कला


‘धागो’ को ट्रेलरमा पारिवारिक सम्बन्ध, सङ्घर्षको कथा

‘धागो’ को ट्रेलरमा पारिवारिक सम्बन्ध, सङ्घर्षको कथा

नेपालखबर
कात्तिक १६, २०८२ आइतबार १६:३२, काठमाडौँ

भारतको डुवर्सबाट बनेको नेपाली चलचित्र ‘धागो’ ट्रेलर सार्वजनिक भएको छ। ट्रेलरले चलचित्रको मूल भावलाई प्रस्ट्याएको छ, जसमा परिवारभित्रको भावनात्मक सम्बन्ध, आर्थिक कठिनाइले निम्त्याएका दैनिक समस्याहरू, र सामाजिक दुरावस्थाको सङ्घर्षको चित्रण गरिएको छ।

ट्रेलरमा मुख्य गरी परिवारमा रहेको आर्थिक समस्याका कारण सिर्जित दैनिक समस्याहरू र त्यससँग जुध्न गरिएको सङ्घर्ष देखाइएको छ। यस्तै, सङ्घर्षको दौरानमा देखिएको सामाजिक चुनौती र विषम परिस्थितिको चित्रण गरिएको छ भने सन्तानको सपना र इच्छा पूरा गर्नका लागि गरिने हरेक माता९पिताको अथक प्रयासलाई भावनात्मक रूपमा प्रस्तुत गरिएको छ। बिछोडको पीडालाई पनि ट्रेलरले समेटेको छ। गहन कथावस्तुका बाबजुद, दर्शकलाई केही क्षणको राहत दिनका लागि केही मात्रामा हास्य रस पनि समावेश गरिएको छ।

उदिप राणा थापा निर्देशित यो चलचित्र नेपाल९भारत सीमावर्ती क्षेत्रमा बसोबास गर्ने नेपाली परिवारहरूको जीवन, सांस्कृतिक सम्बन्ध र आपसी भावनात्मक धागोलाई कथाको केन्द्रमा राखेर बुनिएको छ। यसले एक परिवारभित्र सम्बन्धको धागो कमजोर भएपछि उत्पन्न हुने संवेदनशील परिस्थितिलाई प्रतिबिम्बित गर्ने निर्देशकले बताए।

फिल्ममा अभिनेत्री सुरक्षा पन्त मुख्य भूमिकामा छिन्। उनीसँगै प्रभात थापा, सुरभि थापा, बुद्धि तामाङ, सुनिल थापा लगायतको अभिनय छ। अभिनेत्री वर्षा राउत विशेष केमियो भूमिकामा देखिनेछिन्।

चलचित्रको निर्माण फिल्म म्याग्नेट इन्टरटेन्मेन्ट प्रोडक्शन हाउस ले गरेको हो। निर्माण टिममा उमा थापा, उत्तम थापा र उदिप थापा रहेका छन्। चलचित्रको छायाङ्कन निर्देशन बलिउडका अनिकेर एम। घोघले गरेका हुन्।

यो फिल्म कार्तिक २८ गते (नोभेम्बर १४) मा नेपाल र भारतका हलहरूमा एकसाथ रिलिज हुने तयारीमा छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad