यतिखेर नेपाली सिनेमा हलहरू ‘आ बाट आमा’ को कब्जामा छ भन्दा फरक नपर्ला! किनकि माघ १६ गतेबाट प्रदर्शनरत यस फिल्मले बक्सअफिसमा १० करोड रूपैयाँको व्यापार गरिसकेको छ। अझै पनि हलमा दर्शकहरूको उत्साहजनक उपस्थिति छ।
माघमा ‘आ बाट आमा’ सहित फरकफरक जनराका आठ वटा फिल्म रिलिज भएका थिए। फागुन १ मा पनि तीन वटा नेपाली फिल्म प्रदर्शन भए। तर, यी कुनै पनि फिल्मले बक्सअफिसमा जादु देखाउन सकेनन्। पारिवारिक ड्रामा ‘आ बाट आमा’लाई भने दर्शकहरूले निकै रुचाए।
अरु निर्माताहरूले फिल्म नचलेपछि चुनावको कारण देखाउँदै हलबाट फिल्म नै उतारे। जसमा द ब्लु लाइटदेखि बिगुल, बुकुरो र शिवांश पर्छन्। तर, चौथो सातामा पनि ‘आ बाट आमा’ हेर्न दर्शकहरू हलसम्म पुगिरहेका छन्। यसले दर्शकहरूलाई पारिवारिक कथाले बढी तानिरहेको देखाउँछ। गत वर्षयता सर्वकालीन ब्लकबस्टरदेखि धेरै कमाउने फिल्महरूको सूचीमा पारिवारिक ड्रामा बढी छन्।
केही वर्षअघि कमेडी ड्रामाको वर्चस्व थियो। जसले, जात्रा, कबड्डी र छक्कापञ्जा सिरिज जस्ता फिल्महरू बक्सअफिसमा सर्वाधिक कमाइ गर्न सफल भए। तर, २०८१ यता भने त्यस ट्रेन्डमा ब्रेक लागेको छ।
अघिल्लो वर्ष फरकफरक जनराका चले। त्यस वर्ष सामाजिक कथावस्तुमाथिको ‘बोक्सीको घर’देखि मगर समुदायमाथि बनेको ‘घरज्वाइँ’, राई समुदायमा केन्द्रित ‘गाउँ आएको बाटो’ सफल भए। त्यस्तै, डोल्पाको बहुपति प्रथाको कथा ‘शाम्बाला’ पनि रुचाइयो। लामो समयदेखि नेपालमा एक्सन फिल्म चलिरहेको थिएन। तर, ‘१२ गाउँ’ ले एक्सन फिल्मको सम्भावना देखाइदियो। कमेडी फिल्म ‘छक्का पञ्जा ५’ चल्दा बायोपिक ‘अञ्जिला’ ले समेत राम्रो पैसा कमायो।
अझ पारिवारिक सामाजिक कथावस्तुमा बनेको ‘पूर्णबहादुरको सारंगी’ ले त इतिहास नै रचिदियो। ४६ करोड बढी व्यापार गरेको यो नेपालकै सर्वाधिक कमाइ गर्ने फिल्म हो।
फ्यामिली सोसल ड्रामा ‘पूर्णबहादुरको सारंगी’ मा बाबु र छोराबीचको भावनात्मक सम्बन्धको कथा छ। गन्धर्वले बाबुले सारंगी रेट्दै आफ्नो छोराको लागि गरेको संघर्ष र त्यागको कथा फिल्मको केन्द्रमा छ। जुन मार्मिक कथालाई दर्शकले आफ्नैजस्तो महसुस गरे। हलमा दर्शकहरूको घुइँचो लाग्यो। त्यतिबेला फिल्म हेरेर दर्शकहरू रोइरहेको भिडिओ सामाजिक सञ्जालमा निकै भाइरल भएका थिए।
‘पूर्णबहादुरको सारंगी’ ब्लकबस्टर भएसँगै पछिल्लो समय पारिवारिक र सामाजिक ड्रामाका फिल्म चल्न थालेका छन्। अरु जनराका फिल्महरूमा खासै दर्शक नहुँदा पारिवारिक कथावस्तुमा दर्शकहरू झुमिन थालेका छन्।
‘पूर्णबहादुरको सारंगी’ रिलिज भएको एक वर्षपछि फेरि पारिवारिक फिल्मको माहोल देखियो। गत कार्तिक १५ गतेदेखि ‘परान’ मा पनि दर्शकहरूको निकै भिड देखियो। दीपकप्रसाद आचार्य निर्देशित यस फिल्ममा उद्योगपति शेखर गोल्छा र रञ्जित आचार्यले निर्माण गरेका हुन्।
यस फ्यामिली ड्रामामा बुवा र सन्तानबीचको भावनात्मक सम्बन्धको कथा छ। समसामयिक नेपाली समाज देखाउने ‘परान’को कथामा विदेशमोहदेखि बुढेसकालमा सन्तान टाढा हुँदाको मनस्थितिलाई देखाइएको छ। जुन कथालाई दर्शकहरूले आफूसँग रिलेट गरे।
यो फिल्म रिलिज हुँदा पनि दर्शकहरू रुँदै गरेको भिडिओ छ्यापछ्याप्ती आए। जुन भिडिओ देखेर पनि फिल्म हेर्नेको संख्या बढ्दै गयो र यो फिल्म सुपरहिट बन्यो। नेपालमा १८ करोड बढी व्यापार गरिसकेको यो फिल्म हालसम्म यसवर्षको धेरै कमाउने फिल्म हो। त्यसैगरि, यो सर्वाधिक कमाइ गर्ने फिल्मको चौथो स्थानमा छ।
यस फिल्ममा नीर शाह शीर्ष भूमिकामा छन्। नीरसहित फिल्ममा मदनकृष्ण श्रेष्ठ, पूजा चन्द, महेश त्रिपाठी, अञ्जना बराइली, केकी अधिकारी, प्रवीण खतिवडा, बुद्धि तामाङ लगायतको अभिनय छ।
‘परान’पछि रिलिज भएका नेपाली फिल्म खासै चल्न सकेनन्। अझ मंसिर र पुसमा रिलिज भएका कतिपय फिल्म त दर्शकले हलमा आएको/गएको समेत पत्तो पाएनन्। तर, चन्द्र पन्तको निर्देशन र लेखन रहेको ‘आ बाट आमा’ रिलिजपछि भने नेपाली बक्सअफिसले तीन महिनापछि हिट फिल्म पाएको छ। रोचक के छ भने यो फिल्म पनि पारिवारिक कथावस्तुमा बनेको हो।
वैदेशिक रोजगारीको पृष्टभूमि रहेको ‘आ बाट आमा’मा आमाछोराको भावनात्मक सम्बन्धको कथा प्रस्तुत गरिएको छ। यस फिल्मको मार्मिक कथालाई नेपाली दर्शकहरूको ध्यान तानिरहेको छ। रिलिजदेखि नै यो फिल्म हेर्दा दर्शकहरू रोइरहेको र 'बेहोस' समेत भएको भिडिओ सार्वजनिक भए। त्यसपछि निर्माण टिमले एक विज्ञप्ति निकाल्दै माफी समेत मागेको थियो। जुन भिडिओहरूले फिल्ममा दर्शकहरूको ध्यान अझै तानेको देखिन्छ।
अझ चुनावका कारण हलमा अरु फिल्महरू नहुँदा ‘आ बाट आमा’लाई चिठ्ठा परेको छ। यस फिल्ममा विपना थापा, प्रदीप रावत (गजनी भिलेन), पल शाह, साइग्रेस पोखरेल, उषा उप्रेती, सिम्रन पन्त, रचना गौतम लगायतको अभिनय छ।
पारिवारिक र सामाजिक कथावस्तुमा बनेका फिल्म अत्यधिक रुचाइए पनि यसवर्ष प्रेमकथानक फिल्मले दर्शकको मन जिते। वैशाखमा रिलिज भएको ‘ऊनको स्विटर’ देखि असोज ३१ गते रिलिज भएको ‘जेरी अन टप’ बक्सअफिसमा हिट भए। विपिन कार्की र मिरुना मगर अभिनीत फिल्म ‘ऊनको स्विटर’ ले ११ करोड ५१ लाख कमाइ गरेको छ। त्यसैगरी, अनमोल केसीको मुख्य भूमिका रहेको ‘जेरी अन टप’ले भने नेपालभर १२ करोड ९७ लाख ४८ हजार कलेक्सन गरेको छ।
Shares

प्रतिक्रिया