कला


राजागंज : कलाप्रेमी प्रधानमन्त्री ओलीले हेर्नैपर्ने फिल्म

राजागंज : कलाप्रेमी प्रधानमन्त्री ओलीले हेर्नैपर्ने फिल्म

अनिल यादव
चैत ४, २०८१ सोमबार १४:५६, काठमाडौँ

मधेसी समुदायको अधिकार, पहिचान र समानताका लागि २०६३, ०६४ र ०७२ साल गरेर तीनपटक ठूला मधेस आन्दोलन भए। ‘राजागंज’ तेस्रो मधेस आन्दोलनको पृष्ठभूमिमा बनेको फिल्म हो। त्यतिबेला मधेसी समुदायले नेपालको नयाँ संविधानको विरुद्धमा व्यापक विरोध प्रदर्शन गरेका थिए। 

०७२ को नयाँ संविधान निर्माण प्रक्रियामा मधेसी समुदायलाई उचित प्रतिनिधित्व नदिएको र उनीहरूको भावना नसमेटिएको भन्दै मधेसकेन्द्रित दल असन्तुष्ट थिए। त्यही क्रममा २०७२ भदौ २३ मा एमाले अध्यक्ष केपी शर्मा ओलीले संविधान सभाबाट बाहिरिने मधेसवादी दलहरूलाई ‘झरेका आँप’को संज्ञा दिँदै एक भाषणमा भनेका थिए, ‘हाम्रो समाजमा दुई–तीन वटा आँप झर्‍यो भने आँप त झरेरै सिद्धियो भनिन्छ, तर झरेर सिद्धिएको हुँदैन, त्यो झरेको मन नपराएको मात्र हो।’ 

ओलीको भाषणको त्यो क्लिप सामाजिक सञ्जालमा यत्रतत्र छ। यो त्यही क्लिप हो जुन हाल ओली नै प्रधानमन्त्री रहेको सरकारमातहतको चलचित्र सेन्सर बोर्डले फिल्ममा राख्न दिएको छैन। फिल्म हेर्दै गर्दा यो दृश्य काटिएको स्थानमा बज्ने ‘बिप’ आवाजले तपाईंको मस्तिष्क फनफनी घुम्न सक्छ।

प्रधानमन्त्री ओलीको कलाप्रेम सर्वविदितै छ। उनी बेलाबखत कलाकर्मीहरूलाई भेटिरहन्छन्, उनीहरूप्रति प्रेम प्रदर्शन गरिरहन्छन्। बेलाबखत हलमै पुगेर फिल्म हेर्ने उनले एउटा फिल्मका लागि त अभिनय समेत गरेका छन्। ‍तर, प्रधानमन्त्री ओली स्वयंले यो फिल्म हेरे भने आफ्नो भाषणको दृश्यको ठाउँमा ‘बिप’ बज्दा उनलाई खल्लो लाग्ने छ। र, सायद आम दर्शकले झैँ उनले पनि सेन्सर बोर्डलाई धिक्कार्ने छन्। यो फिल्ममा ‘प्रधानमन्त्री’ शब्द समेत उच्चारण गर्न दिइएको छैन।

विश्वचर्चित फिल्म फेस्टिभल भेनिसमा १० मिनेटको ‘स्ट्यान्डिङ ओभेसन’ पाएको यो फिल्म हेरेपछि प्रधानमन्त्री ओली त्यसैगरी हलमा उठे भने अचम्म नमाने हुन्छ। तर, यसका लागि पनि प्रधानमन्त्री ओलीले पहिले यो फिल्म हेर्नुपर्छ। 

‘राजागंज’ मधेस आन्दोलनको पृष्ठभूमिमा बनेको ‘मास्टरपिस’ नेपाली सिनेमा हो। फिल्मको कथा वाचन कसिलो छ, सुरुदेखि अन्त्यसम्म दर्शकलाई बाँध्छ। फिल्ममा प्रमुख पात्र छिन्, इन्सपेक्टर पूजा थापा (आशा मगराती)। आन्दोलन चर्किरहेका बेला मधेसको सीमावर्ती गाउँ ‘राजागंज’मा दुई पहाडी मूलका बालकको अपहरण भएको हुन्छ। सोही पुरानो अपहरण मुद्दाको अनुसन्धान गर्न काठमाडौँमा रहेकी पूजालाई त्यहाँ पठाइन्छ। वृद्ध बिरामी बुबालाई आफूसँगै बस्ने महिला सहकर्मी रमा (गौमाया गुरुङ)को साथमा छाडेर राजागंज पुगेपछि अपहरणको अनुसन्धानका क्रममा उनले देख्ने मधेस नै यो फिल्मको कथा हो। 

निर्देशकले पूजा र रमाको सम्बन्धलाई कुनै नाम दिन आवश्यक ठानेका छैनन् तर दर्शकले सहजै उनीहरू समलिंगी रहेको खुट्याउन सक्छन्। प्रहरी अधिकृत भएर पनि उनले आफ्नो पहिचान खोल्न सकेकी छैनन्, भावनालाई भित्रभित्रै दबाएकी छन्। यस्तो लाग्छ, यो फिल्म केवल एउटा अपराध अनुसन्धानको कथा मात्रै होइन, पूजाले भित्रभित्रै भोग्दै आएको पीडा र पहिचानका लागि गरिरहेको संघर्ष पनि हो। उनले यही पात्रमार्फत जसरी पहिचानका लागि भएको मधेस आन्दोलन र मधेसीहरूको अप्ठेरा देखाउन खोजेका छन्, त्यो फिल्मकै बडो प्रतीकात्मक, अर्थपूर्ण र सुन्दर पक्ष हो। 

क्राइम थ्रिलर विधामा बनेको राजागंजलाई निर्देशक दीपक रौनियारले त्यसै सीमावर्ती गाउँ भनेका होइनन्। प्रतीकात्मक रूपमा उनले देशको राजनीतिक र सामाजिक सीमाहरू देखाउन खोजेका छन्। जब पूजा बालकको अपहरण प्रकरणको अनुसन्धानका क्रममा राजागंजका गाउँ डुल्छिन्, मधेसीहरू उनीसँग संवाद गर्न तयार हुँदैनन्। मधेस आन्दोलनताका पहाडी मूलका प्रहरी अधिकृतसँग मधेसीहरू कसरी तर्किन्थे, फिल्मले यी दृश्यमार्फत देखाउन खोजेका छन्। 

फिल्ममा अर्की पात्र छिन्, मधेसी समुदायकी प्रहरी इन्सपेक्टर ममता गुप्ता (निकिता चन्डक) जसले पूजाको अनुसन्धानमा खुलेर सघाउँछिन्। पूजा र ममताको यो सम्बन्धमार्फत निर्देशकले मधेस र पहाडबीचको एकताको सन्देश दिन खोजेका छन्। बालक अपहरणको अनुसन्धानका क्रममा एक निर्दोष युवाको थुनामा मृत्यु हुन्छ। त्यतिबेला जिल्लाका प्रहरी प्रमुख रहेका जनजाति मूलका एसपी मदन राई (दयाहाङ राई) ले निर्दोष ममतालाई निलम्बन गर्छन्। मधेस आन्दोलनताका मधेसमै मधेसी प्रहरी अधिकृतलाई कसरी व्यवहार गरिन्थ्यो, त्यो बुझ्न यही दृश्य काफी छ।

फिल्मको एक दृश्यमा इन्सपेक्टर पूजा ममतालाई प्रश्न गर्छिन्– ‘तिमी एसपी सा’बको गलत आदेशलाई किन नो भन्न सक्दैनौँ।’ 

जवाफमा ममता भन्छिन्, ‘सर हजुरलाई मधेसी हुनुको डिफिकल्टी थाहा छैन।’ 

फिल्मको यो दृश्यले मन चसक्क बिझाउँछ। 

फिल्ममा अपहरणमा परेका दुई बालकमध्ये एक सांसद प्रवीण यादव (परमेश्वरकुमार झा) र स्थानीय विद्यालयमा प्रधानाध्यापक रहेकी सविता कोइराला (ऋचा शर्मा)का सन्तान हुन्छन्। एकातिर मधेसको मुद्दामा नबोलेको भन्दै त्यहाँका जनताका सांसद यादवकै विरुद्धमा नाराबाजी गरिरहेका हुन्छन्, जसले पछिल्लो समय नेपाली राजनीतिमा मधेसको मुद्दालाई मागीखाने भाँडोमात्रै बनाइरहेका मधेसी नेताप्रति व्यंग्य गर्छ। अर्कोतिर  सांसद यादवकी पत्नी पहाडी मुलकी कोइराला आफ्नो छोराको अपहरणपछि त्यहाँ स्कुल खोलिरहेकी छैनन्, जसले मधेसको शिक्षालाई उजागर गर्छ। 

गाउँका बच्चालाई निःशुल्क ट्युसन पढाउँदै आएकी सरस्वती यादवले स्कुलको एक छलफलमा प्रधानाध्यापक सवितालाई प्रश्न गर्दा उल्टै आक्रमण भएको हुन्छ। आक्रमणका कारण पेटमा भएको बच्चा मर्छ। तर, सांसदको बच्चाको खोजीमा कसिएर लागेको प्रहरी सरस्वतीले दिएको उजुरीसम्म लिन मान्दैन। उनले भोगेको अन्याय पत्रपत्रिकाको समाचारसम्म बन्नबाट रोकिन्छ। मधेसका पीडित महिलाहरूको मुद्दालाई कसरी गर्भमै तुहाइन्छ, निर्देशकले सरस्वतीमार्फत त्यो कथा भन्न खोजेका छन्। 

मधेसमै घर भएका पहाडे मूलका प्रहरी छन्, अमर। जो कालो छालाका कारण आफूलाई मधेसी भन्दा रिस उठ्ने भन्दै चित्त दुखाउँछन्। मधेसी हुनु भनेको के हो, उनको यो संवादले पनि केही सोच्न बाध्य बनाउँछ। 

यो फिल्ममा अपहरणमा परेको दुई बालकको खोजीमा निर्देशकले मधेसी भएकै कारण भएको अन्याय र देशमा देखिएको विभाजनलाई खोजेजस्तो लाग्छ। प्रमुख पात्र पूजालाई म्याम भनेको मनपर्दैन, उनी सर भनेको रुचाउँछिन्। उनको यही चाहनाले झल्काउँछ, समाज यौनिक तथा अल्पसंख्यकप्रति उदार हुन नसक्दा त्यो भावना उनीहरू कसरी पोख्न बाध्य छन्।

यो फिल्ममा निर्देशकले महिला कलाकारलाई प्रमुख भूमिका मात्रै दिएका छैनन्, उत्तिकै सशक्त पनि देखाएका छन्। देशकै भीआईपी अपराधको मुद्दाको अनुसन्धानको जिम्मेवारी महिला प्रहरी अधिकृत, त्यसमा पनि खुल्न नसकेकी समलिंगी पात्रलाई दिएर निर्देशकले जुन विश्वास प्रकट गरेका छन्, त्यो राज्यमाथिको व्यंग्य मात्रै होइन, सिकाइका लागि सन्देश पनि हो। सम्भवतः नेपाली सिनेमामा समलिंगी महिला पात्रलाई यति बहादुर र सशक्त यसअघि देखाइएको थिएन। 

त्यसकारण, हामीलाई सधैँ खराब देखाइयो भनेर प्रहरी बर्दी प्रयोग गर्नुअघि फिल्मको स्क्रिप्ट बुझाउनुपर्ने सर्त राख्ने नेपाल प्रहरीका अधिकारीहरूले पनि यो फिल्म हेर्नुपर्छ। 

यो फिल्ममा कलाकारहरूको अभिनय जीवन्त छ। नेपाली फिल्मले एउटा सशक्त कलाकारका रूपमा आशा मगराती पाएको छ। उनले पूजाको भूमिकामा दुई पात्र बाँचेकी छन्। नखुलेको पात्रले धेरै कुरा मौनतामै बोलेका छन्। उनको अभिनयले दर्शकमा गहिरो प्रभाव छाड्छ।

निर्देशकले अनावश्यक ठाउँमा संवादको थुप्रो थुपार्न आवश्यक ठानेका छैनन्, दृश्यबाटै मधेसलाई अनुभूत गराउन खोजेका छन्। मधेसी प्रहरी इन्सपेक्टरको भूमिकामा निकिताको अभिनय अर्को ‘सरप्राइज’ हो। विजय बरालले जुनियर प्रहरी अधिकृतको भूमिकामा दर्शकलाई हँसाइरहन्छन्। दयाहाङ राई पनि एसपीको भूमिका फिट छन्, अनावश्यक तडकभडक छैन। ऋचा, गौमाया, आरती, पशुपति राई लगायत कलाकार पनि आफ्नो भूमिकामा सुहाएका छन्, दर्शकलाई नाटकीय अनुभूत हुँदैन। 

प्राविधिक रूपमा पनि अब्बल छ यो फिल्म। सिनेमाको रंग अँध्यारो छ, पात्रहरूको जीवनजस्तै। पात्रहरूको मनस्थितिअनुसार बगेको छ सिनेमाको क्यामेरा, रंग र ध्वनि। पात्रको दुःख, तनाव र डरको मुडलाई समात्न सकेको छ। 

सिनेमाटोग्राफर सेल्डन चाउले आन्दोलनको समय र परिस्थिति झल्किनेगरी दृश्य खिचेका छन्। पात्रको आन्तरिक संघर्ष र भावनालाई प्रकट गर्न क्लोजअप सटको साहारा लिइएको छ। मधेसको तनावपूर्ण अवस्थालाई स्मुथ ट्रयाकिङ सटमार्फत कैद गरिएको छ। कतिपय दृश्यमा क्यामेराको कम्पन देखिन्छ, यसले यथार्थपरक परिस्थित मात्रै दर्शाउँदैन, फिल्मका चरित्रहरूको अनिश्चितता र तनावलाई पनि उजागर गर्छ।

नेपाली सिनेमाले वर्षौंदेखि मधेसी पात्रलाई फिल्ममा हास्य सिर्जना गर्ने नियतले मात्रै राखिरह्यो। जसकारण नेपाली दर्शकलाई नेपाली सिनेमामा मधेसी पात्र हँसाउनकै लागि राखेको मनपर्नु हाम्रो तितो यथार्थ हो। तर, यसपटक मधेसी समुदायकै प्रतिनिधित्व गर्ने निर्देशक रौनियारले जोखिम मोलेका छन्। ग्यारेन्टी नै भनौँ, यो फिल्ममा मधेस र मधेसी पात्रलाई देखेर तपाई हाँस्नु हुन्न, यथार्थ त यस्तो पो रहेछ भनेर घोत्लिन बाध्य बन्नुहुनेछ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad