नेकपा (एमाले)को ११ औँ राष्ट्रिय महाधिवेशन नजिक आइरहँदा पार्टीले ताप्लेजुङका दुई नेतालाई स्पष्टीकरण सोध्दै निलम्बन गरेको छ।
महाधिवेशन प्रतिनिधि छनोट प्रक्रियामा अवरोध गरेको भन्दै कोसी प्रदेश कमिटीले उनीहरूलाई १५ दिनभित्र स्पष्टीकरण पेश गर्न समय दिएको छ। त्यो समयसम्म उनीहरूलाई निलम्बन गर्ने निर्णय पनि गरेको छ।
निलम्बित नेताहरूले अब १५ दिनभित्र लिखित स्पष्टीकरण बुझाउनु पर्नेछ। स्पष्टीकरण सन्तोषजनक नभएमा पार्टीले थप कारबाही गर्न सक्नेछ।
कारबाहीमा पर्ने नेताहरूमा कोसी प्रदेश सल्लाहकार सदस्य एवं पूर्व कोसी प्रदेश पर्यटन विभाग सचिव मणिशंकर पोमु र पूर्वमन्त्री बलबहादुर साम्सोहाङ हुन्।
स्पष्टीकरण पत्रमा कोसीशी प्रदेश कमिटीका अध्यक्ष घनश्याम खतिवडाले हस्ताक्षर गरेका छन्। ‘हामीले त्यहाँ के भएको हो भनेर सोधेका हौँ, १५ दिन भित्र स्पष्टीकरण दिन भनिएको छ,’ नेपालखबरसँग उनले भने, ‘पार्टी सदस्य निलम्बन भनिएको हैन, पदबाट निलम्बन र स्पष्टीकरण मात्रै सोधका हौँ।’
महाधिवेशन प्रतिनिधि चयनको समयमा घटना भएकाले त्यस बारेमा थप कुरा बुझ्न स्पष्टीकरण सोधिएको उनले बताए। ताप्लेजुङमा महाधिवेशन प्रतिनिधि सहमतिमा चयन भएका थिए।
यो कारबाही मंसिर ६ गतेको जिल्ला कमिटीको सिफारिशका आधारमा भएको हो। जिल्ला कमिटी ताप्लेजुङले घटनाको विवरण र संलग्नतासहित कारबाहीका लागि सिफारिस गरेको थियो। प्रदेश कमिटीले छानबिन गरी उक्त निर्णय लिएको अध्यक्ष खतिवडाले बताए।
प्रदेश कमिटीद्वारा जारी पत्रमा स्पष्टीकरण सोधिएका नेताहरूले महाधिवेशन प्रतिनिधि छनोट प्रक्रियामा निर्वाचन कमिटीका संयोजक राजकुमार चुडालमाथि सांघातिक हमला गरेको आरोप लगाइएको छ।
पोमु र साम्सोहाङ दुवैलाई एकै ब्यहोराको पत्र पठाइएको छ। कारबाहीको बारेमा कुरा गर्दै पोमुले नेपालखबरसँग भने, 'जस्तोसुकै परिस्थितिको सामना गर्न तयार छाैँ। साङ्गठनिक अराजकताविरुद्ध लड्नको निम्ति निरन्तर लडिरहन्छाैँ।'
Shares

प्रतिक्रिया