डाँडा घरे र बेसी चौरबीचको सम्बन्ध एक समय यति आत्मीय थियो। गाउँका मानिसहरू एक अर्कालाई जन्म मृत्युसम्मका साथ थियो। तर समयसँगै दैनन्दिन जीवनका साना मुद्दाहरू नै ठूलो तर्क–वितर्कको कारण बन्दै गए।
पानीका मुहानदेखि दाउरा–घाँससम्मका विषयमा कसको हक बढी भन्ने बहस बर्सेनि बढ्दै गयो। बेसी चौरका मानिसहरूले जङ्गल जोगाउने जिम्मा आफूहरूले बोकिरहेको दाबी गर्न थाले, डाँडा घरेका बासिन्दाले साझा स्रोतमा एकलौटी व्यवहार स्वीकार गर्न नसक्ने बताउन थाल्दा सम्बन्धमा दरार झनै गहिरियो।
दुवै गाउँमा आलुको बीउ आवश्यक थियो। तर बीउ चाहिँ तल्लो गाउँमै उपलब्ध हुने भएकाले माथिल्लो गाउँका परिवारहरू तल्लो गाउँमा नजाने बरु आलु नै नरोप्ने अवस्थामा पुग्छन्। डाँडाघरेहरू आफूलाई दोस्रो दर्जामा राखिएको अनुभूति गर्दथे। उनीहरूले प्रत्येक वर्ष यही अनुभूति दोहोरिनु अन्याय भएको ठान्थे। यस्तो असन्तुष्टि स्थानीय आर्थिक व्यवहारभन्दा कैयौँ गुना ठुलो सामाजिक विषय बनेर देखा परिरहेको थियो।
यस्तै बेला स्वास्थ्य संस्थाले तल्लो गाउँमा आँखा शिविर राख्ने निर्णय गर्यो। माथिल्लो गाउँका धेरै नागरिकहरूको आँखाको समस्या गम्भीर हुँदै गएका बेला केवल एउटा गाउँमा मात्रै सेवा केन्द्रित गर्नुले असन्तोष बढायो। माथिल्लो गाउँका अगुवाहरूले यही निर्णयलाई आधार बनाउँदै राज्य सेवा वितरणमा पनि असमानता देखिएको कुरा उठाए।
यिनै तिक्तताका बिच अर्को घटना थपियो, माथिल्लो गाउँकी एक युवती तल्लो गाउँका युवकसँग भागेर विवाह गरिन्। पुराना वचन, पुराना गुनासो र पुराना तर्कहरूसँगै गाउँहरूबिच पहिलेदेखि नै चलिरहेको खटपटलाई यस घटनाले थप उचाइमा पुर्यायो। दुवै गाउँका मानिसहरू आफ्नो–आफ्नो व्याख्या लिएर उभिए र मौन रहँदै आएका तनाव बाहिरिन थाल्यो। केही दिनमै दुई गाउँबिच खुलेआम झडपसमेत भयो।
यस्ता परिस्थितिमा धेरैलाई पहिलो पटक संवादको आवश्यकता महसुस हुन थाल्यो।

समस्या हुनुको कारण आ–आफ्नो निर्णय, एकतर्फी दाबी र अविश्वासको चाङ थियो। कसैले पनि खुलेर कुरा सुन्ने र बुझ्ने वातावरण निर्माण गरेको थिएन। यही अभावले स–साना कुरालाई ठूलो बनाएको रहेछ। यी समस्यालाई कसरी समाधान गरेर जाने भन्नेमा केन्द्रित भएर बिहीबार काठमाडौँ स्थित होटल हिमालयमा देखाइएको नाटक थियो।
काठमाडौँमा नेपाल डायलग इनिसियटिभको आयोजनामा दुई दिने नेपाल डायलग समिट २०२५ सुरु भएको हो। जसले स्थानीयदेखि अन्तर्राष्ट्रिय तहसम्मका संवाद अभ्यासहरूको बारेमा छलफलहरू भइरहेका छन्। शान्ति प्रक्रियाका अनुभवदेखि लिएर समुदायमा देखिने मनोवैज्ञानिक प्रभावसम्म, विविध विषयका विशेषज्ञहरूले संवादलाई दिगो समाधानको मूल प्रविधि भन्दै अनुभवहरू सुनाएका थिए।
देशभरका स्थानीय संवाद संयोजकहरूले आफ्नो क्षेत्रमा स्रोत व्यवस्थापन, सामाजिक असमानता र राजनीतिक द्वन्द्व कसरी संवादमार्फत हल हुँदै गएको छ भन्ने वास्तविक कथा सुनाएका छन्।
पहिलो दिनको कार्यक्रमका मुख्य वक्ता डा शम्भु राम सिम्खडाले नेपालले शान्ति प्रक्रियामा हासिल गरेका अनुभव, अन्तर्राष्ट्रिय कूटनीतिक अभ्यास र संवादको राजनीतिक महत्वबारे आफ्ना विचार प्रस्तुत गरे। संयुक्त राष्ट्र सङ्घकी नेपालको प्रमुख प्रतिनिधि हाना सिङ्गर–हम्दीले सामुदायिक तहमा संवादले शान्ति र विकास दुवैलाई बलियो रहेको बताइन्।
दोस्रो सत्रले शान्ति प्रक्रियाको इतिहासभित्र लुकेका कथाहरू उजागर गर्ने प्रयास गर्यो। २००६ को विस्तृत शान्ति सम्झौताभित्रका प्रसङ्ग, वार्तामा देखिएका चुनौतीहरू र नयाँ पुस्ताको भूमिकासम्बन्धी विशेषज्ञहरूले प्रस्तुत गरेका थिए। उनीहरूले शान्ति प्रक्रियालाई केवल राजनीतिक दस्ताबेज मात्र नभई, सामाजिक रूपान्तरणको यात्रा रहेको बताए।
पहिलो दिनको अर्को आकर्षण ‘संवाद थिएटर’ थियो, जसमा कलात्मक प्रस्तुति मार्फत कला र संवादबिचको सम्बन्ध व्यक्त गरिएको थियो। कलाकारहरूको प्रस्तुति संवादलाई केवल बोलाइभन्दा धेरै ठूलो अनुभूति, भावना र मानवीय सम्बन्धसँग जोडिएको प्रक्रियाको रूपमा व्याख्या गरेका थिए।
दैनिक कार्यक्रमपछि भएको सत्रमा अन्तर्राष्ट्रिय अनुभवहरू सुनाएका थिए।
सम्मेलनले नेपालमा सक्रिय संवाद अभ्यासकर्ताहरूलाई विश्वभरका सिकाइहरूसँग तुलना गर्ने अवसर प्रदान गरेको छ। कोलम्बियामा संवादबाट भएको शान्ति निर्माण प्रक्रिया र नेपालमा भएको शान्ति निर्माण प्रक्रियाको बारेमा पनि छलफल भएको थियो। यस क्रममा शान्ति निर्माणको क्रममा संवादको भूमिका महत्त्वपूर्ण रहेको उल्लेख गरिएको थियो।
Shares

प्रतिक्रिया