रिलिजको पूर्वसन्ध्यामा काठमाडौंमा ‘जेरी अन टप’को पत्रकार सम्मेलन राखिएको थियो। अभिनेत्रीद्वय जसिता गुरुङ र आँचल शर्मासहित देखा परे : अभिनेता अनमोल केसी।
बिरामी भएर ट्रेलर रिलिज कार्यक्रममा उपस्थित हुन नसकेका उनी सञ्चो भएसँगै प्रेसमिटमा पुगेका थिए। त्यसमाथि उनी १६ महिनापछि पर्दामा देखिन लागेका थिए। त्यसैले उनीतर्फ थुपै प्रश्न तेर्सिनु स्वाभाविक थियो।
उनले हेटरदेखि नेपोकिड र अभिनय गर्न नजानेको आरोपसम्मका प्रश्न झेले। सोहीबीच उनलाई सोधियो: अहिले तपाईं टपमा हो?
एकछिन सोचेर अनमोलले जवाफमा भने, ‘त्यो पनि म भन्दिनँ कि टपमा छु। अहिलेलाई नेपाली उद्योगमा छु। र, नेपाली उद्योग टपमा भएको हेर्न चाहन्छु।’
हुन पनि अनमोल यस प्रश्नको ठ्याक्कै जवाफ दिन सक्ने अवस्थामा थिएनन्। किनकि दुई वर्षअघि मात्रै अनमोलले बेस्सरी असफलता भोगेका थिए। उनको मुख्य भूमिका रहेको फिल्म ‘छड्के २’ बक्सअफिसमा नराम्ररी चिप्लियो। त्यसपछि फिल्म ‘रावायण’मा विश्वासघात गरेको आरोपमा उनी प्रकाउ समेत परे। केही दिन हिरासतमै बस्नुपर्यो। त्यो बेला अनमोलले पहिलोपल्ट फिल्मी करिअरमा नमिठो अनुभव बटुले।
गत असारमा मात्रै चलचित्र विकास बोर्डले २५ वर्षमा धेरै कमाउने २५ फिल्मलाई सम्मान गरेको थियो। तर, एक दशक लामो करिअर भएका र मेगास्टार ट्याग पाएका अनमोलको एउटा फिल्म पनि त्यो सूचीमा अटाएन। भलै गतवर्ष रिलिज भएको फिल्म ‘फर्की फर्की’ बाट अनमोललाई केही राहत मिलेको थियो।
तर, ‘जेरी अन टप’ रिलिजसँगै अनमोल यतिखेर करिअरकै टपमा पुगेका छन्। किनकि यस फिल्मले बक्सअफिसमा आक्रामक कमाइ गरिरहेको छ। निर्माता सरोज न्यौपानेका अनुसार फिल्मले दुई सातामै १० करोडको आँकडा पार गरिसकेको छ। समीक्षात्मक हिसाबले सकारात्मक प्रतिक्रिया पाइरहेको यो अनमोलको करिअरको सर्वाधिक कमाइ गर्ने फिल्म समेत बनेको छ।
एकातर्फ बक्सअफिसमा ब्लकबस्टर कमाइ। अर्कोतर्फ अभिनयमा पनि सुधार हुँदै गएको प्रतिक्रिया। त्यसैले अनमोल करिअरकै टपमा पुगेका छन् भन्न अप्ठेरो मान्नु पर्दैन।
‘जेरी अन टप’मा हिमाल आरोहणको कथावरिपरि त्रिकोणात्मक प्रेमकथा समेटिएको छ। जहाँ दिमाग र मनबीचको द्वन्द्वलाई सुन्दर तरिकाले प्रस्तुत गरिएको छ। जुन कथा अहिलेका युवापुस्ताले आफूसँग रिलेट गरे। त्यसकारण पनि फिल्म मन पराइएको ठान्छन् निर्माता न्यौपाने।
रिलिजका हिसाबले दसैंलाई उपयुक्त समय मानिन्छ। हरेक वर्ष दसैँलाई भनेर थुप्रै फिल्मका रिलिज डेट तोकिन्छन्। यो वर्ष पनि फूलपातीमा तीन नेपाली फिल्महरू एकसाथ रिलिज भए। समीर भट्ट स्टारर ‘बलिदान’, हरिवंश आचार्यको ‘हरिबहादुरको जुत्ता’ र धिरज मगर-उपासना सिंह ठकुरी अभिनीत ‘माइतीघर’ एकसाथ भिडे। तर, अरूवर्षको तुलनामा यी फिल्मले खासै कमाल गर्न सकेनन्।
चलचित्र विकास बोर्डको तथ्यांकअनुसार गत शनिबारसम्म सन्तोष सेन निर्देशित फिल्म ‘बलिदान’ले घरेलु बक्सअफिसमा ५ करोड ७ लाख रुपैयाँ ग्रस कलेक्सन गरेको छ। त्यस्तै, ‘हरिबहादुरको जुत्ता’ले ४ करोड ७० लाख रुपैयाँ ग्रस कमाएको छ। मिलन तामाङ निर्देशित ‘माइतीघर’को कमाइ ४ करोड १२ लाख रुपैयाँ पुगेको छ।
यी कुनै पनि अपेक्षित कमाइ होइनन्। किनकि अघिल्लो वर्षको दसैँमा रिलिज भएका फिल्मले १५/२० करोड व्यापार गरेका थिए। तर, यसपटक भने ठूला स्टारकास्ट र हाइपका बाबजुद फिल्महरूलाई पाँच करोडमाथि व्यापार गर्न समेत गाह्रो परेको देखिन्छ।
दसैँका फिल्महरू सोचेजस्तो नचलेको अवस्थामा ‘जेरी अन टप’लाई तिहार फापेको देखिन्छ। दुई सातामा १० करोड लोभलाग्दो कमाइ गरेसँगै उक्त रित्तता ‘जेरी अन टप’ ले पूरा गरिदिएको बताउँछन् लेखक तथा निर्देशक दीपेन्द्र लामा।
‘अनमोल केसीलाई लामो समयदेखि ब्लकबस्टर फिल्मको खाँचो थियो। जेरी अन टपले त्यो परिपूर्ति गरिदिएको छ। यो अनमोलको करिअरकै पहिलो उपलब्धि हो,’ उनले भने।
यो फिल्म चल्नुको कारण चाहिँ लामा फ्रेस कन्टेन्टलाई मान्छन्। हिमाल आरोहणको कथा पुरानै भए पनि अरू मेकरले बेवास्ता गरेको विषयवस्तु उठान गरेकाले दर्शकहरूले मन पराएको बताउँछन् उनी।
व्यक्तिगत रूपमा अनमोलको सरल र अनुशासित स्वभावका छन्। किनकि उनी प्रायजसो हरेक अन्तर्वार्तामा सरल रूपमा प्रस्तुत हुन्छन्। कसैबारे पनि नराम्रो बोल्दैनन्। अभिनयको आलोचना गरे पनि उनीको व्यक्तित्वप्रति धेरैको शुभेच्छा हुन्छ। यो फिल्म चल्नुमा त्यो कुराले पनि सकरात्मक भूमिका खेलेको देखिन्छ। यसमा निर्देशक लामा पनि सहमत छन्।
पछिल्लो ट्रेन्डलाई हेर्दा स्टारडमभन्दा पनि कन्टेन्टले नै फिल्म चल्ने लामाको भनाइ छ।
‘विश्वभरि नै फिल्म चल्ने भनेको कन्टेन्टले नै हो। भारतमा रजनीकान्तको भनेपछि एउटा सुरुमा व्यापार राम्रै गर्छ नि। त्यस्तो खालको स्टारडम अझै पनि नेपालमा छैन। अहिले कन्टेन्ट हेर्नलायक छ, आइरहेको भन्दा फ्रेस भएकाले दर्शक आएका हुन्। त्यसमा पनि चलेका स्टार कलाकार हुँदा फाइदा गर्छ,’ उनले भने, ‘कलाकारको टाउको राख्ने बित्तिकै दर्शक हलमा आउँछन् भन्ने ग्यारेन्टी चाहिँ छैन। त्यसको लागि कन्टेन्ट नै बलियो हुनुपर्छ। सुरुमा राम्रै भएकाले जेरी तन्कियो। टिजर र ट्रेलर आएदेखि नै दर्शकले यसलाई हेर्ने सूचीमा राखेका रहेछन्।’
‘जेरी अन टप’ ले पहिलो दिन २ सय हाराहारीको सो पाएको थियो। दोस्रो सातासम्म पनि त्यति नै सो पाएको निर्माता न्यौपाने बताउँछन्।
‘विदेशमा पनि राम्रो भइरहेको छ,’ निर्माता न्यौपानेले भने।
देशकै ठूलो मल्टिप्लेक्स चेन क्यूएफएक्सले पनि यस फिल्मलाई सुपरहिटको ट्याग दिइसकेको छ। क्यूएफएक्सले खासगरी आफ्ना सम्पूर्ण हलहरूबाट एक साताभित्र डेढ करोड ग्रस कलेक्सन गर्ने फिल्मलाई ‘सुपरहिट’ फिल्मको ट्याग दिने गर्छ।
यस फिल्मले सोचेको भन्दा राम्रो व्यापार गरेको क्यूएफएक्सकी प्रबन्ध निर्देशक तृप्ति गिरीले बताइन्।
‘लगभग डेढ वर्षपछि अनमोलको फिल्म आएकाले एक किसिमको आशा थियो। फिल्ममा दर्शकहरू आउनुहुन्छ भन्ने लागेको थियो। तर, फिल्मले सोचेको भन्दा राम्रो व्यापार गर्न सफल भयो,’ गिरीले भनिन्, ‘हामीले प्रदर्शनको छैटौँ दिनमा यस फिल्मलाई सुपरहिटको ट्याग दिइसकेका छौँ। अहिले पनि फिल्ममा दर्शकहरूको राम्रो अकुपेन्सी छ।’
उनी पनि यो फिल्म चल्नुमा विषयवस्तुलाई मुख्य कारण मान्छिन्। राम्रो फिल्म भएपछि दर्शकहरूले मन पराउने बताउँदै हलले सो पनि त्यहीअनुसार दिने उनको भनाइ छ।
‘जेरी अन टप’ले १० करोड ग्रस कलेक्सन गरेसँगै शुक्रबार सफलताको सेलिब्रेसन मनाएको थियो। जहाँ अनमोलले आफू यस फिल्ममार्फत सफल भएको कुरा व्यक्त गरे।
‘मान्छेहरू सबैभन्दा खुसी कहिले हुन्छन् तपाईंलाई थाहा छ? अरूको दु:खमा। अरूको दु:खमा मान्छेहरू सबैभन्दा बढी खुसी हुँदोरहेछ। मैले यो चिज उहाँहरूलाई भनेको हो। र, मैले अहिलेसम्म यो कुरा बोलेको थिइनँ। किनकि मैले कामले प्रमाणित गरेको थिइनँ। र, आज म बोल्दैछु किनकि मेरो कामले बोलिसकेको छ। फिल्मले बोलिसकेको छ,’ उनले भने।
आफूलाई गाली र आलोचना गर्नेलाई दर्शकहरूले जवाफ दिने उनको भनाइ थियो, ‘आज मैले ती व्यक्तिहरूलाई सम्झिन चाहेँ, जो मेरो डाउनफलमा खुसी हुनुभएको थियो। उहाँहरू सबैलाई म यो भन्न चाहन्छु- तपाईंहरू खुसी हुनुहोस्, धेरै खुसी हुनुहोस्। त्यतिबेला म बोलेको थिइनँ। आज पनि केही बोल्नेबाला छैन। किनभने अब मेरो भगवानस्वरुप दर्शकले तपाईंहरूसँग बोल्नेवाला छ। मेरो दर्शकले तपाईंहरूको गाली र आलोचनामा बोल्नेवाला छ।’
उनको अभिव्यक्तिले अनमोल करिअरकै उत्कृष्ट समयमा रहेको प्रस्ट पारिरहेको थियो। तर, अन्त्यमा भने अनमोल केही सम्हालिए। जति सफल भए पनि आफूमा अहंकार कहिल्यै नआओस् भनेर भगवानसँग प्राथना गर्ने दाबी गरे।
‘मेरो एउटै मात्रै इच्छा के छ भने हे भगवान! जति नै सफल किन नहोस्, ममा कहिल्यै पनि अहंकार नआओस्।’
Shares

प्रतिक्रिया