राजनीति


अहिले जेनजी विद्रोह भयो, दश वर्षपछि अल्फा विद्रोह हुनेछ: विश्वप्रकाश शर्मा

अहिले जेनजी विद्रोह भयो, दश वर्षपछि अल्फा विद्रोह हुनेछ: विश्वप्रकाश शर्मा

नेपालखबर
फागुन ४, २०८२ सोमबार १९:५६, काठमाडौँ

नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले यदि देशलाई सही ढंगले अगाडि बढाउन नसकेमा दश वर्षपछि अल्फा विद्रोह हुनसक्ने चेतावनी दिएका छन्। 

सोमबार कांग्रेस तनहुँले दमौलीमा आयोजना गरेको बृहत् जिल्ला भेलालाई सम्बोधन गर्दै उपसभापति शर्माले वर्तमान जटिल परिस्थितिमा देशलाई सही दिशामा लैजान सक्षम नेतृत्व रोज्न मतदातालाई आग्रह गरे। चुनाव केवल दलको जित-हारको विषय नभई देशलाई सङ्कटबाट निकास दिने क्षमताको परीक्षण गर्ने समय भएको शर्माको भनाइ थियो। 

‘मूल प्रश्न कुन दलले जित्ने भन्ने होइन, विषम परिस्थितिमा देशलाई कसले संयमतापूर्वक समन्वय गर्न सक्छ र कसले परिपक्व तवरबाट फूलको माला जसरी गाँस्न सक्छ र देशलाई स्वच्छ बनाएर हाँक्न सक्छ भन्ने हो,’ उनले भने। 

ऐतिहासिक तथ्यका आधारमा कांग्रेसले मुलुकलाई सही ढङ्गले अघि बढाएको उदाहरण जनतामाझ लैजान कार्यकर्तालाई निर्देशन दिए। कांग्रेस यति वेला सभापति गगन थापालाई प्रधानमन्त्री बनाउने अभियानमा लागेको शर्माले बताए। 

‘देशलाई नवीन सपनामा, नवीन मार्गमा लैजानु छ,’ शर्माले थपे, ‘यदि सही ढङ्गले देशलाई अघि बढाउन सकेनौँ भने अहिले जेनजी विद्रोह भयो, दश वर्षपछि फेरि अल्फाको विद्रोह हुनेछ। हामी त्यो अवस्था बन्न दिनेछैनौँ।’

कांग्रेस तनहुँ-१ का उम्मेदवार गोविन्द भट्टराईले सुशासन, समृद्धि कायम गर्दै आमनागरिकको माग पूरा गर्न प्रतिबद्ध रहेको बताए। विषम् परिस्थितिलाई चिरेर देशकै जिम्मेवारी लिने गरी अगाडि बढेको उनको भनाइ थियो। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad