नेपाली फिल्म ‘दर्पण छायाँ २’ मा देखिएका अभिनेता पुष्प खड्का र अभिनेत्री सहारा कार्कीको जोडी पुनस् एकसाथ देखिएका छन्। ‘सर्माइ भागेर’ बोलको गीतको भिडिओमा उनीहरुले जोडीको रुपमा अभिनय गरेका छन्।
आज काठमाडौं आयोजित पत्रकार सम्मेलनमा यो म्युजिक भिडिओ सार्वजनिक गरिएको हो। सार्वजनिक गीतमा गायक भुवन श्रेष्ठ र मेलिना राईको स्वर सुन्न सकिन्छ।
गीतको भिडिओलाई फिरोज तिमिल्सेनाले निर्देशन गरेका हुन्। निर्देशक तिमिल्सेनाले गीत सुनेपछि यसलाई भिडिओमा ल्याउने आइडिया आएको बताए।
उनले भने,‘म प्रवासमा रहेता पनि नेपाली गीतसङ्गीतसँग टाढिन सकेको छैन। हामी एउटा ग्रुप बनाएर बेलाबखतमा गाउने र प्राक्टिस गर्ने गर्छौं। सोही क्रममा साथी भुवनले गीत सुनाउनु भएपछि यसलाई नेपाल आएर भिडिओ बनाएर सार्वजनिक गर्ने सल्लाह भएको थियो। आज सोही अनुसार हामीले गीत र भिडिओ सार्वजनिक गरेका छौँ।’
कुलेखानी र आसपासका रमणीय दृश्यमा छायांकन गरिएको गीतमा अभिनेता पुष्प र सहारासहित गीता अधिकारी लगायतको अभिनय छ। अभिनेता पुष्पले गीत नसुन्दै आफूले काम गर्ने सहमति दिएको बताए।
‘फिरोज र सहारालाई मैले दर्पण छायाँमा नै भेटेको हो। सुरुआती दिनमा भेटिएर बसेको मित्रता अहिले पनि उस्तै छ। अहिले पुनः एकसाथ काम गर्न पाउँदा मैले पुराना दिनलाई स्मरण गरेँ। गीत पनि निकै मिठो छ, हामीले अडियोलाई न्याय दिने किसिमको काम गरेका छौँ, जस्तो लागेको छ,’उनले भने।
आठ वर्षपछि पुनः गीतमा देखिन पाउँदा आफू उत्साहित रहेको पुष्पले बताए। अभिनेत्री कार्कीले पहिलो फिल्ममा काम गर्दा भेटेको पुष्पमा उही सरलता र मेहनतीपन देखिएको भन्दै प्रसंसा गरिन्।
भिडिओमा अर्जुन तिवारीले छायांकन, विकास दाहालले सम्पादन, राजेन्द्र मोक्तानले रङग संयोजन, ज्योति केसीले शृंगार गरेका छन्।
Shares

प्रतिक्रिया