फिल्म ‘मिरमिरे’मा अभिनेत्री सिर्जना निङलेखु अनुबन्ध भएकी छन्।
दयाहाङ राई र प्रकाश सपुतपछि ‘मिरमिरे’मा अभिनेत्री सिर्जना निङलेखुको प्रवेश भएको हो।
सिर्जनाले यसअघि ‘कार्साङ’मा मुख्य अभिनेत्रीको भूमिका निर्वाह गरेकी थिइन्। जहाँ उनको तारिफ भएको थियो।
यसअघि पहिलो चलचित्रमा पनि दयाहाङसँग सहकार्य गरेकी उनले दोस्रो चलचित्रमा पनि दयाहाङसँगै काम गर्ने भएकी हुन्।
‘मिरमिरेमा अनुबन्ध हुन पाउँदा खुसी छु। महत्त्वपूर्ण भूमिकाका लागि अनुबन्ध भएकी छु। यो विश्वासका लागि सबैभन्दा पहिला निर्माण टिम र निर्देशकलाई धन्यवाद भन्छु’, उनले भनिन्।
उनले आफूलाई विश्वास गरेर दिएको जिम्मेवारी कुशलतापूर्वक निर्वाह गर्ने प्रयास गर्ने पनि प्रतिबद्धता जनाइन्।
‘मिरमिरे’मा सिर्जनाको जोडी को हुने हो भन्ने विषयमा निर्माण पक्षले अहिलेसम्म खुलाएको छैन। अन्य कलाकारको लाइनअपबारे पनि जानकारी दिएको छैन।
तर, हालसम्मका कलाकार हेर्दा ‘मिरमिरे’मा बलियो लाइनअप देखिने निश्चित देखिएको छ।
‘मिरमिरे’लाई यम शेर्पाले निर्देशन गर्दै छन्। उनले सिनेमा राम्रो बनाउन कलाकार र प्राविधिकको लाइनअप बलियो बनाउने बताए।
यार्सा फिल्म्सको प्रस्तुति रहने चलचित्रले ग्रामीण परिवेशको सामाजिक कथा भन्ने यमले जानकारी दिएका छन्।
निर्देशनसँगै फिल्मको स्टोरी पनि यम शेर्पाले नै लेखेका छन्।
निमु शेर्पा, छोङ्बा लामा शेर्पा र आङ्छिरिङ शेर्पा निर्माता रहेको ‘मिरमिरे’का सहनिर्मातामा गोविन्द बोहरा, सुदिप कुँवर र ईश्वर श्रेष्ठ छन्।
यो चलचित्रको कार्यकारी निर्मातामा आरआर फिल्म्सका सञ्चालकसमेत रहेका चलचित्र वितरक रोहित कट्टेल हुन्।
‘मिरमिरे’लाई २०८२ मा रिलिज हुनेछ। प्रदर्शन मिति भने तय भएको छैन।
चलचित्रलाई आरआर फिल्म्सले वितरण गर्नेछ।
Shares

प्रतिक्रिया