समाज


शिक्षकहरूले घोषणा गरे अनिश्चितकालीन सडक आन्दोलन

शिक्षकहरूले घोषणा गरे अनिश्चितकालीन सडक आन्दोलन

फाइल तस्बिर


नेपालखबर
चैत १९, २०८१ मंगलबार १७:३१, काठमाडौँ

नेपाल शिक्षक महासंघले भाेलि बुधबारदेखि अनिश्चितकालीन सडक आन्दोलन घोषणा गरेको छ। महासंघले आज पत्रकार सम्मेलन गर्दै उक्त आन्दोलनको घोषणा गरेको हो।

महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीका अनुसार महासंघ माघ २० गतेबाट आन्दोलनमा छ। यसक्रममा पालिका, जिल्ला र प्रदेश तहमा आन्दोलनका कार्यक्रमहरू सम्पन्न भएका छन्। पहिलो चरण अन्तर्गतको अन्तिम कार्यक्रमको रूपमा गत फागुन २४ काठमाडौंमा वृहत् सडक आन्दोलन सभा सम्पन्न भयो।

‘दोस्रो चरण अन्तर्गत २०८१ फागुन २७ गतेबाट २०८१ चैत्र ५ गतेसम्म राजनीतिक दलहरूको केन्द्रीय कार्यालयमा धर्ना गरियो भने  चैत्र ७ गतेदेखि चैत्र १५ गतेसम्म शिक्षा तथा मानव स्रोत विकास केन्द्रको कार्यालय परिसरमा रिले अनशन सम्पन्न भयो, दोस्रो चरणको अन्तिम र निर्णायक कार्यक्रमको रूपमा २०८१ चैत्र २० गतेबाट ‘काठमाडौं जाऔं अभियान’ अघि बढाइएको छ, यस अन्तर्गत देशभरका सबै शिक्षक कर्मचारीको सहभागितामा अनिश्चितकालीन शैक्षिक सडक आन्दोलन अघि बढाइने भएको छ,’उनले भने।

उनले स्थायी, राहत, साविक उमावि, सिकाइ अनुदान, बालविकास कक्षा, अस्थायी/करार, प्राविधिक धार, विशेष शिक्षा तथा संस्थागत विद्यालय लगायत सबै प्रकृतिका शिक्षक तथा विद्यालय कर्मचारीका सबै समस्या समाधान गरी गुणस्तरीय विद्यालय शिक्षाको प्रबन्धका पक्षमा स्पष्ट मार्ग निर्माण गर्न सक्ने नयाँ विद्यालय शिक्षा ऐन जारी नभएसम्म यो आन्दोलन निरन्तर चली रहने जानकारी दिए।

‘महासंघ र सरकारबीच विगतमा भएका सबै सहमति सम्बोधन हुने गरी गुणस्तरीय विद्यालय शिक्षा, विद्यार्थी र शिक्षक(कर्मचारी मैत्री अग्रगामी विद्यालय शिक्षा ऐन जारी गराउन राज्यपक्षलाई बाध्य पार्नु यस आन्दोलनको उद्देश्य हो,’उनले भने,‘यो उद्देश्य प्राप्तिका लागि हामीले गर्ने आन्दोलन शान्तिपूर्ण, अनुशासित र मर्यादित हुनेछ, यो आन्दोलन शिक्षक कर्मचारीको पेसागत मागमुद्दा सम्बोधनसँग मात्र जोडिएको छैन, यसले गुणस्तरयुक्त विद्यालय शिक्षा तथा विद्यार्थीको हित र उन्नयनका पक्षमा समेत आवाज मुखरित गरेको छ।’ 

सरकारसँग पटकपटक भएको सम्झौता कार्यान्वयन भएको भन्दै शिक्षकहरू काठमाडौँ केन्द्रित आन्दोलनमा उत्रिन लागेका हुन्। शिक्षकहरूले एसईईको कापीसमेत जाँच नगर्ने घोषणा गरिसकेका छन्।  

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad