कला


इरफानको यात्रा : थिएटरदेखि हलिउडसम्म

इरफानको यात्रा : थिएटरदेखि हलिउडसम्म

नेपालखबर
बैशाख १७, २०७७ बुधबार ८:३६,

चर्चित अभिनेता इरफान खानको बुधबार अचानक भएको निधनले पूरा बलिउड स्तब्ध छ।

पेटमा संक्रमणको कारण उनलाई मंगलबार मुम्बईको कोकिलाबेन अस्पतालमा भर्ना गराइएको थियो। आईसीयूमा उपचाररत् उनको निधन भएको खबर सबैभन्दा पहिले निर्देशक सुजीत सरकारले ट्विटरमार्फत बुधबार दिउँसो सार्वजनिक गरेका थिए।

सन् २०१८ मा इरफानलाई न्युरोइन्डोक्राइन ट्युमरभएपछि अभिनेता खान उपचारका लागि लन्डन पुगेका थिए। आफूलाई क्यान्सर लागेको थाहा पाएपछि पनि उनले हिम्मत हारेनन्। आएका हरेक चुनौतीहरुलाई सम्हाल्दै उनले तिनको सामाना गरेर अगाडि बढे। गत वर्ष उपचारपछि लन्डनबाट भारत फर्केका इमरान कोकिलाबेन अस्पतालका डाक्टरको रेखदेखमा नियमित चेकजाँच गराइरहेका थिए।

गत शनिबार मात्रै उनकी आमा सइदा बेगमको ९५ वर्षीको उमेरमा मृत्यु भएको थियो। लकडाउनका कारण आमाको अन्तिम संस्कारमा सहभागी हुन नसकेको उनको त्यसको चारदिनमै मृत्यु भएको हो।

इरफान बलिउडका कम चलचित्रमा अभिनय गरेको भए पनि र राम्रो छाप छोड्न सफल कलाकार हुन्। पछिल्लो समय इरफानले ‘अंग्रेजी मिडियम’ नामक फिल्ममा अभिनय गरेका थिए। यही नै उनको अन्तिम चलचित्र हुन पुग्यो।

दिल्लीको नेसनल स्कुल अफ ड्रमा (एसएसडी)बाट करिअर सुरु गरेका इरफानले बलिउडसँगै हलिउडमा पनि आफ्नो उपस्थिति जनाएका थिए। केही अविष्मरणीय चरित्रमार्फत सबैलाई मन्त्रमुग्ध पारेका उनले थिएटरबाट टिभी र चलचित्रमा लामो कलाकारिता यात्रा तय गरे।

इरफानको जन्म १९६७ जनवरी ७ मा राजस्थानको जयपुरमा भएको थियो। उनका बुबाको टायरको विजनेस थियो। जन्मका बेला इरफानको नाम साहबजादे इरफान अली खान थियो। पछि उनले इरफान खानमात्रै लेखाउन थाले।

इरफानले स्नातकोत्तरको अध्ययनको क्रममा एनएसडीमा छात्रवृत्ति पाएका थिए। एनसडीमार्फत १९८४ देखि उनी कला क्षेत्रमा प्रवेश गरे।

एनएसडीको अध्ययनपछि इरफान दिल्लीका विभिन्न थिएटरमा काम गर्न थाले। त्यसै बेलादेखि उनको चर्चा हुन थालेको हो।

पछि उनले दिल्लीबाट मुम्बई जाने निर्णय लिए। जहाँ उनले ‘चाणक्य’, ‘भारत एक खोज’, ‘सारा जहाँ हमारा’, ‘बनेगी अपनी बात’, ‘चन्द्रकान्ता’ र ‘श्रीकान्त’जस्ता सिरियलमा काम गरे।यिनै सिरियलबाट दर्शकको मनमा बस्न सफल भएका उनी पछि चलचित्रमार्फत त्यसलाई थप उत्कर्षमा पु¥याए।

थियटर र टेली सिरियलमा काम गर्दै पहिचान बनाइरहेका उनीमा फिल्म निर्माता मीरा नायरको नजर पर्यो। मीराले उनलाई ‘सलाम बाम्बे’ फिल्ममा सानो रोल दिएकी थिइन्। तर, फिल्म रिलिज भएपछि भने उनको अभिनय रहेको खण्ड काटिएको थियो।

त्यसपछि १९९० मा इरफानले ‘एक डाक्टरकी मौत’ फिल्ममा काम गरे। यो फिल्ममा इरफानले गरेको अभिनयको समीक्षकले निकै तारिफ गरे। यसपछि ‘द वारियर’, ‘मकबुल’जस्ता फिल्ममा उनले महत्वपूर्ण भूमिका निभाए।

२००५ मा आएर बल्ल उनले ‘रोग’ फिल्ममा मुख्य भूमिका निर्वाह गर्न पाए। त्यसपछि ‘हासिल’ फिल्ममा उनले उत्कृष्ट खलनायकका लागि फिल्मफेयर अवार्डसमेत जिते।

सन् २००८ को फिल्म ‘स्लमडग मिलिनियर’मा एक पुलिस इन्स्पेक्टरको भूमिकामा अभिनय गरेपछि इरफानका लागि हलिउडको बाटो खुलेको थियो। हलिउडमा उनले ‘लाइफ अफ पाई’, ‘ए माइटी हार्ट’, र ‘जुरासिक वल्र्ड’ गरी तीन चलचित्रमा अभिनय गरेका छन्।

इरफानले ‘पान सिंह तोमर’ फिल्मबाट नेसनल अवार्डसमेत हात पारेका थिए। लगत्तै भारत सरकारले उनलाई पद्माश्री अवार्ड पनि दिएको थियो।

इरफानले १९९५ मा सुपता सिंकन्दरसँग बिहे गरेका थिए। उनीहरुका दुई छोरा बाबिल र अयान छन्।

उनको मृत्युलाई लिएर अहिले बलिउडाका दिग्गज कलाकारदेखि भारतीय रजानीतिकर्मीहरुले शोक व्यक्त गरिरहेका छन्। (एजेन्सी)

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad