संगीत विष्णु भट्टको आत्मानजिक छ। यसमा उनी आनन्द भेट्टाउँछन्। त्यसैले त सफलता वा असफलताले उनलाई कहिल्यै फरक परेन। बरु उनी निरन्तर संगीतमै लागिरहे। कहिले उनी डेउडाको भाकामा गुञ्जिए त कहिले आधुनिक र लोकगीतमार्फत सुनिए।
हुन त ती गीतहरू राम्रै चले। तर, उनी स्वयं भने खासै चिनिन सकेका थिएनन्। तर, अहिले अवस्था फेरिएको छ। संगीतप्रतिको उनको बेहिसाब लगाव र निरन्तरताले प्रतिफल पाएको छ। पहिले उनलाई नगन्नेहरू यतिखेर विष्णुको तारिफमा शब्द खर्चिरहेका छन्। ६ वर्ष पुरानो गीत टिकटकले ब्युँताइदिएपछि विष्णु धेरै दर्शकस्रोतामाझ परिचित बनेका छन्।
तम्लाई म पियारी भनुँ कि
चालिसे घट्टको ढुङ्गो
तानी लान्छु ओए झुम्की
तिहारको माहोल थियो। बझाङकी सबु बोहराले ‘झुम्की’ गीतमा साथीहरूसँग नाचेको भिडिओ टिकटकमा पोस्ट गरिन्। गीतको त्यो टुक्रो टिकटकभरि यति छायो कि भाषा नबुझेकाहरूले पनि रमाइलो मान्दै टिकटक बनाउन थाले। टिकटककै कारण ६ वर्ष पुरानो गीत एकाएक भाइरल भयो। टिकटकमा सुनेकै कारण दर्शकहरू गीत खोज्दै युट्युबसम्म पुगे। पहिले २ लाख मात्रै भ्युज पाएको ‘झुम्की’ अहिले २८ लाख पटक हेरिएको छ।
गीतको चर्चासँगै गायक तथा संगीतकार विष्णुले आफूलाई गरिने व्यवहारमा पनि फरक पाएका छन्। जसले परिश्रमको फल मिलेझैँ महसुस भइरहेको सुनाउँछन् उनी।
‘हुन त पहिले पनि गीतहरू नचलेका होइनन्। तर, यस गीतले मलाई पनि चर्चित बनाइदियो। पहिले नटेर्नेले गीत भाइरल भएपछि धेरैले ओहो! तपाईं खत्रा हो भन्ने भाइब्स दिनुहुन्छ। यसले कामप्रति थप विश्वास हुँदैछ। परिश्रमको फल पाएझैँ लागिरहेको छ,’ उनले भने।
हुनत विष्णु स्वयंलाई पनि ‘झुम्की’ निकै मन परेको गीत हो। ६ वर्षअघि उमेश कठायतले गीतका शब्द कोरेका थिए। शब्द निकै मन परेपछि विष्णुले लय बनाए। र, आफ्नो स्वरमा रेकर्ड गरेर भिडिओसहित गीत सार्वजनिक गरे।
त्यतिबेला यो गीत खासै चल्न सकेन। तर, विष्णुलाई भने यो गीत चल्छ कि भन्ने लागेको थियो। किनकि यस गीतमा पहिल्यै आठ हजार टिकटक बनिसकेका थिए। तर, सबु बोहराको समूहले टिकटक बनाएपछि यो गीत चर्चामा आएको स्वीकार्छन् उनी। त्यसैले गीतको सफलताको सबै जस उनैलाई दिन चाहन्छन्।

नेपालीहरू जहाँजहाँ छन्, न उनीहरूले भूगोल हेरे, न भाषा। किनकl सबैले यस गीतमा टिकटक बनाएका छन्। गीतको मेलोडी र स्वरका कारण दर्शकस्रोताले गीत मन पराएको ठान्छन् विष्णु।
‘यो ठ्याक्कै डेउडाभन्दा पनि यसमा सुदूरपश्चिमको भाषा र रङ चाहिँ आउँछ। अर्गानिक फ्लेबरका शब्द र भाव मन पराउनुभएको जस्तो लाग्छ,’ उनले भने, ‘यस गीतमा भिडिओ बनाउनलाई डान्स नै गर्नुपर्छ भन्ने छैन। यत्तिकै हिँडेर पनि सुहाउँछ। तस्बिर राख्दा पनि हुन्छ। प्रेम व्यक्त गर्ने कुरा नारा लगाएर हुँदैन, मिठास चाहिन्छ। म्युजिक र स्वरको सम्मिश्रणलाई मन पराउनु भयो।’
विष्णुका अनुसार यस गीतले प्रेम प्रकट गर्छ। मन परेकी युवतीलाई फकाउने कुरा गर्छ। जसरी ४० वर्ष पुरानो ढुंगो टुटेर खोलामा गयो, त्यसरी नै उमेर सकिएर जान्छ। त्यसैले, समयमै होस गर भन्ने भाव बोल्छ।
विष्णु स्वभावले धीर छन्। न उनी दु:खमा आत्तिन्छन् न खुसीमा धेरै उत्साहित हुन्छन्। त्यसैले गीत चर्चामा हुँदा पनि धेरै खुसी भएनन् उनी।
भन्छन्, ‘उत्साहित हुने भनेको अप्रत्याशित कुरामा हो। मैले म्युजिकमा दु:ख गरेको छु। साधु भएर लागेको छु। म खत्रा प्रस्तुति नगरुँला। तर, त्यो लेभलको साधनाको मिठास थाहा छ। मैले एकछिन जे अनुभूति गरे पनि यो क्षणिक हो। मलाई दिगोरूपमा यही क्षेत्रमा बस्नु छ। धेरै समय टिक्न सक्नु नै ठूलो कुरा हो।’
गीत चलेसँगै बरु चुनौती महसुस गरिरहेका छन्। अब आफ्नो जनरा स्पष्ट भएको बताउँदै उनले थप दर्शकको चाहनाबारे बुझेर गीत ल्याउने सुनाए।
‘म धेरै आशा राख्दिनँ। काम गर्दै जाने मान्छे हुँ। तर, यो भन्दैमा यो केही पनि होइन भन्न खोजेको होइन। यो पनि धेरै हो। तर, यो एउटा पाटो हो, पूर्णतया सफलता होइन,’ उनले भने, ‘उत्साहितभन्दा बरू यसले चुनौती ल्याएको छ। अब अडियन्सलाई ध्यान दिनुपर्छ। पहिले म आत्मआनन्दको लागि संगीत गर्थेँ। अब म अडियन्सको लागि काम गर्छु। एक महिनाभित्रै झुम्की २ ल्याउने तयारी छ।’
विष्णुले विभिन्न जनराका ३ सय गीतहरूमा स्वर दिइसकेका छन्। तर, ठ्याक्कै कुन विधा पक्रिने भन्नेमा उनी दुविधामा थिए। ‘झुम्की’ गीतले चलेसँगै त्यो अन्योल हटेको सुनाउँछन् उनी।
‘म अन्योलमा थिए। के हो त मेरो जनरा? सबैको एक न एक गीत चलेको छ। मैले अब के गर्ने भन्ने दुविधामा थिएँ। यो गीत चलेपछि सिग्नेचर चाहिँ भयो। पहिचानसहित बाटो निर्धारण भयो,’ उनले सुनाए।
पहिले विष्णुसँग तर्किनेहरू अहिले फर्केर आइरहेका छन्। साथै उनलाई थुप्रै गीतहरूको समेत अफर आइरहेको छ। यद्यपि, विष्णु अफर आउँदैमा सबै गीतहरू गरिहाल्ने पक्षमा छैनन्।
‘मलाई जहिल्यै पनि एउटै व्यवहार मन पर्छ। हिजो इग्नोर गर्नेहरू तपाईंसँग गीत गाउन पाएहुन्थ्यो भन्नुहुन्छ। अफरहरू आइरहेका छन्। तर, सबै काम लिएर क्वालिटी मेन्टेन गर्न सकेन भने गाह्रो हुन्छ,’ उनी भन्छन्।

डोटीको केआईसिंह गाउँपालिका वडा नम्बर ६ सलेना घर भएका विष्णुलाई सानैदेखि संगीतप्रति झुकाव थियो। डेउडाको माहोलमा हुर्किए पनि उनलाई विशेषगरी शास्त्रीय गीतहरू मन पर्थे। भारत नजिक भएकाले सुदूरपश्चिमा हिन्दी गीतहरूको प्रभाव बढी थियो। जसकारण उनी मोहमद रफी, कुमार सानु, आशा भोसले लगायतका गीतहरू बढी सुन्थे।
दिपायलमा रेडियो नेपालको क्षेत्रीय प्रसारणको कार्यालय थियो। जुन ठाउँ विष्णुको घरबाट डेढ घण्टाको दूरीमा थियो। त्यतिबेला रेडियो नेपालबाट ‘बसी बिँयालो’ कार्यक्रम आउँथ्यो। नन्दकृष्ण जोशी, टेकराज जोशी र भोजराज भट्टका डेउडा सुनेर हुर्केका उनी त्यस कार्यक्रममा सहभागी भए। त्यतिबेला उनी जम्मा आठ वर्षका थिए। त्यहीँबाट सुरू भएको थियो, उनको गायकी। त्यसपछि विभिन्न प्रतियोगितामा भाग लिएका उनले १५ वर्षको उमेरमा ‘पासो भई पिरती’ बोलको एल्बम निकाले। जुन गीत सुदूरपश्चिममा राम्रै चलेको थियो।
सुदूरपश्चिम छँदा छ/सात वटा एल्बम निकालिसकेका थिए। धेरैले चिन्ने भइसकेका थिए। साथसाथै पुस्तक पसल समेत सञ्चालनमा ल्याएका थिए। तर, उनलाई संगीतमै केही गर्नु थियो। जसकारण स्नातक सकेपछि मास्टर्स पढ्न उनी ०६५ मा काठमाडौँ हुइँकिए।
त्रिभुवन विश्वविद्यालयमा अंग्रेजी विषयमा मास्टर्स ज्वइन गरे। कक्षा सकेपछि चण्डी काफ्लेसँग संगीत सिक्न कालिकास्थान पुग्थे। काठमाडौँमा जागिरबिना जीवन धान्न मुस्किल थियो। त्यसकारण उनी कीर्तिपुरकै एक स्कुलमा पढाउँथे पनि। धेरैपटक त उनी कालिकास्थानबाट हिँडेरै कीर्तिपुरको कोठा समेत पुगेका छन्।
यस क्रममा केही गीत पनि गाए। तर, खासै चलेनन्। उनले सोचेजस्तो सांगीतिक उडान भर्न सकेनन्। जसकारण उनी दिक्क भएर २०७० मा डोटी फर्किए।
डोटी फर्किएर पवित्रा आवासीय स्कुलमा भाइस प्रिन्सिपल भएर काम गरे। तर, भित्रभित्रै भने उनलाई संगीतको रापले पोलिरहेको थियो। राति पनि उनी संगीत सिकेकै सपना देख्थे। त्यही भएर उनी त्यहाँ धेरै बस्न सकेनन्। ६ महिनामै फेरि काठमाडौँ आए।

र, ६ महिनाअघि छाडेका सबै कुरा पुन: सुरु गरे। कोठा लिए, स्कुल पढाउन थाले। साथसाथै संगीतमा निरन्तरता दिए। विभिन्न जनराका गीतसहित गजल समेत प्रस्तुत गरे। बम्बैको लाहुरे, खेलौँ देउडा चैतली, चिलगाडी, केशरी केशरी, सैँया सुकिली लगायतका गीतहरू राम्रै चले। तर, उनी खासै सफल भने हुन सकेनन्।
लामो समय संघर्ष गरेर सफलता नपाउँदा दिक्क लागेन त? जवाफमा विष्णुले मुस्कुराउँदै भने, ‘जब तपाईंलाई केही कुरा मन पर्छ, त्यो मन परेको चिजप्रति अर्काको धारणा सुन्ने फुर्सद हुँदैन। म्युजिक मेरो आत्मासँग जोडिएको चिज हो। जुन आत्मासँग जोडिन्छ नि, त्यसलाई कुनै कुरासँग तुलना गरिँदैन। मैले संगीतप्रति नराम्रो कहिल्यै सुन्न चाहिनँ। मलाई आध्यात्मिक आनन्द आउने चिज म्युजिक हो। म भयंकर लोकप्रिय हुँला भन्ने नि भएन। भजन र राग गाएर बस्न सक्छु। राम्रो स्रोता त बन्छु भन्ने लाग्यो।’
यतिखेर विष्णु विभिन्न गीतको तयारीमा छन्। केही समयअघि मात्रै उनले डोटी गएर आफ्नै शब्द, संगीत र स्वरमा तीन वटा डेउडा तयार पारेका छन्। साथै भिडिओ समेत आफैँ खेलेका छन्। र, ‘झुम्की २’ पनि ल्याउने योजना छ।
Shares

प्रतिक्रिया