नीर शाहको मुख्य भूमिका रहेको ‘परान’ ले बक्सअफिसमा लोभलाग्दो कमाइ गरेको छ। यस फिल्मले प्रदर्शनको ४४ औं दिनसम्म १७ करोड ३९ लाख ४९ हजार ग्रस कलेक्सन गरेको हो।
योसँगै ‘परान’ दयाहाङ राई अभिनीत ‘जारी’ को कमाइ उछिन्ने बाटोमा छ। १७ करोड ४८ लाख कमाउँदै ‘जारी’ धेरै कमाउने नेपाली फिल्मको पाँचौ स्थानमा छ।
आज सोमबार चलचित्र विकास बोर्डले प्रदर्शनमा रहेका फिल्महरूको कमाइ सार्वजनिक गरेको छ। जसमा ‘परान’ ले मंसीर २० गतेसम्म १७ करोड ३९ लाख ४९ हजार ५०१ आकंडा पार गरेको छ।
दुई साताअघि मात्रै ‘परान’ ले ‘छक्का पञ्जा’ को रेकर्ड तोड्दै सर्वकालिन धेरै कमाउने सूचीको छैटौँ स्थान बनाउन सफल भयो। अब भने पाँचौं स्थानमा आउने पक्का छ।
किनकी ‘जारी’ को भन्दा ‘परान’ को कमाइमा ८ लाख ५१ हजार नेरु ग्रसभन्दा कम अन्तर छ। जुन कमाइलाई यसै साता उछिन्ने देखिन्छ। अझ यसमा आइतबार र सोमबारको कमाइ जोडिएको छैन।
बोर्डको तथ्यांकअनुसार यो अवधीमा ‘परान’ का ६ लाख १२ हजार ८०८ टिकट बिक्री भएका छन्।
सुरुमा यस फिल्मको व्यापार न्यून थियो। प्रदर्शनको पहिलो दिन फिल्मले पाँच लाखको ओपनिङ गरेको थियो। तर, तीन(चार दिनपछि ‘माउथ पब्लिसिटी’ले गर्दा हलमा दर्शकको उत्साहजनक उपस्थिति देखिन थाल्यो। दीपकप्रसाद आचार्य (काकु) को डेब्यू निर्देशन रहेको फिल्ममा अभिनेता नीर शाह मुख्य भूमिकामा छ्न्।
शाहसँगै फिल्ममा मदनकृष्ण श्रेष्ठ, पूजा चन्द, महेश त्रिपाठी, अञ्जना बराइली, केकी अधिकारी, प्रवीण खतिवडा, बुद्धि तामाङ, यासेली योङहाङ, बबिन राई, पुष्पराज ओझा, सीमा काफ्ले, दमन रुपाखेती, यमन श्रेष्ठ, सुब्रतराज आचार्य, सुरेश थापा, बिनोद राई र बाल कलाकार आर्यादीप आचार्य लगायतको अभिनय छ।
यो फिल्ममा चर्चित व्यापारिक घराना गोल्छा समूहका शेखर गोल्छा र विज्ञापन एजेन्सी प्रिज्मा एड्भर्टाइजिङका रञ्जित आचार्यको लगानी छ।
Shares

प्रतिक्रिया