एक जमाना थियो- डायरीका पानाहरूमा साथी र प्रियजनलाई अटो भर्न दिइन्थ्यो। ती पानाहरू प्रेमिल शब्दहरुले भरिन्थे। फोटोहरू टाँसिन्थे।
कोरिएका डायरीका पानाहरू जीवनकै सम्झनलायक क्षण हुन्थ्यो। तर, डिजिटल युगको उदयसँगै त्यो ट्रेन्ड हराएको छ।
यही भुलिँदै गएको समयलाई फिल्म ‘ऊनको स्वीटर’ टिजरले पुनः ताजा गरिदिएको छ, जहाँ डायरीका पानाहरू पल्टाउँदा निस्किने पुरानो यादको सुवास अझै पनि ताजा महसुस गर्न सकिन्छ। चलचित्रमा विपिन कार्की र मिरूना मगर मुख्य भूमिकामा छन्।
सार्वजनिक टिजरमा मिरुनाले विपिनलाई अटो भर्न दिएकोदेखि प्रेम, भावनात्मक द्वन्द्व र स्मृतिहरूको यात्रा प्रस्तुत गरिएको छ। टिजरमा मिरूनाले दिएको डायरीमा विपिन आफ्ना भावना लेख्दै गरेको दृश्य प्रस्तुत गरिएको छ।
विपिनले साङ्केतिक रूपमा प्रेमका कुरा व्यक्त गरेका छन् भने मिरूनाले प्रेम रहे पनि त्यसमा जटिलता रहेको सङ्केत गरेकी छन्।
यस विल्सन विक्रम राई, एलेक्स पारस र परीक्षा लिम्बुको पनि प्रमुख अभिनय छ। यिनै पाँच कलाकारको वरिपरि घुम्दै टिजरले प्रेम, स्मृति, र सम्बन्धका उतार-चढावलाई सौन्दर्यपूर्ण ढङ्गले प्रस्तुत गर्ने प्रयास गरेको छ।
‘ऊनको स्वीटर’ आर्टमाण्डू प्रा.लि.को निर्माणमा बनेको पहिलो फिचर चलचित्र हो। सुजन चापागाईँको सङ्गीत रहेको चलचित्रलाई नवीन चौहानले लेखन तथा निर्देशन गरेका हुन् भने सुरज कटुवालको सह लेखन रहेको छ।
चलचित्रमा सुनिल पोखरेल, माओत्से गुरुङ, प्रेम सुब्बा, सुरज तमू, र भावना खपाङ्गी मगरलगायतको पनि अभिनय रहेको छ।
Shares

प्रतिक्रिया