टिकटकबाट चर्चामा आएकी मिस पबी (पवित्रा साकी) म्युजिक भिडिओमा जमिरहेकी थिइन्। म्युजिक भिडिओसहित टेलिसिरियल र विज्ञापनमा पनि उनको व्यस्तता बढ्दो थियो। त्यसैबीच, गत वैशाख ताका उनलाई कमेडी सोमा प्रस्तुति गर्ने अफर आयो।
डोटेली भाषा बोलेर टिकटकमा भाइरल भएकी पबीलाई अभिनयमा रूचि त थियो। तर, कमेडी गर्नेबारे उनले सोचेकी थिइनन्। जसकारण अफर आउँदा उनी अकमक्क परिन्।
‘कमेडी दरबार’का विक्की अग्रवाललाई भनिन्, ‘म कमेडी गर्न सक्छु होला त?’
‘तपाईंले गर्न सक्ने भएर नै अफर गरेका हौँ,’ विक्कीले जवाफ फर्काए।
खासमा केहीअघि मिस पबी अभिनेत्री नम्रता सापकोटासँगै विक्कीको सो ‘आम्मा कसम याँ दुख्छ’ मा गेस्ट बनेर पुगेकी थिइन्। जहाँ विक्कीले निकै रोस्ट गरेका थिए। र, पबीले पनि रमाइलो मान्दै कुराकानी गरेकी थिइन्। त्यो एपिसोडका क्लिपहरू निकै भाइरल भएका थिए। त्यसैले नयाँ सो ल्याउँदा विक्कीले पबीलाई सम्झिहाले।
मिस पबीलाई जीवनमा जे आउँछ, त्यसलाई स्वीकार गरेर अघि बढ्नु पर्छजस्तो लाग्छ। चाहे त्यो अवसर होस् वा चुनौती। त्यसले उनी कमेडीको अध्याय सुरु गर्न तयार भइन्।

तर, कमेडी कसरी गर्नेबारे केही थाहा थिएन। सुरुवातको एपिसोडमा प्रस्तुति दिन निकै गाह्रो भएको अनुभव सुनाउँछिन् उनी।
‘सुरुमा म साह्रै नर्भस भएँ। बिर्सिन्छु भनेर तल हेरेर प्रस्तुति दिएको थिएँ। एउटादुइटा ठाउँमा बिर्सिएँ पनि। स्क्रिप्ट याद गर्न निकै गाह्रो,’ उनले भनिन्, ‘त्यो एपिसोडमा मेरो पार्टनर हिमेश थियो। उसले बेलाबेला टिकटकरलाई कमेडीमा ल्याएपछि यस्तै हुन्छ भनेर उडाइरहेको पनि हुन्छ।’
तर, विक्कीसहित सोकी निर्देशक श्रद्धा प्रसाईंले आँट दिएपछि केही सहज भएको उनको भनाइ छ।
भन्छिन्, ‘उहाँहरूले आँट दिनुभयो। श्रद्धा म्याम निकै राम्रो हुनुहुन्छ। उहाँले तपाईं गर्न सक्नुहुन्छ भन्नुभयो। यो पछि यो याद गर्ने भनेर सिकाउनुभयो। अनि केही सहज हुँदै गयो।’
पहिलो एपिसोड प्रसारण हुँदा निकै लाज लागेको थियो उनलाई। साथै दर्शकहरूको प्रतिक्रिया कस्तो आउला भनेर डर पनि लागिरहेको थियो। तर, टिमबाट हौसला र दर्शकहरूबाट राम्रै प्रतिक्रिया पाएपछि थप एपिसोड गर्ने उर्जा थपिएको सुनाउँछिन् उनी।
यद्यपि, उनले उच्चारणमा भने केही समस्या झेल्नुपर्यो। मिस पबी आफ्नै मातृ भाषा डोटेलीमा भिजेकी छन्। जसकारण संवाद बोल्दा उच्चारणमा समस्या देखिएको उनले सुनाइन्।
‘म टिकटकबाट आफ्नो भाषा बोलेर चर्चामा आउँदाखेरी कतिपय कुराहरू उच्चारण गर्न आउँदैनथ्यो। बोल्न खोज्छु तर कहिलेकाहीँ चिप्लिरहेको हुन्छ। कमेडी दरबारमा साथीहरूले यस्तो बोलेको रहेछस् भनेर जिस्काइरहेका हुन्छन्। मैले सुन्दाखेरी राम्रै सुनिरहेको हुन्छु। तर, अरुलाई सुन्दा अशुद्ध लाग्दो रहेछ। अहिले सुधार भएको छ। आफ्नो भाषा बोल्दा पनि नेपाली आइरहेको छ,’ उनले भनिन्।

कलाकारिता क्षेत्रमा चर्चासहित आलोचनाको सामना समेत गर्नुपर्छ। सुरुवातमा नकारात्मक प्रतिक्रिया आउँदा गाह्रो लाग्ने बताउँदै पबीले अचेल टिकाटिप्पणी पचाउन सक्ने भएको बताइन।
‘सुरुमा कसैले नराम्रो प्रतिक्रिया दिँदा दु:ख लाग्थ्यो। कमेडीमा पनि सुरुमा अरुलाई पनि यस्तो भन्ने र लाग्थ्यो। तर, अहिले त काम गर्दागर्दै राम्रो लागिरहेको छ। अब त झनझन् बोल्न मन लाग्छ। अहिले पचाइन्छ पनि, भनिन्छ पनि। म नराम्रो कुरा सुन्दै सुन्दिनँ,’ पबीले भनिन्।
मिस पबीले कमेडी दरबारका २६ एपिसोडमा काम गरिसकेकी छिन्। पछिल्लो समय आफूलाई कमेडी दरबारबाट दर्शकले चिन्न थालेको उनको भनाइ छ।
उनले भनिन्,‘परफेक्ट कोही पनि हुँदैन। मलाई जति एपिसोड गरे पनि केही न केही कमी लागिरहेकै छ। अहिले दर्शकहरूबाट राम्रो प्रतिक्रिया आइरहेको छ। कतै जाँदा तपाईं कमेडी दरबारमा हुनुहुन्छ है भन्नुहुन्छ। प्रत्येक एपिसोड हेर्छौं, राम्रो गरिरहनुभएको छ भन्नुहुन्छ। अलिअलि बेग्लै पहिचान बनाइरहेको छ।’

केही वर्षमै बदलियो जीवन
तीनचार वर्षअघि डडेलधुरास्थित अमरगढी नगरपालिकाकी पवित्रा साकीको जीवन सामान्य थियो। कलेज पढ्ने उनी खाली हुँदा कहिले घाँसदाउरा गर्थिन्, पशुचौपाया पनि हेर्थिन्। र, आमालाई घरायसी काममा सघाउँथिन्।
लकडाउन भएसँगै उनी टिकटकमा छिरिन्। एकदिन उनी साथी र बहिनीसँग घटालथान मन्दिरमा मेला हेर्न गएकी थिइन्। उकालोउरालो भएकाले उनले आफ्नै डोटेली भाषामा थकान महसुस भएको कुरा भिडिओ बनाएर टिकटकमा हालिन्।
त्यो २० सेकेन्डको भिडिओले पवित्राको परिचय नै परिवर्तन गरिदियो। लाखौँ भ्युज पाएको उक्त भिडिओले उनको जीवन कायापलट गरिदियो।
सबैतिर चर्चा पाएसँगै मिस पबी म्युजिक भिडिओमा जम्न थालिन्। अब छिट्टै फिल्म ‘माग्ने राजा’ मार्फत ठूलो पर्दामा डेब्यु गर्दैछिन्। केदार घिमिरेको मुख्य भूमिका रहेको यो फिल्म चाँडै छायांकनमा जाँदैछ। मिस पबीले छोटो समयमा पाएको उपलब्धि साँच्चै लोभलाग्दो छ।

फर्किएर हेर्दा कस्तो लाग्छ त?
जवाफमा भन्छिन्, ‘कस्तो कस्तो लाग्छ। पहिलेभन्दा धेरै फरक छ। धेरै कुरा समयले चेन्ज गराउँछ। मलाई समयअनुसार चेन्ज हुनुपर्छ जस्तो लाग्छ। त्यो जीवन अहिले पनि रमाइलो लाग्छ। मेरो जीवनमा कतिपय कुराहरू अचानक भएको छ। भगवानले राम्रो गर्नुभएको छ। जसले खुसी नै छु।’
टिकटकबाट उदाएकाले कलाकारिता क्षेत्रमा सक्रिय भए पनि टिकटकरको ट्यागले छोड्दैन। तर, मिस पबीलाई भने टिकटकर भन्दा खासै फरक पर्दैन।
‘मलाई पहिल्यैदेखि अभिनयमा रुचि थियो। स्कुल पढ्दाखेरी नाटकहरू खेल्थेँ। अनि दुईतीनवटा डेउडाको भिडिओ पनि खेलेकी थिएँ,’ उनले भनिन्, ‘यदि बुवाआमा यो उद्योगमा भए मुभी खेल्थेँ होला। हिरोइन भनेर चिनिन्थेँ। हाम्रो त्यस्तो भएन। मलाई सबैभन्दा बढी चिनेको चाहिँ टिकटकबाट नै हो। त्यसकारण टिकटकर भन्दा नराम्रो लाग्दैन।’
भिडिओ :
Shares

प्रतिक्रिया