कोशी


रास्वपा ‘दूषित’ भयो भन्दै कोसीका संस्थापक अध्यक्ष तिम्सिनाले छोडे पार्टी

कुलमानको पार्टीबाट चुनाव लड्ने
रास्वपा ‘दूषित’ भयो भन्दै कोसीका संस्थापक अध्यक्ष तिम्सिनाले छोडे पार्टी

नेपालखबर
पुस १०, २०८२ बिहिबार २२:४, विराटनगर

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का कोसी प्रदेश संस्थापक अध्यक्ष राजेश तिम्सिनाले आफ्नो राजनीतिक यात्रामा नयाँ मोड लिएका छन्। गन्तव्यमा पुगिने विषयमा अनिश्चितता देखिएपछि रुट परिवर्तन गरेको स्पष्ट पार्दै तिम्सिना ‘उज्यालो नेपाल पार्टी’को केन्द्रीय सदस्यको जिम्मेवारीसहित सक्रिय राजनीतिमा फर्किएका हुन्।

आफ्नो कार्यदक्षता प्रमाणित गरिसकेका व्यक्तिहरूद्वारा प्रवर्द्धित पार्टीमार्फत देश र जनताको सेवा गर्ने अठोट व्यक्त गर्दै उनले रास्वपालाई ‘लाजनिति’ (लाजमर्दो राजनीति)को संज्ञा दिएका छन्। उनले यस्ता विषय जान्दै नजान्ने र सिक्न पनि नसक्ने स्पष्ट पारेका छन्।

पार्टी परिवर्तनको पृष्ठभूमिबारे चर्चा गर्दै तिम्सिनाले रास्वपाभित्र फरक मत राख्नेहरूलाई ‘अनुशासन’को डण्डा चलाएर निमिट्यान्न पार्ने नीति लिइएको आरोप लगाए। उनले आफूले उठाएका मुद्दाहरू विशुद्ध राजनीतिक भए पनि त्यसलाई अनुशासनसँग जोडेर कारबाही गरिएको गुनासो गरे। पार्टी सभापति रवि लामिछानेमाथि गम्भीर मुद्दा लाग्दा समेत पार्टीको अनुशासन समिति मौन बसेकोमा उनले अचम्म प्रकट गरे। सरकारले केही प्रतिशोध राखेको भए पनि न्यायिक प्रणालीलाई नै मिसगाइड गर्ने इतिहास नेपालमा नरहेको बताउँदै उनले कानुनको विद्यार्थीका हैसियतले आफूले वस्तुस्थिति नजिकबाट नियालिरहेको बताए।

​तिम्सिनाले रास्वपा अहिले पूर्ण रूपमा ‘प्रदूषित’ भइसकेको दाबी गरे। पार्टीभित्रका विसंगतिबारे टिप्पणी गर्दै उनले भने, ‘क्यान्सरको लक्षण सुरुमा सानै हुन्छ, पछि मात्र त्यसको भयावह रूप देखिन्छ।’ 
समानुपातिक सूचीमा नाम राख्न प्रतिव्यक्ति ५० हजार रुपैयाँ उठाएको र प्रत्यक्ष चुनाव लड्ने आँट नभएका सचिवालयका सदस्यदेखि पार्टीका पदाधिकारीसम्म सबै समानुपातिकको सुरक्षित घेराभित्र बसेको उनले आरोप लगाए। उनले पार्टीलाई शून्यबाट स्थापित गर्नेहरूलाई पाखा लगाएर सभापतिको वरिपरि घुम्नेहरूलाई मात्र प्राथमिकता दिइएको बताए।

पार्टी सभापति रवि लामिछानेका सन्दर्भमा बोल्दै तिम्सिनाले उनलाई ‘क्रिमिनोलोइड’ को संज्ञा दिए। अदालतले दोषी ठहर नगरेसम्म ‘अपराधी’ भन्न नमिल्ने भए पनि अवसर पाउँदा अपराध गर्ने स्वभाव लामिछानेमा देखिएको उनको तर्क छ। दुईवटा राहदानी प्रयोग गर्ने जस्तो सामान्य नेपालीले समेत बुझ्ने गल्ती लामिछानेले गरेको उल्लेख गर्दै उनले भने, ‘यदि रवि लामिछाने हिजो ‘मुकुल मार्ग’ (मुकुल ढकालले देखाएको बाटो) मा हिँडेको भए आज प्रधानमन्त्री हुन्थे होलान्, जेलको यात्रा तय गर्नुपर्ने थिएन।’

​कुलमान घिसिङ लगायतका व्यक्तिहरूले खोलेको उज्यालो नेपाल पार्टीसँगको आबद्धताबारे प्रष्ट पार्दै तिम्सिनाले पार्टी नेतृत्वसँगको छलफलपछि आफूलाई केन्द्रीय सदस्यको जिम्मेवारी दिइएको जानकारी दिए। आगामी चुनावमा उम्मेदवार बन्ने तयारीका साथ आफू अगाडि बढेको र अबको आफ्नो राजनीतिक यात्रा उज्यालो नेपाल पार्टीबाटै अघि बढ्ने उनले स्पष्ट पारेका छन्। 

मुकुल ढकाल पक्षमा उभिएको भन्दै लामिछाने समूहले तिम्सिनालाई अनुशासनको कारबाही गरेको थियो। उनलाई सुरुमा प्रदेश सभापतिबाट हटाएको थियो भने पछि साधारण सदस्य समेत नरहने गरी कारबाही गर्ने निर्णय गरेको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad