गत कात्तिक १५ मा रिलिज भएको ‘परान’पछि कुनै नेपाली फिल्मले लगानी उठाउन सकेन। अझ मंसिर र पुसमा रिलिज भएका कतिपय फिल्म त दर्शकले हलमा लागेको समेत पत्तो पाएनन्। माघमा आठ वटा नेपाली फिल्म रिलिज भए। जसमध्ये ‘आ बाट आमा’ले बक्सअफिसमा उछाल ल्याएको छ। चलचित्र विकास बोर्डका अनुसार यस फिल्मको कमाइ ९ करोड हाराहारी पुगेको छ। यससँगै तीन महिनापछि नेपाली बक्सअफिसले हिट फिल्म पाएको छ।
‘ह्रस्व दीर्घ’बाट निर्देशनमा डेब्यु गरेका चन्द्र पन्तको ‘आ बाट आमा’ दोस्रो निर्देशकीय हो। फिल्ममा पन्तकै पटकथा र लगानी छ। फिल्मको सफलतापछि उनै निर्देशक तथा लेखक चन्द्र पन्तसँग नेपालखबरले गरेको कुराकानी:
‘आ बाट आमा’ले निकै राम्रो व्यापार गरिरहेको छ, यो किसिमको सफलता सोच्नुभएको थियो?
फिल्म राम्रो बनेको छ भन्नेमा हामी शत प्रतिशत विश्वस्त थियौँ। हाम्रो टिम नै फिल्म चल्छ भन्नेमा ढुक्क थियो। तर, कति चल्छ भन्ने चाहिँ थाहा थिएन। असफल हुँदैन भन्ने चाहिँ विश्वस्त थिएँ।
यस फिल्मको कथा पाँच वर्षअगाडि लेखेको थिएँ। फिल्ममा हाम्रै वरिपरि भोगेको र देखेको घटना छ। जसकारण सबैले मन पराउनुभएको छ। जसको लागि सबै दर्शकलाई धन्यवाद भन्न चाहन्छौँ। यस्तो अवस्था र फिल्मको माहोल नभएको बेला पनि यति धेरै माया गर्नुभएको छ।
‘परान’पछि कुनै पनि नेपाली फिल्म चल्न सकेन। तीन महिनापछि बक्सअफिसले बल्ल हिट फिल्म पाएको छ। ‘आ बाट आमा’ के कारणले चलेजस्तो लाग्छ?
फिल्म रिलिज भएपछि हामी हलमा देशभरि पुग्यौँ। उहाँहरूको प्रतिक्रिया सुन्दा सबैले यो कथा मेरो हो, मैले भोगेको छु भन्नुभयो। कसैले मेरो श्रीमानलाई यस्तो भएको थियो भनेर सुनाउनुभयो। कसैले मेरो छोरा वा दाइलाई पनि यस्तै भएको भन्दै प्रतिक्रिया दिनुभयो।
रिलिजअघि पनि मैले यो फिल्म तपाईंहरूले आफ्नो मान्नुहुनेछ भनेको थिएँ। सबैले यसलाई आफ्नो कथा मान्नुभयो। आफूले देखेको र सुनेका घटना हुँदा दर्शकलाई मन पराउनुभयो जस्तो लाग्छ।
‘पूर्णबहादुरको सारंगी’पछि रुवाउने फिल्मको लहर आइरहेको छ। तपाईंलाई पनि रुवाउने फिल्म देखाएर दर्शक तानेको आरोप छ नि?
सुरुमा त नै फिल्म राम्रो हुनुपर्छ। दर्शक त हरेक फिल्ममा रुन्छन्, हाँस्छन् र रमाइलो गर्छन्। अब किन मनोरञ्जन दिने फिल्म बनायौ भन्ने आरोप लगाउनु भएन नि?
पूर्णबहादुरको सारंगीपछि सयौँ फिल्म आए। कुनैमा दर्शकहरू हाँसे। कुनैमा रोए पनि। तर, सबै फिल्म चलेनन् नि त! केहीअघि ‘परान’ चल्यो। ‘परान’लाई दर्शकहरूले आफ्नो फिल्म माने। तर, यसअघि पनि आमाबुवादेखि दाजुभाइको कथा भनेर धेरै फिल्म हलमा आए। तर, सबै चलेनन्। त्यसैले फिल्म चल्नलाई दर्शकहरू आफैँ बोल्नुपर्छ।
हामी मेकरले रोएको भिडिओ हालेर हुँदैन। अहिले टिकटक खोल्नुभयो भने ‘आ बाट आमा’ मात्रै देखिन्छ। ९० प्रतिशत भिडिओहरू दर्शकहरूले आफैँ रोएर र बोलेर हाल्नुभएको छ। त्यो उहाँहरूले आफ्नै कथा लागेर हालेको हो।
मुख्यतया सबैको फिल्म बनाउने आफ्नै उद्देश्य हुन्छ। कसैले हँसाउने बनाउँछन्, कसैले रुवाउने। कसैले आफ्नो कथा भन्ने उद्देश्यले फिल्म बनाउँछन्। त्यही भएर फिल्म चल्यो भन्दैमा हँसाएर वा रुवाएर पैसा कमाउने भन्ने आरोप लगाउन मिल्दैन।
केहीअघि तपाईंको टिमले फिल्म हेर्दा–हेर्दै दर्शकहरू बेहोस भएको वा बिरामी भएको भन्दै विज्ञप्ति निकाल्दै माफी माग्नुभएको थियो। कतिपयले त त्यसलाई पब्लिसिटी स्टन्ट भने नि?
फिल्म रिलिजपछि धेरै ठाउँबाट रुनुभएको वा कराएको भिडिओ आइरहेको थियो। दुबईमा एकजना भाइ बेहोस भएको भिडिओ नै आएको थियो। उहाँले भिडिओमा नै फिल्म हेर्दा १० मिनेट बेहोस भएको सुनाउनुभएको थियो। अरुले पनि फिल्म हेर्दा बेहोस भएर पूरा फिल्म हेर्न सकिनँ भन्ने भिडिओ आएका थिए। पोर्चुगलमा छोरा बित्नुभएको भन्दै एकजना आमा हलमै मुर्छा पर्नुभयो। त्यस्तै कारणले दर्शकहरूलाई गाह्रो हुन्छ र ध्यान दिनुहोला है भनेर माफी माग्दै विज्ञप्ति निकालेका थियौँ।
त्यसपछि हामीले हलमा टिकट नहुन सक्छ, टिकट काटेर मात्र आउन भनेका थियौँ। कस्तो हुन्छ भने नेपालगन्ज, धनगढीतिर फिल्म हेर्न भनेर टाढा–टाढाबाट बस चढेर आए। तर, हल पुग्दा टिकट छैन। धनगढीमा त एक–दुई सो त हलले अगाडि बेन्च राखेर देखाएको थियो। त्यस्तोमा गाह्रो हुन्छ भनेर उहाँलाई हामीले टिकट काटेर मात्रै आउन भनेका थियौँ। कसैलाई दुःख नहोस् भनेर विज्ञप्ति निकालेका हौँ। कसैले स्टन्ट सोच्छ, त्यो उहाँहरूको कुरा हो।
पछिल्लो समय सुरुवाती दिनमा निर्माताहरूले आफैँ टिकट किनेर चहलपहल देखाउने ट्रेन्ड चलेको छ। तपाईंले पनि त्यस्तो गर्नुभयो?
हामीलाई त्यस्तो गर्न परेन। हाम्रो फिल्म रिलिज हुने दिन बिदा थियो। त्यो दिन सीमित दर्शक आउनुभएको थियो। दोस्रो दिनदेखि ८० प्रतिशत आउनुभएको थियो।
त्यो बेला हलमा खासै फिल्म थिएनन्। ब्लु लाइट टिम पनि ब्याक हुँदै हलबाट उत्रिनुभयो। खासै फिल्म नभएकाले प्रतिस्पर्धा गर्नुपर्ने अवस्था आएन। जसले गर्दा हामीले टिकट किन्न परेन।
रिलिजअगावै हाम्रो कन्टेन्ट र गीतले एक किसिमको छाप छोडेको थियो। हाम्रो फिल्म आफैँ माथि गयो। हाम्रो फिल्मले दोस्रो साता एक दिनमै १ करोड २९ लाख कमाएको थियो। त्यसैले टिकट किनेर चहलपहल देखाउनुपर्ने अवस्थै आएन।
तपाईंका फिल्ममा विदेशी कलाकार पनि हुन्छन्, किन उहाँहरूलाई लिनुहुन्छ?
फिल्मको एउटा राम्रो हाइप हुनलाई पनि यसले काम गर्छ। अर्को चाहिँ विदेशी फिल्ममा देखिरहेको मान्छेलाई नेपाली भाषामा बोलेको देख्दा दर्शकलाई मन पर्दोरहेछ। ‘ह्रस्व दीर्घ’ले ‘पूर्णबहादुरको सारंगी’को चेपुवामा पर्दा पनि राम्रो बिजनेस गरेको हो।
त्यसमा ब्रह्मानन्दमसहित अली र प्रदीप राउतको नेपाली बोल्ने शैलीले लोभ्याउँछ। यसमा पनि अहिलेसम्म बुवा नगरेको क्यारेक्टरलाई बुवा बनाउनुपर्छ भन्ने लाग्यो। प्रदीपजीसँग राम्रो सम्बन्ध छ। हामी दाजुभाइ जस्तै हो। मुम्बई जाँदा उहाँकै घरमा बस्छु।
‘ह्रस्व दीर्घ’ मा विपना थापा र उहाँको आमाबुवाको क्यारेक्टरलाई दर्शकहरूले मन पराउनुभएको थियो। एन्टी भए पनि राम्रो हुन्छ भनेर उहाँहरूलाई यसमा कास्ट गरेको हुँ। ‘गजनी’ फिल्मको जस्तो खुंखार भिलेनलाई हामीले बिचरा बाउ बनाएका छौँ।
आगामी दिनमा कस्तो फिल्म बनाउने योजना छ?
भोलि साँझसम्म ‘आ बाट आमा’ ले नेपालमा १० करोड आँकडा पार गर्छ। चैतसम्म यो फिल्म जान्छ होला। किनकि अब चुनावले गर्दा अरु छैनन्।
अर्को वर्षमा साउनमा नयाँ फिल्म गर्छु होला। अहिलेलाई दुईवटा फिल्मको प्लान भएको छ। एउटा लभस्टोरी। अर्को चाहिँ ‘आ बाट आमा’ को पार्ट २ आउँछ। पार्ट २ भए पनि फिल्म नयाँ कथामा हुन्छ। पहिले कुन फिल्म बनाउने चाहिँ फिक्स भएको छैन। जेहोस्, २०८३ मा एउटा फिल्म हलमा आउँछ।
Shares

प्रतिक्रिया