निर्देशक, अभिनेता तथा गायक निश्चल बस्नेतले फिल्म ‘महाभोज’ को लागि नयाँ गीत रेकर्ड गरेका छन्।
हालै काठमाडौँको स्टुडियो फिलमा उनले लालुमै शीर्षकको गीत रेकर्ड गरेका हुन्, जसमा हर्क साउदको शब्द तथा केतन क्षेत्रीको सङ्गीत रहेको छ।
आगामी जेठ १५ गते प्रदर्शनमा आउने यस फिल्ममा दिनेश राउतको निर्देशन रहेको छ। रोचक कुरा के छ भने, निश्चल बस्नेतलाई ‘काले दाइ’ भनेर चिनाउने अवसर पनि निर्देशक राउतकै २०७४ सालमा रिलिज भएको चलचित्र ‘पर्व’ को लोकप्रिय गीत ‘काले दाइ’ मिलेको थियो।
उक्त गीतमा बस्नेतले स्वर दिएका थिए भने नृत्याङ्गना माला लिम्बुसँग नृत्य समेत गरेका थिए। हालसम्म यो गीत युट्युबमा ६ करोड ३० लाख पटक हेरिएको छ।
निर्देशक दिनेश राउतका अनुसार, लालुमै गीतको लागि निश्चल बस्नेत नै उपयुक्त आवाज भएका कारण उनलाई नै रोजिएको हो।
‘८ वर्षअघि पर्व को गीतका लागि निश्चललाई गाउन लगाउँदा एक अलग अनुभूति आएको थियो। अहिले लालुमै मा पनि फरक भोकल टोन आवश्यक परेकोले निश्चललाई नै लिएको हुँ,’ राउतले भने।
पहिले ‘काले दाइ’ को रूपमा परिचित निश्चल अब ‘लालुमै’को नयाँ परिचयसँग दर्शकमाझ आउने राउतले दाबी गरे।
यस फिल्ममा आर्यन सिग्देल, दयाहाङ राई, खगेन्द्र लामिछाने, अञ्जना बराइली, गौमाया गुरुङ, मलिका महत, वसुन्धरा भुसाल, मोहन निरौला, बुद्धि तामाङ, कमलमणि नेपाल, पुष्कर गुरुङ, विनोद न्यौपाने, आभा अर्याल, वीरेन्द्र सिंह कुशवाहको अभिनय छ।
Shares

प्रतिक्रिया