नेकपा माओवादी केन्द्रकी सांसद उर्मिला अर्यालले राजनीतिक दलहरू कार्यकर्ता पाल्ने प्रवृत्तिबाट माथि उठ्न नसकेका कारण जनतामा व्यवस्थाप्रति वितृष्णा बढ्दै गएको बताएकी छन्।
राष्ट्रिय सभाको सोमबारको बैठकमा बोल्दै उनले विभिन्न कालखण्डमा भएका आन्दोलनहरूमा व्यक्त उत्पीडित वर्गको समस्या समाधान गर्नतर्फ राजनीतिक दलहरूको ध्यान जान जरुरी रहेको बताएकी हुन्।
‘कार्यकर्ता पाल्ने प्रवृत्तिबाट हामी माथि उठौँ। राज्यलाई सम्बोधन गरौँ। देशका जनता र पीडाहरूलाई सम्बोधन गरौँ। शान्ति प्रक्रिया हामीले अहिलेसम्म टुंगो लगाउन सकेका छैनौँ,' उनले भने, 'आन्दोलन र जनयुद्धका घाइते तथा उत्पीडनमा परेकाहरूलाई कतिको हामीले सम्बोधन गर्यौँ? सरकारले यसको लिस्ट लिएर आएर हामीले यति काम गर्यौँ भनेर कहिले सुनाएको छ? चल्ते चलाते सरकार बनाएको छ, फेरि अर्कोले सरकार बनाएको छ। हामी बिग्रियौं। यस्तै हो भने एउटै राजा पालेको भए हुन्थ्यो भन्ने भ्रममा पर्ने डर छ।'
उनले व्यवस्थाप्रति सबै राजनीतिक दलहरू सचेत हुन जरुरी रहेको बताइन्। संघीयता कार्यान्वयनका विषयमा समेत प्रश्न उठ्न थालेको भन्दै उनले चिन्ता व्यक्त गरिन्।
'म सबैलाई सचेत हुन अुनरोध गर्न चाहन्छु। हामीले धेरै व्यवस्था परिवर्तन गरेर संघीयता ल्यायौं। अब संघीयतामा पनि सवाल उठाउने कुराहरू आइरहेका छन्,' उनले भनिन्, 'के हामी साँच्चिकै संघीयता कार्यान्वयन राम्रोसँग गरिराखेका छौँ?’
Shares

प्रतिक्रिया