हालसम्म ४५ करोडभन्दा बढीको व्यापार गरेर नेपाली बक्स अफिसमा सबैभन्दा बढी व्यापार गर्ने फिल्मको कीर्तिमान राख्न सफल ‘पूर्णबहादुरको सारङ्गी’ फेरि विवादमा तानिएको छ।
कथा चोरीको आरोपमा फिल्मविरुद्ध नेपाल प्रतिलिपि अधिकार रजिस्ट्रारको कार्यालयमा निवेदन दर्ता भएको यो फिल्म प्रदर्शनलाई लिएर फेरि विवादमा तानिएको हो।
गत बिहीबारबाट प्रदर्शनमा आएको भारतीय फिल्म ‘पुष्पा-२’का कारण आफ्नो फिल्मको शो कटौती गरेको भन्दै यो फिल्मका निर्माताले हलबाट फिल्म उतार्ने घोषणा गरेसँगै वितरक तथा हल संचालकको टकराव बढेको हो। सर्वकालिन ब्लकबस्टर यो फिल्मको निर्माण कम्पनी सेभेनसिज सिनेमाले दर्शकको चाप राम्रो हुँदाहुँदै हलहरुले शोमा विभेद गरेको भन्दै सोमबारबाट प्रदर्शन स्थगन गर्ने घोषणा गरेका थिए।
तर, निर्माताको निर्णयविरुद्ध वितरक नै आक्रोशित भए। आइतबार वितरण कम्पनी टी-फोक र ब्याङ्कटेस इन्टरटेनमेन्टले प्रदर्शनलाई नियमित गर्न भन्दै हललाई इमेल नै लेखे। ‘कृपया, योजनाअनुसार नै पूर्णबहादुरको सारङ्गीको प्रदर्शनलाई अघि बढाउनुहोला’, हललाई वितरकले लेखेको इमेलमा उल्लेख थियो, ‘फिल्मलाई उतार्ने लगायतका कुरालाई बेवास्ता गर्नुहोला ।’ निर्मातासँगको सहमतिअनुसार वितरकलाई फिल्मको प्रदर्शन जारी राख्ने अधिकार थियो।
सोही अधिकारको प्रयोग गर्दै वितरकले निर्माताको निर्णयलाई नमान्ने भएपछि सोमबार फेरि फिल्मको प्रदर्शनलाई निरन्तरता दिन निर्माता तयार भए । तर, फिल्मका निर्माताले प्रदर्शनलाई निरन्तरता दिने भन्दै विज्ञप्ति निकालेको एक घण्टा पनि नबित्दै फिल्म वितरक तथा हल संचालकहरुको छाता संगठन नेपाल चलचित्र संघले एक विज्ञप्ति जारी गर्दै सेभेन सिज सिनेमाले निर्माण गरेको कुनै पनि फिल्म प्रर्दशन नगर्ने निर्णय गरेको छ । ‘पुर्णबहादुरको सारङ्गी’ को प्रदर्शन स्थगन गर्ने विषयमा स्पष्ट धारणा नआएसम्म यो फिल्म निर्माण गर्ने कम्पनीको कुनै पनि फिल्म प्रदर्शन नगर्ने विज्ञप्तीमा उल्लेख छ।
‘मंसिर २३ गते सेभेन सिज सिनेमाले ‘पूर्णबहादुरको सारङ्गी’को प्रदर्शन स्थगित सम्बन्धमा जारी विज्ञप्तिमा नेपाल चलचित्र संघको गम्भीर ध्यानाकर्षण भएको छ,’ संघद्धारा जारी विज्ञप्तिमा भनिएको छ, ‘जबसम्म सेभेन सिज सिनेमाले यस सम्बन्धमा नेपाल चलचित्र संघलाई आफ्नो धारणा स्पष्ट पार्दैन, तबसम्म सेभेन सिज सिनेमाले निर्माण गर्ने वा वितरण गर्ने कुनै पनि चलचित्र नेपाल चलचित्र संघको सदस्यहरुले प्रदर्शन नगर्ने जानकारी गराउन चाहन्छौँ।’
चलचित्र घरमा चलचित्र प्रदर्शन गर्ने वा नगर्ने सम्पूर्ण अधिकार वितरकमा निहित रहने तर सेभेन सिजले विज्ञप्तिमार्फत संघका सदस्यहरूको पटक पटक मानमर्दन गरेको संघको आरोप छ। मानमर्दन गर्ने कार्य संघलाई सह्य नहुने समेत विज्ञप्तिमा उल्लेख छ । वितरकले हलको निर्णय नमान्ने निर्णयपछि यतिखेर हलमा ‘पूर्णबहादुरको सारङ्गी’ फिल्मको प्रदर्शन भने यथावत् नै छ।

Shares

प्रतिक्रिया