीय सुधार, जलवायु परिवर्तन र स्थानीय तहको क्षमता अभिवृद्धिलगायतका क्षेत्रमा नेपाललाई पुर्याउँदै आएको सहयोगको लागि धन्यवाद व्यक्त गरेका छन्। राष्ट्रसंघसँगको सहकार्य अगामी दिनमा थप प्रगाढ हुने अर्यालले विश्वास जनाएका छन्।

राष्ट्रसंघका आवासीय संयोजक पिटर्स याहियाले नेपाल सरकारसँगको सहकार्यलाई निरन्तरता प्रदान गरिने बताउँदै नेपालमा लागूऔषध नियन्त्रण, सीमा सुरक्षा, मानव बेचविखन लगायतका क्षेत्रमा थप सहयोग र सहकार्य विस्तार गर्ने विषयमा चासो राखेकी थिइन्।
शिष्टाचार भेटमा गृहमन्त्री अर्यालले फागुन २१ को प्रतिनिधि सभाको निर्वाचनमा शान्ती सुरक्षा कायम गरी भयरहीत वातावरणमा निष्पक्ष निर्वाचन सम्पन्न गरी लोकतन्त्रलाई संस्थागत गर्ने कार्य सरकारले तीव्र रुपमा काम गरिरहेको जानकारी दिएका थिए।
Shares

प्रतिक्रिया