कला


नौलो कथामा बनेको औसत फिल्म ‘झरीपछिको इन्द्रेणी’

नौलो कथामा बनेको औसत फिल्म ‘झरीपछिको इन्द्रेणी’

लक्ष्मी बलायर
पुस ११, २०८२ शुक्रबार ७:५८, काठमाडौँ

फिल्म समीक्षा —

तपाईंहरूले कुनै नयाँ मेसिन किन्नुभयो। हेर्दा त्यो सामान नौलो र आकर्षक लाग्छ। तर, नटबोल्ट नै राम्ररी कसिएको छैन भने त्यसले कसरी काम गर्ला?

ठ्याक्कै त्यस्तै भएको छ क्यूएफएक्स लगायतका हलमा प्रदर्शनरत फिल्म ‘झरीपछिको इन्द्रेणी’मा पनि।

‘झरीपछिको इन्द्रेणी’ सरकारी तहमा हुने भ्रष्टाचारको कथा केन्द्रमा छ। जुन कन्टेन्ट फ्रेस र समसामयिक पनि लाग्छ। तर, प्रस्तुतीकरण फितलो हुँदा फिल्म कसिलो बन्न सकेको छैन।

अब फिल्मको कथातर्फ लागौँ। फिल्मको कथाको केन्द्रमा छन्: कलाकार गणेश उप्रेती। गणेश शर्माको पात्र निर्वाह गरेका उनी कान्तिपुरी नगरपालिकाका सचिव हुन्छन्। जो आफ्नो पेसाप्रति निकै इमानदार र निष्ठावान् छन्।

सोही नगरपालिकामा गणेशका साढुभाइ राजाराम लेखापालको रूपमा काम गर्छन्। उनी निकै भ्रष्ट हुन्छन्। यसले गर्दा दुई साढुको तालमेल मिल्दैन। गणेशका कारण राजारामलाई घुस लिनमा बाधा हुन्छ। त्यसपछि राजारामले मेयर र कार्यालय सहायकसँग मिलेर आफ्नै साढुदाइ विरुद्ध षडयन्त्र रच्छन्। एक इमानदार कर्मचारी अरुको चक्रव्युहमा कसरी फस्छ? त्यही नै यस फिल्मको मूल कथा हो।

सरकारी तहमा हुने भ्रष्टाचारसँगै फिल्ममा अहिलेका युवाको कथा पनि समेटिएको छ। गणेशकै छोरा सोहन (विमोचन दवाडी) प्लस टु पास गरेसँगै अस्ट्रेलिया जान चाहन्छन्। तर, गणेश भने छोरालाई विदेश पठाउने पक्षमा छैनन्। तर, सोहनलाई विदेशको भूत चढिसकेको हुन्छ। जसले उनी घरमै आन्दोलन सुरू गर्छन्। छोराले अत्ति गरेपछि बुवा बाध्य भएर विदेशको लागि सहमत हुन्छन्।

तर, सहमति जनाएपनि उनले छोरासामु एक सर्त राख्छन् : ६ महिनासम्म परिवारबाट छुट्टै बसेर एक्लै संघर्ष गर्नुपर्ने। यो चुनौतीलाई सोहनले सहजै स्वीकार्छन्। र, घर छाडेर एक्लै भाडामा बस्छन्। के सोहनको विदेश जाने सपना पूरा होला त? त्यसको लागि भने फिल्म नै हेर्नुपर्ने हुन्छ।

यस फिल्मले दुइटा जल्दोबल्दो विषयवस्तु समातेको छ। जुन फिल्मको सबल पक्ष हो। यसमार्फत वर्तमान नेपाली समाजको अवस्थालाई नियाल्न सकिन्छ। प्लस टु पास भएसँगै युवामा आउने विदेश मोह र मनस्थितिलाई प्रस्तुत गरिएको छ। जसले युवाहरूलाई अझ बढी कथा रिलेट हुन सक्छ।

सन्तानले विदेशको हठ कसिरहँदा अभिभावमले आफ्नो सन्तानको बारेमा देखेको सपना र चिन्तालाई पनि देखाइएको छ। कसैलाई पनि दोष नलगाएर अभिभावक र सन्तानको मनस्थितिलाई उतार्नु फिल्मको बलियो पक्ष हो।  

त्यस्तै, फिल्ममा केही मार्मिक दृश्य र मन छुने संवाद छन्, जसले दर्शकहरूलाई भावुक बनाउँछ। यद्यपि, पछिल्ला रुवाउने खालका फिल्मको धङधङीबाट भने यो फिल्म मुक्त छ।

फिल्ममा स्थानीय तहको भ्रष्टाचारलाई देखाउन खोजिएको छ। इमानदार कर्मचारी कसरी फस्छन् भन्ने कुरा पनि फिल्मभित्र छ। धेरैजसो अपेक्षित दृश्य नै भए पनि फिल्ममा केही त्यस्ता सस्पेन्स छन्, जसले फिल्म हेरिरहँदा दर्शकहरूलाई दिमाग चलाउन बाध्य पार्छ।

यो अर्जुन घिमिरे (पाँडे) को निर्देशकीय डेब्यु हो। भद्रगोल र सक्किगोनी जस्ता कमेडी सिरियलबाट आए तापनि निर्देशकले फिल्ममा दर्शक हँसाउनकै लागि जबर्जस्ती कमेडी घुसाएका छैनन्। तर, पाँडेबाट कमेडी खुराक खोज्ने दर्शकलाई भने केही खल्लो लाग्न सक्छ। उनको पाँडे क्यारेक्टरबाहेक अरु खासै कमेडी छैन।

नयाँ विषयवस्तु उठान गरेर उनले डेब्यु फिल्ममै राम्रो कोसिस गरेका छन्। तर, फितलो प्रस्तुतीकरणसँगै लामा दृश्य र कसिलो पटकथा नहुँदा फिल्म औसत मात्रै बनेको छ। सम्पादकले थोरै कैँची चलाएको भए पनि प्रस्तुतीकरण केही कसिलो हुनसक्थ्यो। 

फिल्मले अन्त्यमा भ्रष्टाचारविरुद्धको जेनजी आन्दोलनलाई समेत छोएको छ। यो सान्दर्भिक लागे पनि थोरै मात्रै समेट्दा प्रभावकारी देखिँदैन।

फिल्ममा कथाअनुसार गीतसंगीत प्रयोग भएको छ। काठमाडौँ महानगरका मेयर बालेनको र्‍याप गीत ‘आम नेपाली बुवा’ कथासँगै आउँछ। शक्तिशाली शब्दले एक बुवाको भावनालाई पक्रेको छ। त्यस्तै, हेमन्त रानाको स्वर रहेको ‘जब फर्किन्छु घर’ गीतले पनि कथालाई अझ मार्मिक बनाउँछ। खासै नचले पनि ‘फसायो लमीले’ पनि कथाअनुसार सुहाएकै छ।

थुप्रै कमजोरी भए पनि कलाकारहरूको अभिनय भने फिल्मको बलियो पक्ष हो। अमेरिकामा रहेका गणेश उप्रेती ९ वर्षपछि फिल्ममा फर्किएका हुन्। आफ्नो जीवन्त अभिनयले उनले यस फिल्ममार्फत सानदार कमब्याक गरेका छन्। सरिता गिरीको भूमिका सशक्त लाग्छ।

त्यस्तै, विमोचनको अभिनय पनि बबाल छ। डेब्यु कलाकार भए पनि उनको अभिनयमा परिपक्वता भेटिन्छ। जेनजी पात्रमा उनी फिट छन्। अर्जुन घिमिरे पाँडेकै भूमिकामा हुँदा खासै नयाँपन भेटिँदैन। त्यस्तै, रमेश उप्रेती, प्रियना आचार्य (मुन्नी), दीपाश्री निरौला र डेब्यु कलाकार जेसिका पोखरेल लगायतका अन्य कलाकार पनि आफ्नो पात्रमा सुहाएकै छन्। 

पारिवारिक फिल्म र हर्षको कथा रुचाउने दर्शकलाई ‘झरीपछिको इन्द्रेणी’ मन पर्न सक्छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad