बहुप्रतिक्षित नेपाली सिनेमा ‘जारी २ : सङ अफ च्याब्रुङ’ ले शुक्रबारदेखि विश्वव्यापी प्रदर्शनको तयारी पूरा गरेको छ।
निर्माता टिमले बिहीबार एक विज्ञप्ति जारी गर्दै सिनेमा हल सञ्चालकहरूलाई साउन्ड लेभल मिलानका लागि प्रदर्शन अघि ‘टेस्ट रन’ गर्न अनुरोध गरेको छ।
विज्ञप्तिअनुसार, ‘जारी २’को साउन्ड मिक्सिङ डल्बीको फेडर युनिट ५.८ मा गरिएको छ, जसका कारण दर्शकले डल्बी एटमस, डिटिएसःएक्स र अरो म्याक्स प्रणालीमा उच्च गुणस्तरको साउण्ड अनुभव गर्न सक्नेछन्।
निर्माण टिमले हलहरूमा साउण्ड प्रेसर लेभल फरक हुने भएकाले, व्यावसायिक प्रदर्शन सुरु गर्नु अघि न्यूनतम भोल्युम युनिट ५ बाट परीक्षण गर्न आग्रह गरेको छ।
निर्माताहरूले कतिपय हलहरूमा ‘भोल्युम बढी हुन्छ’ भन्दै साउन्ड घटाउने प्रचलनले सिनेमा अनुभव बिग्रने उल्लेख गर्दै मापदण्डअनुसारको भोल्युम स्तर कायम गर्न अनुरोध गरेका छन्।
यसैबीच, चलचित्र जाँच पास समितिले (सेन्सर बोर्ड) ‘जारी २’लाई ‘यू’ (युनिभर्सल) सर्टिफिकेट प्रदान गरेको छ। यससाथै सिनेमा सबै उमेर समूहका दर्शकका लागि उपयुक्त भएको छ। सेन्सर बोर्डका पदाधिकारीहरूले लिम्बु समुदायको कथामा आधारित यस सिनेमालाई सकारात्मक प्रतिक्रिया दिएका छन्।
उपेन्द्र सुब्बा लिखित र निर्देशित ‘जारी २’लाई रामबाबु गुरुङ, मधु मिजार र जीवन गुरुङले निर्माण गरेका हुन्। दयाहाङ राई, मिरुना मगर र विजय बराल मुख्य भूमिकामा छन् भने बुद्धि तामाङ, ऋचा शर्मा, पुष्कर गुरुङ, प्रेम सुब्बा, रेखा लिम्बुलगायत कलाकारहरूको पनि अभिनय रहेको छ।
बाँसुरी फिल्म्स र कबड्डी फिल्म्सको ब्यानरमा निर्माण भएको यो फिल्मलाई यस वर्षको व्यावसायिक सम्भावनायुक्त नेपाली सिनेमामध्ये एकका रूपमा हेरिएको छ।
Shares

प्रतिक्रिया